माओवादी शक्तिहरू एक हुने बेला आयो : प्रचण्ड

prachanda
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र, गणतन्त्र र संविधान बचाउन र संविधान विरोधीहरूको षडयन्त्रलाई परास्त गर्नका लागि माओवादी शक्तिहरू एक हुनुपर्ने बताएका छन्। जसपा र एमालेबाट माओवादी केन्द्रमा आएका एक दर्जन नेता तथा कार्यकर्ताको अध्यक्ष प्रचण्डको निवास खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो बताएका हुन्।

उनले भने, ‘सबै विगतका माओवादी आन्दोलनमा रहेका साथीहरू एउटै केन्द्रमा आउने वातावरण बन्दै गएको छ। अहिले नआउने पनि अलिपछि आउनुहुन्छ।’ माओवादी आन्दोलन र यसले उठाएका एजेण्डाहरुलाई राष्ट्रिय रूपमा फेरि नयाँ उचाइबाट स्थापित गर्ने र यो आन्दोलन र पार्टीलाई फेरि राष्ट्रको नेतृत्व गर्नेरूपमा विकास गर्ने अवसर आफूहरूमा रहेको उनको भनाई थियो।

उनले भने, ‘समाजवादी क्रान्तिलाई मार्क्सवादी तरिकाले अगाडि बढाउने पार्टीको रूपमा यो पार्टी र नेतृत्वका लागि अन्तिम अवसर पनि हुनसक्छ। एक चोटि राष्ट्रलाई झक्झक्याएर अगाडि लैजाने अवसर पनि हुनसक्छ। सकिएन भने नराम्रो स्थितिमा आन्दोलन जाने खतरा पनि छ। त्यसकारण सबै क्रान्तिकारीहरुले अब ढिलो नगरी एकताबद्ध हुने, केन्द्रित हुने र आत्मसमिक्षा सहित जनताको घरघरमा पुग्नुपर्ने भएको छ।’

‘हिजो संसद् विघटन गरेर केपी ओलीलाई मद्दत गर्नेहरू एमसीसी मार्फत गठबन्धनलाई टुटाएर फेरि प्रतिगमनमा लैजान सकिन्छ कि भनेर कसरत गरिरहेका छन्,’ उनले भने, ‘हामीले गठबन्धनमा एमसीसी र गठबन्धनमा कुन मुख्य हो भनेर छलफल पनि गरेका छौं। गठबन्धन रक्षा नै राष्ट्र, संविधान र गणतन्त्रको हितका लागि मुख्य हो। एमसीसी परिमार्जन र संशोधन बिना पास गर्न सकिन्न र राष्ट्रिय सहमति नबनाई यस्तो डरलाग्दो कुरामा हात हाल्न पनि हुन्न।’

उनले अगाडि भने, ‘पार्टी आन्दोलनको भावी विकासको निम्ति धेरै नै महत्त्वपूर्ण अनुभव र ज्ञान सँगालेर आउनुभएको छ। आन्दोलनको विकासको क्रममा अभिभावकत्व गरिसकेपछि र त्यसलाई सिंगो कम्युनिस्ट पार्टी र जनताले अभिभावकको रूपमा स्वीकारेपछि त्यो आन्दोलनका कोही पनि सहयात्री दायाँबायाँ हुँदा बुझाउन र सम्हाल्न सकिएन भन्ने पीडा हुँदो रहेछ। अनुभव र ज्ञानसहित पुनर्मिलनमा आएको देख्दा भने सबैभन्दा खुसी अभिभावकलाई हुने रहेछ। यो पार्टी प्रवेशले बलियो सन्देश दिएको छ। तपाईंहरुले जिम्मेवारीको चिन्ता नलिनुहोला।’

प्रचण्डले पार्टी प्रवेश कार्यक्रममा आउनुभएका नेता तथा कार्यकताहरुले आफ्ना कुरा राम्रो गरी राखेको भन्दै प्रशंसा गरे। उनले अनुभव र ज्ञानसहित आएकोमा उनीहरू प्रति खुसी व्यक्त गरे। सो अवसरमा विगतमा माओवादी छोडेर अन्य विभिन्न पार्टीमा गएका र फर्किएपछि के अनुभूति भयो भन्ने पनि आफ्नो धारणा राखेका थिए। उनीहरूले आफूहरूबाट नेतृत्वलाई बुझ्ने सवालमा कमजोरी भएको र अहिले ब्यूँझिएपछि आफूहरू माओवादीको मूल प्रवाहमा समाहित हुन आइपुगेको बताए।

यसरी प्रवेश गर्नेहरूमा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् सदस्य रमेश रेग्मी (चितवन) , नेकपा एमाले केन्द्रीय परिषद् सदस्य प्रल्हाद लामिछाने (मकवानपुर), जसपा प्रदेश समिति सदस्य प्रकाश पोखरेल (चितवन), जसपा जिल्ला सचिवालय सदस्य रामपुकार पाठक(चितवन), प्रेम शर्मा (सिन्धुपाल्चोक), कृष्ण कार्की (मकवानपुर) सुजन कुमार थापा (मकवानपुर), रवीन्द्र मोक्तान (मकवानपुर), प्रेम वाइवा(मकवानपुर) सुशील ओली (दैलेख) रहेका छन्।

उक्त कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य देवेन्द्र पौडेल, केन्द्रीय सदस्य तथा बागमती प्रदेश इन्चार्ज हितमान शाक्य, बागमती प्रदेश अध्यक्ष तथा केन्द्रीय सदस्य नारायण दाहाल, केन्द्रीय सदस्य जोखबहादुर महरा, केन्द्रीय सदस्य सन्तु दराई, केन्द्रीय सदस्य तथा भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल लगायतको उपस्थिति रहेको थियो।