जनताकाे समस्यामा राजनीति नगर्न प्रधानमन्त्रीकाे आग्रह

KP sharma Oli
फाइल तस्बिर
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको समस्यामा राजनीति गरेर विकासमा बाधा पुर्‍याउने काम नगर्न सबैलाई सचेत गराएका छन्।

सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन पछि शनिबार मेलम्ची बजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनतालाई नै समस्यामा पार्ने गरेर राजनीति नगर्न सचेत गराएका हुन्। उनले जनताका समस्या तथा असुविधाहरूको सम्बोधन गर्नुपर्नेमा त्यही समस्या र पीडालाई राजनीतिक व्यापारको रूपमा प्रयोग गर्ने गरिएको पाइएकाले त्यस किसिमको काम नगर्न सचेत गराएका हुन्।

बाढी प्रभावित स्थानमा तत्काल गर्नुपर्ने काम र दीर्घकालिन काम बारे योजना बनाइ कार्यान्वयन गर्नका लागि आफू सबै सरोकारवाला निकायका पदाधिकारी संलग्न टीम सहित त्यहाँ पुगेको पनि प्रधानमन्त्रीले बताए। पुनर्निर्माणको कामलाई ठिक र प्रभावकारी ढंगले शीघ्र अघि बढाउने संकल्पका साथ आफू टिम सहित पुगेको पनि उनले स्पष्ट पारे। उनले पुनर्निर्माणका कामहरूलाई योजनावद्ध र तीव्रताका साथ अघि बढाउने प्रतिबद्धता जनाए।

जनता, संघसंस्था र सरकार मिलेर यस्ता विपद्मा परेकालाई राहत तथा उद्धारमा सहयोग गर्नुपर्नेमा उनले जोड दिए। दुईवटा चाउचाउ दिएर प्रचारप्रसार बढी गर्ने गरिएको उल्लेख गर्दै उनले देखाउन नभई कठिनाइ घटाउन सहयोग गर्नुपर्नेतर्फ सबैलाई सचेत गराए। स्थानीय निकाय वा संघ संस्थासंग प्रभावितहरूका लगत रहेको र त्यही लगतको आधारमा आवश्यकताको सिद्धान्त अनुसार राहत वितरण गरिने हुँदा स्थानीय निकायलाई नै राहत उपलब्ध गराउन पनि उनले दाताहरूलाई आग्रह गरे।

प्रधानमन्त्री ओलीले हेलम्बुमा केही चेक हस्तान्तरण गर्नुको साथै ३ सय ६६ घरका लागि १५ सय बण्डल जस्तापाता वितरण गर्ने घोषणा गरे। सरकारले प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराइ जस्ता पाता पनि वितरण गरेपछि अस्थायी पुननिर्माणका काम गर्न सकिन्छ भनेर त्यस किसिमको सोच बनाएको उनले स्पष्ट पारे।

बाढीपहिरो र भूकम्प जस्ता प्राकृतिकजन्य विपदबाट सिन्धुपाल्चोक पटक पटक प्रभावित हुँदै आएको भन्दै प्रधानमन्त्री ओलीले हरेक वर्ष पुनर्स्थापनाको काम गर्ने भन्दा पनि पहिरोमा नपर्ने गरी आवास निर्माण गर्ने तर्फ सजक हुनुपर्नेमा जोड दिए। जुरेको पहिरोका सम्बन्धमा उठेको पैसा कानुनी व्यवधानका कारण प्रयोग गर्न नसकिएको पनि उनले जानकारी दिए।