समाजवादी क्रान्तिको कार्यदिशाको औचित्यबारे

Girirajmani pokharel
लोकपाटी न्यूज

१. मार्क्सवाद विज्ञानमा आधारित छ। बीसौं शताब्दीका समाजवादी सत्ता ढल्दैमा मार्क्सवादको औचित्य समाप्त हुँदैन। यो अपराजेय छ। एउटा इन्जिनियरले इन्जिनियरिङ गर्छ, पुल बनाउँछ। तर, नदीमा बाढी आउँछ, पुल भत्किन्छ। तर, इन्जिनियरिङ भत्किँदैन। फेरि नयाँ डिजाइनका साथ उन्नत पुल बन्छ। मार्क्सवादको प्रयोग पनि त्यस्तै भएको छ।

२. सर्वहारा अधिनायकत्वको प्रश्न निकै महत्वपूर्ण प्रश्न हो। तर, सर्वहारा जनवादको कार्यकारी र कुशल अभ्यासबिना सर्वहारा अधिनायकत्व ठीक ढंगले लागू गर्न सकिँदैन। स्टालिनका अनुभवबाट हामीले लिनुपर्ने मुख्य शिक्षा यही हो।

३. समाजवादको प्राथमिक क्षेत्र समुदाय हो। समाजवादीहरूले समुदायलाई केन्द्रमा राखेर काम गर्नुपर्छ। सहयोगी विचार र भावनाले मात्र समाजवादलाई समुन्नत तुल्याउँछ। सहकार्य यसको महत्वपूर्ण आधार हो। समुदायलाई एउटै लयमा हिँडाउन सहकार्यलाई गुणतत्व मान्नुपर्छ। सामाजिक समानताप्रति बलियो प्रतिवद्धताबिना समाजवाद सुदृढ हुँदैन। हामी समता हुँदै समानतामा पुग्नुपर्छ, त्यसका लागि वर्गको राजनीतिलाई केन्द्रमा राख्नुपर्छ।

४. १८४८ मा कम्युनिस्ट घोषणापत्र लेख्दा मार्क्स–एंगेल्सले मानव जातिको आजसम्मको सम्पूर्ण इतिहास वर्गसंघर्षको इतिहास हो भन्नुभयो। पछाडि उहाँहरू आफैले त्यसलाई सच्चाउँदै भन्नुभयो – आदिम साम्यवादी युगलाई छोडेर आजसम्मको सम्पूर्ण इतिहास वर्गसंघर्षको इतिहास हो।

५. समाजलाई अग्रगति दिने चालक शक्ति श्रम हो। श्रमको मुख्य आधार सर्वहारा/श्रमजीवी वर्ग हो। तर, वर्गलाई हामीले स्थायी रूपमा बुझ्नु हुँदैन। समाज विकासको क्रमअनुसार यो परिवर्तनशील रहन्छ। यस अर्थ मानवीय श्रम र मूल्यलाई केन्द्रमा राखेर मात्र हामीले सही विचार र कार्यदिशा संश्लेषण गर्न सक्छौं।

६. मानिस प्रकृतिसँग संघर्षका क्रममा जुन सम्पदाहरूमा निर्भर रहन्छ, त्यो नै वास्तविक अर्थमा सम्पत्ति हो। सम्पत्ति सम्बन्धबारेको दृष्टिकोण समाजवादका लागि महत्वपूर्ण पक्ष हो। निजी सम्पत्तिले सुखमय र प्रेममय जीवन नै ध्वस्त गरिदिन्छ। निजी सम्पत्तिले नैतिकतामा ह्रास ल्याउँछ। निजी स्वामित्वले निजी सम्पत्ति पैदा गर्दछ, त्यो नै वर्ग अन्तरविरोधको मुख्य कारण हो। सामूहिक उत्पादन र निजी स्वामित्वको अन्तरविरोध हल गर्नु नै समाजवादी व्यवस्था हो।

७. नेपालमा पूँजीवादी जनवादी क्रान्ति सम्पन्न भयो। तर, नयाँ जनवादी तरिकाले भएन। हाम्रो आफ्नै मौलिकता र विशेषतासहित सम्पन्न भयो। यस अर्थमा हामी नयाँ अन्तरविरोधसहित समाजवादी क्रान्तिको चरणमा छौं। यो संश्लेषण नै सही छ।

८. क्रान्तिका २ चरण एकैपटक लागू हुन सक्दैनन्, त्यसका लागि रणनीति र कार्यदिशाबिच द्वन्द्वात्मक सम्बन्ध स्थापित गर्न सक्नुपर्छ। कार्यनीतिक श्रृंखलाले रणनीतिको सेवा गर्ने गरी क्रान्तिको कार्यदिशा विकसित गर्नुपर्छ।

९. क्रान्तिको कार्यदिशाको संश्लेषणका निम्ति वर्गविश्लेषण महत्वपूर्ण पक्ष हो। ३० वर्षअघि हामीले गरेको वर्गविश्लेषणका आधारमा आजको कार्यदिशा निरुपण गर्न सकिँदैन। त्यसका लागि आजको विश्व राजनीति, अर्थनीति, त्यसको देशभित्र परेको प्रभाव, देशभित्रको राजनीति, अर्थनीति, मनोविज्ञान लगायतका पक्षहरूको नयाँ ढंगले अध्ययन गर्नुपर्छ। आजको राजनीति जहाँ छ, अर्थतन्त्र र मनोविज्ञान जहाँ छ, त्यसको गम्भीर अध्ययन हाम्रा लागि अपरिहार्य छ।

१०. आज विश्वयुद्ध छैन, शितयुद्ध पनि छैन। चिनियाँहरू आउने युगलाई आर्टिफिसियल इन्टेलिजेन्सी एरा भन्नुपर्छ भनिरहेका छन्। आजको विश्वमा विज्ञान प्रविधि सबैभन्दा महत्वपूर्ण पक्ष भएर आएको छ। इतिहासमा हामी लुलाइट आन्दोलन पढ्छौं, जहाँ मेसिनले आफूहरूलाई दुख दिएको र रोजगारी खोसिएको भन्दै मजदूरहरूले विद्रोह गरेका थिए। तर, अर्थतन्त्रमा नयाँ विकल्प अगाडि आए। आज विज्ञान प्रविधिमा गुणात्मक विकास आएको छ। तर, विज्ञान मानिसभन्दा माथि हुन सक्दैन। कतिपयले विज्ञान र प्रविधिलाई प्रमुख उत्पादक शक्तिका रूपमा पनि विश्लेषण गरेको देखिन्छ। यसबारे गहिरो अध्ययनमार्फत् हाम्रो दृष्टिकोण स्पष्ट गर्नुपर्छ।

११. आज नयाँ–नयाँ प्रकृतिका अन्तर्राष्ट्रिय सम्बन्धहरू स्थापित भएका छन्, ती हिजोकै जस्ता छैनन्, मौलिक र विशिष्ट प्रकृतिका छन्। ती सम्बन्धले आजको वर्ग र वर्गसंघर्षमा के हैसियत र प्रभाव राख्दछन्, त्यसको अध्ययन जरूरी छ।

१२. क्रान्तिका लागि आलोचनात्मक चेत महत्वपूर्ण पक्ष हो। आलोचनात्मक चेतबिना सर्वहारा जनवाद सुदृढ गर्न सकिँदैन। हिजो औद्योगिक सर्वहाराको बाहुल्यता भएको विश्वमा लेनिनले अग्रदस्ता पार्टीको अवधारणा ल्याउनुभयो। आज परिस्थिति अर्कै छ। पार्टीको संगठनात्मक सिद्धान्त, प्रणाली र कार्यशैली के हुने ? यसबारे बहस आवश्यक छ। तर, क्रान्तिका लागि बलियो पार्टी अनिवार्य शर्त हो। आज हामीकहाँ पार्टी नै सत्ताजस्तो भएको छ, यो चरित्रलाई बदल्नुपर्छ।

१३. राज्यको बिलोपीकरण समाजवादबाट साम्यवादमा संक्रमणका लागि अनिवार्य शर्त हो। बिलोपीकरणको सबैभन्दा महत्वपूर्ण साधन कम्युनिस्ट पार्टी हो। बलियो कम्युनिस्ट पार्टीले सर्वहारा जनवादको जगमा अधिनायकत्व स्थापित गरेर मात्र आवश्यकताको यात्राबाट स्वतन्त्रताको संसारमा पुग्न सकिन्छ। यो संक्रमणकालीन चरणमा व्यवस्थित पार्टी चाहिन्छ।

१४. माओले आफ्नो जीवनकालमा तीनवटा क्रान्ति गर्नुभयो, १९४९ को नयाँ जनवादी क्रान्ति, १९५६ को समाजवादी क्रान्ति र १९६६–१९७६ को सर्वहारा सांस्कृतिक क्रान्ति। माओले आफ्नो जीवनको उत्तरार्धमा संश्लेषण गर्दै भन्नुभयो – ‘‘क्रान्तिको पहिलो निशाना आफैलाई बनाउ।’’ राजनीतिक क्रान्तिले सत्तामा फेरबदल त ल्यायो। तर, सांस्कृतिक क्रान्तिबिना हाम्रो चिन्तन, विचार, संस्कृति र कार्यशैली फेरिन्न। यस अर्थमा हामीले रूपान्तरणलाई केन्द्रमा राख्न सक्नुपर्छ।

१५. हामीले क्रान्तिको नक्कल गर्न सक्दैनौं। हामीले हाम्रै विशेषतामा भर परेर क्रान्तिको मोडेल खोज्नुपर्छ। हाम्रो समाजका विशेषताहरूको गहिरो अध्ययन गरेर हामी ठोस निष्कर्षमा पुग्नुपर्छ।

१६. पूर्वीय दर्शनमा प्राचीन विज्ञानहरू छन्। त्यहाँ अत्यन्तै वैज्ञानिक र जीवनोपयोगी पक्षहरू छन्। हामीले पूर्वीय दर्शनभित्र विद्यमान प्रत्ययवादी दृष्टिकोण हटाएर स्वरूपान्तरणका विधिहरू आत्मसात गर्नुपर्छ। पूर्वीय दर्शनमा योग, ध्यान जस्ता जुन पक्षहरू छन्, तिनीहरू हाम्रो जीवन र मानव जातिका लागि महत्वपूर्ण छन्।

१७. मार्क्सले पूर्वीय समाज कति पढ्न भ्याउनुभयो, त्यतिबेला त्यो समाज अध्ययन गर्ने सूचनाको पहुँच कति थियो जस्ता विषयहरू पनि महत्वपूर्ण छन्। कम्युनिस्ट आन्दोलनमा अध्ययन गर्न बाँकी रहेका त्यस्ता पक्षहरू पनि हाम्रो अध्ययनका क्षेत्र हुन्। बुद्धको योग र ध्यानका विधि श्वासप्रश्वास र स्वास्थ्य विज्ञानसँग जोडिएको भौतिकवादी अवधारणा हो।

१८. आजको विश्वमा आएका नवीनतम अन्वेषण र चुनौतीहरू पनि हाम्रो अध्ययनका क्षेत्रहरू हुन्। जलवायु परिवर्तनको मुद्दा आजको विश्वमा मुखरित भएर आएको छ। यसलाई पन्छाएर समाजवाद निर्माण गर्न सकिँदैन। हामीले प्रकृतिमाथि न्याय गर्न सक्दैनौं भने समाज र मानवमाथि पनि न्याय गर्न सक्दैनौं।

१९. मार्क्सवादी स्कुलका सन्दर्भमा शिक्षणविधि पनि महत्वपूर्ण पक्ष हो। उत्पीडित समुदायलाई सिकाउने सरल र प्रभावकारी विधि के हुनसक्छ, त्यो खोजी गरिनुपर्छ। ल्याटिन अमेरिकी शिक्षाशास्त्री पाउलो फेरिको शिक्षणविधि एउटा महत्वपूर्ण पक्ष हो, यसले शिक्षण विधिमा क्रान्ति नै ल्याएको मानिन्छ। त्यसबाट पनि हामीले लिनसक्ने शिक्षाहरू प्रशस्त छन्।

(मार्क्सवादी ज्ञान केन्द्रद्वारा २०७८ असोज ५–१२ मा आयोजित अभिमुखीकरण कक्षामा नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य एवं स्कुल विभाग प्रमुख कमरेड गिरिराजमणि पोखरेलले समाजवादी कार्यदिशाको औचित्यबारे व्यक्त गर्नुभएको विचारको बुँदागत अंश।)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्