इजरायली हवाई आक्रमणमा बालबालिका सहित २१ जना प्यालेस्टाइनी नागरिक मारिए

लोकपाटी न्यूज

एजेन्सी। इजरालयले गरेको हवाई आक्रमणमा २१ जना प्यालेस्टाइनी नागरिकको मृत्यु भएको अलजजिराले उल्लेख गरेको छ। विवादित गाजा क्षेत्रमा भएको आक्रमणमा बालबालिकाको समेत मृत्यु भएको र कयौं नागरिक घाइते भएका छन्। मृत्यु हुनेमा हमास समूहका सदस्य समेत रहेको बताइएको छ।

जेरुसलममा रहेको अल अस्का मस्जिदमा इजरायली सुरक्षाकर्मीहरुले प्यालेस्टाइनीमाथि दमन गरेपछि हमाल समूहले इजरालयमा रकेट आक्रमण गरेको थियो। त्यसैको बदलामा इजरायले हवाई आक्रमण गरेको बताइएको छ। सोमबार राति प्यालेस्टाइनको विद्रोही समूहले हमासले जेरुसेलमनजिकै रकेट प्रहार गरेपछि इजरायलले जवाफी कारबाही गरेको दाबी गरेको हाे। गाजामा रहेका हमासका सैन्य अड्डामा इजरायली सेनाले आक्रमण गरेको छ।

इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले हमासले ‘रेड लाइन’ नाघेर आक्रमण गरेको बताएका छन्। सन् २०१४ को युद्धपछि पहिलो पटक हमासद्वारा रेड लाइन नाघिएको पनि उनले दाबी गरेका छन्। सोमबार रातभर हमासले रकेट प्रहार गर्ने र इजरायली सेनाका तर्फबाट हवाई आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। गाजा सहरमा रातभर विस्फोटका ठूला आवाज सुनिएको पनि बताइएको छ। इजरायली सेनाले हमासले १५० भन्दा बढी रकेट प्रहार गरेको आरोप लगाएको छ। केही रकेटलाई भने क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले निष्क्रिय बनाएको उसले बताएको छ।

अमेरिकी विदेशमन्त्री गाजाबाट इजरायलतर्फ लक्षित गरी भइरहेको रकेट आक्रमण तत्काल रोक्नुपर्ने बताएका छन्। उनले दुवै पक्षलाई तनाव कम गर्नेै बाटोमा कदम चाल्न पनि आग्रह गरेका छन्। पछिल्ला केही दिनदेखि जेरुसेलममा हिंसा भड्किइरहेको छ। जेरुसेलमस्थित अल अक्सा मस्जिदमा जान प्रतिबन्ध लगाइएपछि प्यालेस्टाइनका नागरिक क्रुद्ध भएका छन्। यो मस्जिदलाई इस्लाममा तेस्रो पवित्र स्थान मानिन्छ। यो यहुदीहरुको पनि पवित्र धार्मिक स्थलमा रुपमा रहेको छ।

प्यालेस्टाइन रेड क्रेसेन्ट सोसाइटीका अनुसार इजरायली प्रहरीसँगको झडपमा ३ सयभन्दा बढी घाइते भएका छन्। सोमबार ‘जेरुसेलम दिवस’ मनाइरहँदा हिंसा भड्किएको हो। सन् १९६७ को अरब–इजरायल युद्धपछि पूर्वी जेरुसेलममाथि कब्जा गरिएको सम्झनामा सोमबार जेरुसेलम दिवस मनाइएको थियो।

हमासले अल अक्सा र शेख जराह मस्जिदबाट प्रहरी हटाउन पहिलेदेखि नै इजरायलसँग आग्रह गर्दै आएको थियो। उसले दिएको समयसीमा सकिएपछि रकेट प्रहार गरेको बताएको छ। सन् १९६७ को मध्यपूर्वको युद्धपछि इजरायलले पूर्वी जेरुसेलममाथि कब्जा गरेको थियो। त्यसपछि उसले पूरा जेरुसेलमलाई आफ्नो राजधानी दाबी गर्दै आएको छ। तर अन्तर्राष्ट्रिय समुदायले भने यसलाई मान्दैन। प्यालेस्टाइनले भने पूर्वी जेरुसेलमलाई भविष्यको एक सार्वभौम र स्वतन्त्र मुलुकको राजधानीका रुपमा लिँदै आएको छ।

यही विषयमा प्यालेस्टाइन र इजरायलबीच विवाद रहँदै आएको छ भने पटक–पटक यसले युद्धको रुप लिएको छ। सन् २०१४ को जुलाईदेखि अगस्टको बीचमा भएको द्वन्द्वमा २२५१ प्यालेस्टाइनी मारिएका थिए। तीमध्ये १४६२ त सर्वसाधारण नै थिए । त्यस्तै इजरायलका ६ सर्वसधारणसहित ६७ जना सैनिक मारिएका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्