नेपाल-भारत सिमानामा तारबार तथा जाली लगाउनुपर्छ : प्रदेश सभा सदस्य तामाङ

लोकपाटी न्यूज
0 Shares

धनगढी। नेपाल-भारत सीमा क्षेत्रमा बढ्दो ज्यादती रोक्न सिमानामा तारबार तथा जाली लगाउनुपर्ने विषयले फेरि चर्चा पाउन थालेको छ।

आज सुदूरपश्चिम प्रदेश नेकपा एमालेका प्रदेश सभा सदस्य तारा लामा तामाङले नेपाल-भारतको सीमा क्षेत्रमा तारबार लगाउनुपर्ने बताएका छन्। आइतबार (आज) प्रदेशसभामा नीति तथा कार्यक्रममाथि धारण राख्ने क्रममा तामाङले यो विषय उठाएका हुन्। सीमा नाकामा आइपर्ने समस्या समाधान गर्ने विषय नीति तथा कार्यक्रम नसमेटिएको र तारबार लगाउन आवश्यक रहेको उनले बताए।

‘अहिले पनि बेलौरीमा हुलाकी सडकको काम गर्दा एसएसबी आएर धम्क्याउने र डराउने काम गर्दै आएका छन्,’ तामाङले भने, ‘कञ्चनपुरदेखि दार्चुलासम्म सीमा नाकामा समस्या नै समस्या छन्। कतै पनि सीमा व्यवस्थित नभएको हुँदा ठूलो बजेट लगानी गरेर संरचना निर्माण गर्न नसके पनि तारबार त गर्नैपर्छ। सबै ठाउँमा नसकिएला तर सीमामा तारबार गर्नैपर्छ। राष्ट्रियतासँग जोडिएको विषयमा हामीले यो कदम चाल्नैपर्छ। नीति तथा कार्यक्रममा समेटिएको देखेन। सरकारको ध्यान जाओस्,’ तारबार गर्दैमा भारतसँग नराम्रो व्यवहार नहुने उनको भनाइ छ।

उनले भारतसँग जोडिएको सीमा नाकामा तारबार नगरेमा भविष्यमा ठूलो समस्या सिर्जना हुन सक्ने समेत बताएका छन्। भारतमा रोजगारीका लागि जाने नेपालीलाई पनि व्यवस्थित गर्नुपर्ने उनको माग छ। तामाङ कञ्चनपुरबाट निर्वाचित सासंद हुन्। उनको निर्वाचन क्षेत्रमा पनि भारतले पटक-पटक ज्यादती गर्दै सीमा मिच्ने गरेको छ। अहिले पनि हुलाकी राजमार्गको निर्माणमा भारतीय पक्षले अवरोध गरिरहेको छ।

हिजो मात्र भारतले निर्माण गरिरहेको दार्चुला-लिपुलेक सडक खण्डका कारण नेपाली भूमिमा रहेको बाटो अवरुद्ध भएको थियो। भारतीय पक्षका कारण ५ दिनदेखि नेपाली भूमिमा रहेको बाटो अवरुद्ध बनेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्