कम्युनिस्ट नेतृत्व कस्तो हुनुपर्दछ ?

Maotsetung
  • 4.2K
    Shares
लोकपाटी न्यूज

पार्टी समितिको नेतृत्व भनेको सामूहिक नेतृत्वलाई सुरक्षित राखी कार्य सञ्चालन गर्ने हो न कि कसैको व्यक्तिगत एकलौटी हुन नदिने महत्वपूर्ण कार्य पनि हो। अहिले कम्युनिष्ट पार्टीका केही नेतृत्वदायी समितिहरूमा के समस्या देखापर्दछ भने पार्टीको नीति र काममा एकजना व्यक्तिले मात्र कार्य सञ्चालन गर्नुे र महत्वपूर्ण समस्याहरू बारे निर्णय गर्नु स्वभाविक चलन हुँदै गइरहेको छ। अन्य समितिका सदस्यहरू नाउँ मात्रका सदस्यहरू बन्न पुगेका छन्। यसले के समस्याहरू निम्त्याएको छ भने समितिका सदस्यहरूबीच मतभेद हुने, देखावा एकताको मात्र पालना हुने।

तसर्थ यस्तो कमजोरी हटाउनको लागि सिंगो पार्टी जनवर्गीय संगठनहरूका समितिले सबैखालका महत्वपूर्ण समस्याहरूको समाधानको लागि बैठकहरूमा छलफल गरी सही निचोड निकाल्नु पर्दछ। उक्त बैठकहरूमा समितिका सदस्यहरूलाई आफ्नो दृष्टिकोण पूरा तवरबाट राख्न दिनुपर्दछ। उचित निर्णयमा पुगिसकेपछि उक्त निर्णयहरूलाई सबैले कार्यान्वयन गर्नुपर्दछ। साथै उक्त समितिका बैठकहरू दुई तहमा विभाजित गरी स्थायी र प्लेनमको रुपमा राखी सामूहिक नेतृत्व र व्यक्तिगत उत्तरदयित्वको आधारमा गरिनु पर्दछ।

त्यस्तै गरी “पार्टी समितिका नेताले अवश्य पनि दल नेता बन्न सिपालु हुनुपर्दछ।” भन्नुको तात्पर्य के हो भने कुनै पनि समितिमा निश्चित संख्यामा सदस्यहरू रहेका हुन्छन्। कुनै पनि समितिको अर्थात् दलको नेतृत्व गर्ने कुरा त्यति सजिलो भने अवश्य नै छैन। नेतृत्व गर्नुको अर्थ सामान्य तथा विशेष नीतिहरूको निर्धारण गर्नु मात्र नभएर कार्य पद्धतिहरूको सही उपायहरू निकाल्नु पनि हो।

सामान्यतः विशेष नीतिहरू सही भए पनि कार्य पद्धतिहरूको वास्ता भएन भने विभिन्न खालका बाधा अड्चनहरू आउन पनि सक्छन्। नेतृत्वले कार्य सञ्चालन गर्नका लागि आफ्ना दल सदस्यहरूसँग पूरा भर पर्नुपर्दछ। काम अगाडि बढाउनको लागि उनीहरूलाई सामथ्र्यवान बनाउनै पर्दछ। असल दल नेता बन्नको लागि नेतृत्वले कडा मेहनतका साथ अध्ययन, जाँचबुझ गर्नु पर्दछ। नेतृत्वले आफ्ना सदस्यहरूको माझमा नीति र कामको बारेमा प्रचार तथा संगठनात्मक काम गर्न ध्यान दिइएन भने, समितिका सदस्यहरूसहितको आफ्नो सम्बन्धलाई कसरी सफलतापूर्वक सञ्चालन गर्ने भनि अध्ययन गर्दैन। उसलाइ्र्र अप्ठ्यारो पर्दछ, तसर्थ दल सदस्यहरूसँग मिल्ने गरी तालमा ताल मिलाई प्रत्येक कार्यलाई सम्पादन गर्न सक्नु पर्दछ। यदि नेतृत्वले यसो गर्न सक्दैन भने उसले लाखौं जनताको भरोसा पूर्ण गर्न सक्दैन। नेतृत्व र समितिका सदस्यहरूको सम्बन्ध सदैव अल्पमतले बहुमतको निर्णय मान्ने हुनुपर्दछ। त्यसैगरी पार्टी संगठनको काम गर्ने सन्दर्भमा नेतृत्वको अगाडि थुप्रै चुनौतिहरू र समस्याहरू आइपर्दछ।

तसर्थ माओले भन्नुभएको छ – “त्यस प्रकारका समस्याहरू आफ्नो समिति अघिल्तिर राख्नुपर्दछ। यो काम केवल नेतृत्वले मात्र होइन कि समितिका सदस्यहरूले पनि गर्नु पर्दछ। समस्याहरू आइसकेपछि बैठक बोलाउने, छलफल गर्ने, त्यसैको आधारमा केही निर्णय लिने र समस्याको समाधान गर्नुपर्दछ।” यदि उक्त समस्याहरू बैठकमा राखिदैन भने नेतृत्व र पार्टी सदस्यहरूबीच अविश्वास पैदा हुन पुग्दछ। अझ लामो समयसम्म त्यसै रहिरह्यो भने त्यसले पार्टीको काम, कारवाही अगाडि बढ्न सक्दैन। तसर्थ आफ्नो समितिमा समाधान नभए माथिल्लो समितिमा पेश गर्नुपर्दछ र आपसमा पारस्परिक वातावरण सृजना गरी अगाडि बढ्नु पर्दछ।

त्यस्तै गरी अर्को महत्वपूर्ण कार्य भनेको “सूचनाहरूको आदानप्रदान गर्नु पनि एक हो।” यसको आशय भनेको समितिका नेतृत्व तथा पार्टी सदस्यहरूले आफूले थाहा पाएका विषयहरूमा विचार विमर्श गर्नुपर्दछ। समान खालको बुझाई बनाउन र एक अर्कोले विषयवस्तुप्रति समान धारणा बनाउनको लागि पनि यो अत्यन्त आवश्यक पर्दछ। यदि आफूले नबुझेका अथवा थाहा नपाएको विषयवस्तु आफ्नो मातहतका काम गर्नेहरूसँग सोध्ने कार्य गर्नुपर्दछ। आफूले थाहा नभएका कुरा पनि जानेको जस्तो कहिल्यै गर्नुहुँदैन।

नेतृत्वले आफूभन्दा मुनिकासँग सोध्ने र तिनीहरूबाट सिक्न संकोच मान्ने गर्नुहुँदैन। नेतृत्वले तल्लो तहमा भएका कार्यकर्ताहरूको दृष्टिकोणलाई ध्यान दिएर सुन्नु पर्दछ। गुरु हुनुभन्दा अगाडि चेला बन्नु पर्दछ। आफूले आदेशहरू दिनु भन्दा अघि तल्ला तहमा भएका कार्यकर्ताहरूबाट अवश्य सिक्नु पर्दछ। तल्लो तहका कार्यकर्ताले भनेका कुरा सही वा गलत जे पनि हुन सक्छन् तर यसलाई नेतृत्वले सबै सुनिसकेपछि विश्लेषण गर्नुपर्दछ।

त्यस्तै गरी माओको के कुुरामा जोड छ भने नेतृत्वले “पियानो बजाउन सिक” भन्नु भएको छ। यसको अर्थ के हो भने जसरी पियानो बजाउँदा दशवटै औंलाले एकैचोटी थिचेमा राग निस्कदैन। मिठो संगीत निकाल्न दशवटै औंलाले सामान्जस्यता राखेर ताल अनुसार चल्नु पर्दछ। पार्टी समितिले पनि आप्mनो केन्द्रीय कार्यलाई राम्ररी बुझ्नु पर्दछ र साथसाथै केन्द्रीय कार्यका वरिपरि भएका अरु क्षेत्रका कामलाई चलाउनु पर्दछ। नेतृत्वले धेरै क्षेत्रमा ध्यान दिनुपर्दछ। सबै समितिहरू, क्षेत्र, जिल्ला, एरिया र विभिन्न विभागहरूको कामको हेरविचार अवश्य गर्नुपर्दछ।

अझ समस्याहरूलाई छोडेर थोरै समस्याहरू झै सारा ध्यान लाउनु हुँदैन। जहाँ समस्या छ त्यहाँ नेतृत्वले बढी ध्यान दिनुपर्दछ। जसरी कसैले पियानो राम्ररी बजाउँदैन भने कसैले राम्ररी बजाउँछन्। तर उनीहरूले निकाल्ने रागमा धेरै भिन्नता हुन्छ। त्यस्तै नेतृत्व र सदस्यहरूको काम गर्ने तौरतरिका अनुसार नै कामले सफलता हासिल गर्दछ।

त्यस्तै गरी माओले “वेसरी समात” भन्नुभएको छ। यसको आशय के हो भने पार्टी समितिका सदस्यहरूले आफ्ना मुख्य कामहरू अवश्य “समात्ने मात्र होइन, बरु अवश्य वेसरी समात्नु”पर्दछ। कसैले कुनै कुरालाई त्यसै बेला मात्र राम्ररी समात्न सक्छ जब उसले अलिकति पनि शिथिलता विना त्यस कुरालाई बेसरी समातेको हुन्छ। समात्ने गरे पनि बेरी नसमात्नु पटक्कै नसमात्नु बराबर हुन्छ। स्वभावतः कसैले पनि हत्केला फुक्का राखेर कुनै कुरालाई अठ्याउन सक्दैन। कुनै कुरा समाते झै गरी मुठी पारे पनि कसेर मुठी नपारुन्जेल अठ्याई हुँदैन। अहिले कम्युनिष्ट पार्टीमा देखिएको समस्या भनेको यही हो। कतिपय पार्टी नेतृत्व र सदस्यहरूले मुख्य कामलाई समाउन त समाउँछन् तर बेसरी समाउँदैनन्। त्यसो हुँदा कामलाई सफल पार्न सक्दैनन्। तसर्थ पटक्कै नसमातेर पनि हुँदैन न त बेसरी समाते भने पनि काम छ। तसर्थ जिम्मेवारी नलिएर पनि हुँदैन, जिम्मेवारी लिएपछि त्यसलाई पूरा गर्नुपर्दछ।

त्यस्तै गरी “संख्याको विचार राख” भन्ने विचार माओको रहेको छ। यसको अर्थ के हो भने नेतृत्वले परिस्थिति अथवा समस्याहरूको मात्रात्मक पक्षमा अवश्य ध्यान दिनुपर्दछ र आधारभूत मात्रात्मक विश्लेषण गर्नुपर्दछ। हरेक गुण स्वयं केही मात्रायुक्त हुन्छ र मात्रा विना गुण हुन सक्दैन। वस्तुहरूको गुणलाई निश्चित गर्ने मात्रात्मक सीमामा अवश्य ध्यान दिनुपर्दछ। नेतृत्व वा समिति सदस्यहरूले हरेक सानो सानो कार्यमा हुने सकारात्मक तथा नकारात्मक परिणामले त्यसको मुख्य कामलाई प्रभावित बनाएको हुन्छ। तसर्थ सानो सानो कमीकमजोरीहरूको जोड नै ठूलो काम अथवा गल्तीहरू हुनसक्ने सत्यको अंकहरूमा तथ्यांकहरू, प्रतिशतहरूको मुख्य पक्षलाई निश्चित गर्दछ भन्ने बुझ्नु र बुझाउनुपर्दछ।

त्यस्तै गरी “जनतालाई ढुक्क पार्न इस्तिहार देऊ।” नेतृत्वकर्ताले वैठकहरूको सूचना अघिबाटै दिनु पर्दछ। यसो भए मात्र प्रत्येक व्यक्तिले कुन कुरामा छलफल हुने हो तथा कुन कुन समस्याहरूको समाधान गर्नुपर्ने हो भन्ने कुरा थाहा पाउँछन् र बेलैमा तयारी गर्न सक्दछन्। कतिपय समितिहरूमा अघिबाट रिपोर्टहरू र मस्यौदा प्रस्तावहरू तयार नपारीकन नै कार्यकर्ताहरूको बैठक डाकिन्छ र बैठकको निम्ति मानिसहरू आइसकेपछि मात्र क्षणिक भाषणहरू गरिन्छ। यसो गर्नु “फौज र घोडाहरू आइपुगे तर खाना दाना अझै तयार छैनन्” भन्ने भनाई सरह हो। तसर्थ चाजो मिलाई सकिएको छैन भने हतारो गरी बैठक बोलाउनु हुँदैन।

त्यस्तै गरी “सानो र सजिलो प्रशासन” मा माओले जोड दिनुभएको छ। अहिले कम्युनिष्ट पार्टीमा यो समस्या देखा पर्दै गइरहेको छ। उनीहरूको प्रवचन, नेतृत्वले गर्ने भाषण, लेखकले लेख्ने लेख र प्रस्तावहरू अलि लामो रुपमा बनाइने गरिन्छ। यी सबै कुराहरूाई जतिसक्दो छोटो र संक्षिप्त बनाउनु पर्दछ।

त्यस्तै गरी माओले अर्को यो कुरा पनि बताउनु भएको छ कि “आफ्नो भन्दा फरक मत भएका कमरेडहरूसित मिलेर काम गर्न ध्यान दिउ” पार्टी समिति, स्थानीय ठाउँहरू, बाहिरका मानिसहसँग यो कुरा लागू गर्नु पर्दछ। नेतृत्वहरू विभिन्न नयाँ स्थान, समितिहरूमा र आफ्नो नीति दृष्टकोण मिल्ने कमरेडहरू र फरक विचार भएकासित पनि घुलमिल हुनु पर्दछ। तसर्थ उनीहरूसँग एकता स्थापित गर्न सिपालु हुनुपर्दछ।

त्यस्तै गरी “अभिमानका विरुद्ध खबरदारी गर” भन्ने कुरालाई माओले जोड दिनु भएको छ। कुनै पनि नेतृत्व गर्ने स्थितिमा भएका कसैको निम्ति पनि यो सिद्धान्तको विषय हो। एकता कायम गर्न महत्वपूर्ण शर्त हो। गम्भिर प्रकारका गल्तिहरू नगरेका र आफ्नो काममा निकै ठूलो गल्तिहरू नगरेका र आफ्नो काममा निकै ठूलो सफलता पाएकाहरूले पनि घमण्डी हुनुहुँदैन।

त्यस्तै गरी माओ भन्नुहुन्छ “भिन्नताका दुई रेखाहरू खिच”। पहिलो रेखाको आशय क्रान्ति र दोस्रोको प्रतिक्रान्तिको बिचमा र उपलब्धीहरू र कमीहरूको बीचमा फरक छुट्याउने यी दुई रेखा खिच्न अवश्य विर्सनु हुँदैन र यी भिन्नताहरूलाई मनमा राखेर नेतृत्वले कार्य सञ्चालन गर्न सक्नु पर्दछ। तसर्थ प्रत्येक व्यक्ति र प्रत्येक विषयप्रति सावधानीपूर्वक अध्ययन र दृष्टिकोण विश्लेषणात्मक हुनुपर्दछ।

तसर्थ माओको यी भनाइहरूबाट के प्रष्ट हुन्छ भने सांगठानिक जीवनमा पार्टी समितिको नेतृत्व गर्ने सवालमा नेतृत्वले धेरै कुराहरूमा ध्यान दिनु पर्दछ। नेतृत्वले हरेक प्रकारका समस्याहरूको बारेमा जानकारी लिई तिनीहरूलाई समाधान गर्न वैचारिक, सांगठानिक आदि जस्ता सबै प्रकारले कुशलता प्रदान गर्न सकेमा मात्र ऊ नेतृत्वको रुपमा स्थापित हुन सक्दछ।

लेनिन भन्नुहुन्छ “नेताले जनसाधारण वा पार्टी समिति सदस्यहरूलाई मात्र सिकाउने होइन, बरु तिनीहरूबाट सिक्ने पनि गर्नुपर्दछ।” यसको के आशय छ भने नेतृत्व पंक्तिमा रहेकाहरू घमण्डी हुनुहुँदैन र नेतृत्वले बुझ्ने कुरा के हो भने नेतृत्व हुने वित्तिकै सबै प्रकारको ज्ञान र क्षमता पूर्णता हुन्छ भन्नु सत्य होइन। त्यस्तै अर्को कुरा के हो भने नेतृत्वमा भएका अनुभव पर्याप्त नहुन पनि सक्दछ। तसर्थ आफ्नो अनुभवलाई सर्वसाधारणको अनुभवद्वारा, साधारण पार्टी सदस्यहरूको अनुभवद्वारा, मजदुर, किसान, अन्य जनवर्गीय संगठन र जनताको अभुनवद्वारा परिपूर्ति गर्नुपर्दछ। साथै नेतृत्वको कार्य केवल कार्यालयहरूमा बसेर निर्देशनहरू दिने मात्र नभएर समस्याहरूको सही समाधान पत्ता लगाउनु पनि हो। माक्र्सवादी नेतृत्वले केवल कार्यसम्पादन गर्न समस्याहरूको सही समाधानको उपाय पत्ता लगाउन साथै गरिएको निर्णय कामको परिणाम निरीक्षण गर्न, आम जनताको सहायता अवश्य लिनु पर्दछ।

त्यस्तै कुनै पनि चिज र घटनाहरूलाई एक पक्षबाट अर्थात माथिबाट मात्र हेर्ने र तलबाट मात्र हेर्नाले पनि उक्त विषयमा हेराई सीमित हुन पुग्दछ। तसर्थ कम्युनिष्ट पार्टीको नेतृत्वले त्यसलाई सही ढङ्गबाट दुवै प्रकारले हेर्ने गर्नुपर्दछ। तसर्थ जनतालाई सिकाउने मात्र होइन जनताबाट सिक्नु पनि पर्दछ।

त्यस्तै गरी नेतृत्वको अर्को काम कार्यकर्ताहरूको सही प्रकारले छनोट गर्नु पनि हो। कुशल नेतृत्वको काम भनेको कार्यकर्तालाई पहिलो राजनीतिक कसी अनुसार अर्थात राजनीतिक विश्वासको योग्य छ कि छैनन भन्ने आधारमा, दोस्रो व्यवहारिक कसी अनुसार अर्थात खास खास कामको लागि तिनीहरू सुहाउँदा छन् कि छैनन् भन्ने आधारमा छनौट गर्नुपर्दछ। धेरैजसो कम्युनिष्ट पार्टीमा के समस्या देखिने गरेको छ भने कार्यकर्ताको छनौट वस्तुगत कसी अनुसार गरिदैन। बरु आकस्मिक, मनोगत, संकीर्ण तथा क्षेत्रीय कसी अनुसार गरिन्छ।

धेरैजसो राजनीतिक तथा व्यवहारिक दृष्टि विन्दुबाट सुहाउँदा छन् कि छैनन् भन्ने कुरालाई वेवास्ता गरेर तथाकथित जानपहिचानवालालाई चुन्ने गरिन्छ। व्यक्तिगत मित्रता, शहरका साथीभाईहरू जसले संरक्षकको गुणगान गर्नमा खप्पिस छन् तिनीहरूको छनौट गर्ने गरिन्छ भने स्वतः जिम्मेवार कार्यकर्ताहरूको एउटा नेतृत्वदायी समूह बन्नुको साटो एउटा पारिवारिक समूह, एउटा कम्पनी अर्थात भजनमण्डली बन्न पुग्दछ। यस समूहका सदस्यहरू एकले अर्कोको चित्त नदुखाईकन आफ्ना कमजोरीहरू बाहिर नदेखाइकन एकले अर्काको प्रसंसा गरेर र समय समयमा आफ्ना सफलताबारे सराहना गरेर तथा वाक्क लाग्दा प्रतिवेदन केन्द्रमा पठाएर शान्तिपूर्वक रहन खोज्दछन्। नाता सम्बन्धको यस्तो स्थितिमा कामको कमजोरीको आलोचनाको लागि कुनै स्थान रहन जाँदैन। जसले गर्दा सिंगो पार्टीको क्रान्तिकारी स्पिटमा ब्रेक लाग्न पुग्दछ।

त्यस्तै गरी नेतृत्वको अर्को कार्य भनेको कार्यकर्ताहरूमाथि निरीक्षण गर्नु पनि हो। कार्यकर्ताहरूमाथि निरीक्षणको अर्थ उनीहरूको वाचा, कसम तथा घोषणाहरूको आधारमा होइन, बरु तिनको कामको परिणामहरूको आधारमा तिनीहरूको जाँच गर्नु हो। जिम्मेवारी परिपूर्तिको जाँच गर्नुको तात्पर्य कार्यालयमा मात्र होइन औपचारिक प्रतिवदन अनुसार मात्र होइन बरु पहिलो र प्रमुख रुपले परिपूर्तिको वास्तविक परिणाम अनुसार कार्यथलोमा तिनको जाँच गर्नु हो। यस प्रकारको निरीक्षणले मात्र कार्यकर्तालाई चिन्न, उनको गुणहरूको निर्धारण गर्न, राम्रा गुण र कमजोरीहरूको निर्धारण गर्न र कार्य गर्नका लागि उसका असल गुण र कमजोरीहरूको निर्धारण गर्न सम्भव बनाउनेछ।

नेता तथा कार्यकर्ताहरूको परीक्षण माथिबाट मात्र हुन सक्दछ जब नेताहरूले आफ्नो मुनिकाहरूको कामको परिणाको आधारमा तिनीहरूको जाँच गर्दछन् नेता तथा कार्यकर्ताहरूको परीक्षण र दायित्वको सिद्धिका लागि एउटा प्रभावकारी उपायको रुपमा माथिबाट सत्यता प्रमाणित गर्नु अवश्य पनि आवश्यक छ। तर माथिबाट गरिने परीक्षणबाट निरीक्षणको सम्पूर्ण काम पूरा हुँदैन। अर्को खालको निरीक्षण तलबाट पनि गर्नुपर्दछ। सर्वसाधारण जनताले तलका नेताको जाँच गर्दछन्, उनीहरूको गल्तीहरू औल्याई सच्चिने उपायहरू बताइदिन्छन्।

साधारण पार्टी सदस्यहरूले सकृय पार्टी सदस्यहरूलाई, भेला, महाधिवेशनमा आफ्नो नेतृत्वको प्रतिवेदन सुनेर, त्रुटिहरूको आलोचना गरेर अन्त्यमा पार्टी निकायहरूमा कुनै नेतृत्वकारी कमरेडलाई निर्वाचित गरेर वा नगरेर तिनीहरूको जाँच गर्दछन्। कम्युनिष्ट पार्टीभित्र जनवादी केन्द्रियता, निर्वाचनप्रति पार्टी निकायहरूको निशर्त आज्ञानुकुशलता, उम्मेदवार खडा गर्ने र फिर्ता लिने अधिकार गोप्य मतदान, आलोचना तथा आत्मालोचना, स्वतन्त्रता, साधारण सदस्यहरूद्वारा पार्टीका नेताहरूको निरीक्षण तथा तिनीहरूमाथि नियन्त्रण सुगम पार्नको लागि उपयुक्त सबै र उस्तै उपायहरूलाई व्यवहारमा लागू गरिनु पर्दछ। यस कार्यमा नेतृत्वले विशेष ध्यान पुर्‍याउनुपर्दछ।

त्यसैगरी नेतृत्वको अर्को महत्वपूर्ण कार्य के हो भने कहिलेकाहिँ पार्टी संगठन वा समिति भित्र पार्टीको राजनीतिक सवालहरूलाई अवमूल्यन गरेर केवल आर्थिक सफलताहरूमा अति तल्लिन हुने र आर्थिक सवाललाई बिर्सेर केवल राजनीतिक अभियानमा मात्र अति तल्लिन हुने नेता तथा कार्यक्रमहरूको चासो दुवै गलत हुन। यस्तो प्रकारको नियतिले अध्यारो खाडलमा पुर्‍याउँछ। तसर्थ कार्यकर्ताको पार्टी संगठन वा समितिलाई नेतृत्वले राजनीतिक अभिारा सँगसँगै आर्थिक अभिारा पनि पूरा गर्न तर्फ ध्यान पुर्‍याउनु पर्दछ।

त्यस्तै गरी स्टालिनले के भन्नुभएको छ भने “कार्यकर्ताहरूले सबै कुराको फैसला गर्दछन्।” यो भनाईका सार के हो भने नेतृत्वले जुनसुकै क्षेत्रमा काम गर्ने साना र ठूला कार्यकर्ताहरूप्रति अत्यधिक राम्रो दृष्टिकोण दर्साउनु पर्दछ। उनीहरूलाई सहयोग चाहेको बेलामा सहयोग गर्नुपर्दछ। कार्यकर्ताले पहिलो सफलता हासिल गरेको बेलामा प्रोत्साहन गर्नुपर्दछ। तर कतिपय नेतृत्वमा के समस्या रहन्छ भने कार्यकर्ताप्रति हृदयहिन, नोकरशाही, निन्दात्मक दृष्टिकोण लिने गरेको पनि देखिन्छ। वास्तवमा यसले कार्यकर्ताहरूलाई उचित ढंगले पदासिन होइन केवल बुद्धिचालको चाल झै चाल्ने गरिन्छन्। त्यसैले असल नेतृत्वले कुनै खास अवधिमा कति कार्यकर्ता संगठित र प्रशिक्षित गरेको छ। उसलाई कति उत्साह भरेको छ, कार्यकर्ताको कदर कति गरेको छ भनि माथिल्लो नेतृत्व र स्वयम् पार्टी पंक्तिले मूल्यांकन गर्नुपर्दछ।

कार्यकर्ता विना नेता तथा पार्टी संगठनको नीति तथा कार्यक्रम जनताको माझमा न त पुग्दछ न त संघर्षका कामहरू अगाडि बढ्दछन् न त आन्दोलनले सफलता प्राप्त गर्दछ। न त क्रान्ति सम्पन्न हुन्छ। तसर्थ क्रान्तिपछि पनि कार्यकर्ता मूल्यवान छन्। क्रान्तिको उपलब्धीको रक्षा र विस्तार गरी समाजवादी व्यवस्था टिकाई राख्ने अजय शक्ति हुन्। त्यस्तै गरी कार्यकर्ताहरूको छनौट, बढुवा र बाँडफाँड गर्ने कला पनि नेतृत्वका काम हो।

घोषणाको रुपमा होइन बरु व्यवहारमा कार्यान्वयन गर्नको लागि एउटा सही राजनीतिक कार्यदिशा चाहिएको हो। तर सही राजनीतिक कार्यदिशालाई कार्यान्वयन गर्नको लागि नेतृत्वसित कार्यकर्ता हुनुपर्दछ। यस्ता मानिसहरू हुनुपर्दछ। जो पार्टीको राजनीतिक कार्यदिशालाई बुझ्छन्, जो त्यसलाई कार्यान्वयन गर्न तत्पर रहन्छन्, जो त्यसलाई व्यवहारमा उतार्न समर्थ हुन्छन् र त्यसको लागि जवाफदेही बन्न सक्छन्। त्यसको रक्षा गर्न त्यसको लागि लड्न सक्छन्। यसो गर्न नसक्ने कार्यकर्ताहरू नाम मात्रका हुन पुग्छन् र यस्ता कार्यकर्ता भएको पार्टीको कार्यदिशा पनि नाम मात्रको हुन पुग्दछ।

त्यसैले नेतृत्वको काम कार्यकर्ताहरूको सही छनोट, कार्यकर्ताहरूको प्रतिक्षा, नयाँ मानिसहरूका बढुवा, कार्यकर्ताहरूको सही बाँडफाँड र पूरा भएका काम छोडेर कार्यकर्ताहरूको परीक्षण गर्ने सवाल पैदा हुन्छ। त्यसैले स्टालिनले भन्नुभएको छ “कार्यकर्ताको सही छनौट भन्नाले नेतृत्वको वरिपरि थुप्रै सहयोगी तथा तल्ला कार्यकर्ताहरूको जमघट गर्नु, कार्यालय स्थापना गर्नु र एक पछि अर्को आदेश निकाल्नु अर्थात् कुनै तर्क वा कारण विना दर्जनौं तथा सयौं कार्यकर्ताहरूलाई एउटा कामबाट अर्को काममा सरुवा गर्दै र अनन्त पुनःगठन गर्दै आफ्नो शक्तिको दुरुपयोग गर्नु पनि होइन।

बरु पहिलो काम कार्यकर्ताहरूको कदर गर्नु मूल्यवान ठानी तिनको जतन गर्नु, तिनीहरूको सम्मान गर्नु, दोस्रो कार्यकर्ताहरूलाई राम्ररी चिन्न, तिनका व्यक्तिक गुण र त्रुटिहरूको अध्ययन गर्नु, कुन पदमा रहँदा खास कार्यकर्ताको क्षमताको विकास हुन अत्यधिक सम्भव छ भन्ने कुरा जान्नु। तेस्रो सावधानिपूर्वक कार्यकर्ताहरूलाई हुर्काउनु, प्रत्येक होनहार कार्यकर्तालाई अघि बढाउनमा मद्दत गर्नु, कार्यकर्ताले दिक्क पार्दा धैर्यतापूर्वक समय दिन अनिच्छुक नहुनु र तिनको विकासलाई बढाउनु।

चौंथो, नयाँ र पुराना कार्यकर्ताहरू पुरानै पदमा रही गतिहिन र निराश नरहोस् भन्नाको लागि समयमा नै तिनीहरूलाई हिम्मतका साथ पदोन्नति गर्नु। पाँचौं, कार्यकर्ताहरूको बाँडफाँड गर्दा प्रत्येकले आफू ठिक ठाउँमा रहेको अनुभव गरोस्, प्रत्येकले आफ्नौ व्यक्तिगत क्षमताले साझा लक्ष्यमा पुग्न सक्ने योगदान अधिकतम रुपमा गर्न सकोस् र कार्यकर्ताहरूको बाँडफाँड गर्ने कामको समान्य दिशाले जुन उद्देश्यको निम्ति बाँडफाँड गरिएको हो, त्यसको कार्यान्वयनका लागि राजनीतिक कार्यदिशाका भागहरूको पुरै सित परिपूर्ति गरोस्। नयाँ तथा पुरानो कार्यकर्ताहरूको हिम्मतका साथ र समयमा नै पदोन्नति गर्नु हो।

कार्यकर्ताहरू छनोट गर्दा पुराना नयाँ दुवैमाथि भरोसा राख्नुपर्दछ। अवश्य पनि पुराना कार्यकर्ताहरूले पार्टीको सम्पत्तिको प्रतिनिधित्व गर्दछन्। उनीहरूमा युवा कार्यकर्ताहरूसँग नभएका कुराहरू छन्। नेतृत्वमा विशाल अनुभव, मार्क्सवादी लेनिनवादी सिद्धान्तमा प्रशिक्षण प्राप्ति, मामिला सम्बन्धी ज्ञान, दिशावोध गर्ने क्षमताहरू छन्। तर पहिलो कुरा प्राकृतिक नियमका क्रियाशीलताले गर्दा तिनीहरू आंशिक रुपले कामबाट बाहिरिएका हुन्छन्। तिनीहरू कम संख्यामा छन्। पुराना कार्यकर्ताहरूको एक अंश कहिलेकाहिँ विगतप्रति मरिहत्ते हाल्ने, अतितमा टाँसिइराख्ने, पुरानो खाडलमा अडिरहन मनपर्ने प्रवृत्तिका रहन्छन् र तिनीहरू जीवनमा नयाँ कुरालाई देख्न सक्दैनन्। यसलाई नविनताको भाव गुमाएको भनिन्छ। यो एक ज्यादै गम्भीर र खतरनाक कमजोरी हो।

जहाँसम्म युवा कार्यकर्ताहरूको सवाल छ, अवश्य पनि तिनीहरूमा पुराना कार्यकर्तासित भएका अनुभव, प्रशिक्षण, मामिला सम्बन्धी ज्ञान र दिशावोधको क्षमता छैनन्। तर पहिलो कुरा युवा कमरेडहरू विशाल बहुसंख्यामा छन्। दोस्रो कुरा तिनीहरू जवान छन् र अहिलेसम्म क्षेत्रबाट विलाउने खतरामा परेका छैनन्। तेस्रो कुरा, तिनीहरूसित नयाँ भाव प्रचुर मात्रामा छ। जुन कुरा प्रत्येक क्रान्तिकारी कार्यकर्तामा एउटा बहुमुल्य गुण हो र चौंथो कुरा तिनीहरू कति छिटोसित विकास र ज्ञान प्राप्त गर्दछन् भने, तिनीहरू कति उत्साहका साथ माथि उठ्दछन् अनि त्यो समय व्यक्ति टाढा हुँदैनन्। जब तिनीहरूले पुरानाहरूलाई उछिन्नेछन्, पुरानाहरू सँगसँगै उभिनेछन् र पुरानाको ठाउँमा स्थापित हुन योग्य बन्नेछन्। त्यसैले सवाल पुरानामाथि भरोसा राख्ने कि नयाँमाथि भरोसा राख्ने भन्ने होइन, बरु सवाल पार्टीको सांगठानिक जिम्मेवारीको नेतृत्वको एउटै साझा समस्यामा पुुराना र नयाँ कार्यकर्ताहरूको भेलातर्फ अघि बढ्नु हो।

त्यसैले पार्टी र नेतृत्वको हिम्मतका साथ र समयमा नै युवा कार्यर्काहरूलाई नेतृत्वकारी पदमा बढुवा गर्ने कुरामा पछि पर्नु हुँदैन। तसर्थ नेतृत्वको भूमिका माथिदेखि तलसम्म पुराना र नयाँ कार्यकर्ताहरूलाई एकजुट पार्नु पर्दछ।

त्यस्तै गरी नेतृत्वको अर्को महत्वपूर्ण कार्य भनेको कार्यकर्ताहरूलाई तिनका आफ्नै गल्तिहरूको आधारमा प्रशिक्षित पार्नु हो। लेनिनले के सिकाउनु भएको छ भने “पार्टी कार्यकर्ताहरूलाई सही ढंगले प्रशिक्षित तथा शिक्षित बनाउने एउटा सबभन्दा पक्का उपाय इमान्दारीका साथ पार्टीका गल्तिहरूलाई प्रकाशमा ल्याउनु, ती गल्ति हुनाका कारणहरूको अध्ययन गर्नु र ती गल्तिहरूलाई हटाउन आवश्यक बाटो देखाउनु हो” भन्नुभएको छ। यसको के आशय हो भने नेतृत्वले आफ्ना गल्तीहरूलाई ढाकछोप गर्नु हुँदैन, गल्तिहरूलाई छल्नु हुँदैन, बरु इमान्दारीपूर्वक र खुल्ला रुपमा आफ्ना गल्तिहरूलाई सकार्नु पर्दछ र खुल्ला रुपमा इमान्दारीपूर्वक आफ्ना गल्तिहरूलाई सच्याउनु पर्दछ। साथै नेतृत्वले कार्यकर्ताहरूलाई जोगाउनु र स्याहार गर्नुपर्दछ। तिनीहरूको आत्मसम्मान र निश्चलतालाइई जोगाउनु पर्दछ। यस उद्देश्यका लागि सुधारवादीहरूले कार्यकर्ताहरूका गल्तिहरूप्रति आँखा चिम्लन, आलोचनाको उत्साहलाई कमजोर पार्न र ती गल्तीहरूलाई वेवास्ता समेत गर्न सुझाव दिन्छन्। यस्तो सोच आधारभूत रुपले गलत मात्र होइन, बरु उच्चतम हदसम्म खतरनाक, पहिलो र प्रमुख रुपले तिनीहरूले जोगाउन र स्याहार्न चाहेका कार्यकर्ताहरूको लागि खतरनाक पनि छ।

कार्यकर्ताका गल्तीहरूप्रति आँखा चिम्लेर तिनलाई जोगाउनु र सुरक्षित राख्नुको अर्थ ती कार्यकर्ताहरूलाई निश्चित रुपले नष्ट पार्नु हो। तसर्थ यसतर्फ नेतृत्वको गम्भिर ध्यान जानु जरुरी छ। त्यस्तै गरी सही राजनीतिक कार्यदिशाको प्रतिपादन भएपछि सांगठानिक कामले राजनीतिक कार्यदिशाको सफलता वा असफलतालाई निर्धारण गर्दछ।

पार्टीको कार्यदिशालाई व्यवहारिक रुपमा कार्यान्वयन गर्ने सन्दर्भमा थुप्रै प्रकारका सांगठानिक कठिनाईहरू आउन सक्दछन् ती कठिनाईहरूलाई व्यवस्थित तवरले संघर्षको माध्यमबाट हल गर्दै लैजानुपर्दछ। रुसमा समाजवादी क्रान्तिपश्चात् त्यहाँको पार्टीले थुप्रै सांगठानिक समस्याहरूको सामना गरेको थियो ती समस्याहरूलाई हटाउनको लागि लेनिनद्वारा व्यक्त गरिएको विचारद्वारा निर्देशित रहेको थियो। “ठिक मानिसहरूको चयन गर्नु र निर्णय पूरा भए वा नभएको कुराको जाँच गर्नु।” यसै विचारलाई त्यहाँको पार्टीले अबलम्बन गरेको थियो। ठिक मानिसहरूलाई चयन गर्ने र आफूमाथि पार्टीले गरेको विश्वासको योग्य बन्न नसकेकाहरूलाई खारेज गर्ने नीति लिएको थियो।

सांगठानिक कामलाई राजनीतिक स्तरमा उठाउन र पार्टी कार्यदिशाको प्रयोगलाई सुनिश्चित पार्नको लागि मुख्य रुपमा उपयुक्त उपायहरू सोभियत संघको पार्टीले समिक्षाधीन अवधिमा अपनाएको थियो। तिनीहरूमध्ये एक सुधार्नै नसकिने नोकरशाह र लालफितावादीहरू, दोस्रो दुइखालका कार्यपालहरू जसले पार्टीको कामलाई पछि धकेल्छन्, पार्टीको कामलाई बाधा हाल्ने र अग्रगतिलाई रोक्ने काम गर्दथे। यसमा एउटा कुलिन खालका कार्यपाल र दोस्रो जिम्मेवारीलाई पूरा नगर्ने बकम्फुसेहरू जुन इमान्दार थिए भक्त थिए तर कार्यपालको रुपमा अयोग्य थिए। संगठनको कुनै पनि काम गर्न सक्दैनथे। यस प्रकारका मानिसहरू उनीहरूको कार्यकारी पदबाट गरिने कामभन्दा परको कामको जिम्मा दिइएको थियो। जसले तिनीहरूलाई सोचमग्न बनाइदिएको थियो। यस प्रकारका नेतृत्वलाई कार्यकारी पदमा राखी रहने हो भने हरेक सजिव लक्ष्यलाई निरस तथा अनन्त भाषणहरूको बाढीमा डुवाउदछन् भन्ने निष्कर्षसहित यिनीहरूलाई उक्त कार्यकारी पदबाट हटाइएको थियो, घटुवा गरिएको थियो।

त्यस्तै गरी सांगठानिक समस्याहरूको हल गर्ने सवालमा नेतृत्वले निर्णयको सिद्धिमाथि उचित प्रकारको निरीक्षण गर्नुपरेको थियो। वोल्सेविक पार्टीले आफ्नो सत्ता चलाउने सवालमा तत्कालिन प्रशासनिक पक्षलाई आफ्नो पार्टीको कार्यदिशालाई कार्यान्वयन गराउने सन्दर्भमा देखिएका समस्याहरूको एउटा उपाय थियो। कि, नोकरशाही र लालफितवादीहरूको कार्यलाई पर्दाफास गराएको थियो। निर्णयको सिद्धिमाथि गरिने उचित निरीक्षण यस्तो विद्युत प्रकाश थियो जसले नोकरशाह र लालफितावादीहरूको पूर्णरुपले पर्दाफास गरेर खास क्षणमा यसले कसरी काम गर्दथ्यो भन्ने कुरालाई खुलस्त पार्न मद्दत गरेको थियो।

यसले के निष्कर्ष निकालेको थियो भने पार्टीको कामको सन्दर्भमा यदि त्रुटी र असफलताहरूको दश खण्डको नौ खण्डको कारण निर्णयको सिद्धिमाथि निरीक्षण गर्ने उचित रुपले संगठित व्यवस्था नहुनु थियो। यदि यसको राम्रोसँग प्रयोग हुने हो भने कुनै पनि पार्टीले लिएका उद्देश्यहरू सफलतापूर्वक पूरा हुने थियो। तसर्थ अहिलेको वर्तमान परिस्थितिमा कम्युनिष्ट पार्टीहरूको आफ्नो सांगठानिक जीवनमा पनि विभिन्न गलत चिन्तन बोकेका मानिसहरूले पार्टी कब्जा गरी जरा गाडेर बसेका छन्। त्यस्ता व्यक्तिहरू पार्टीको जिम्मेवार निकायहरूमा रहेका हुन सक्छन्। तिनीहरूलाई पहिचान गर्न पनि लेनिन, स्टालिन र माओको विभिन्न सैद्धान्तिक लेख, रचना र पार्टी जीवनमा अपनाउनु भएका विभिन्न समस्याहरूको समाधान गर्ने उपायहरू हाम्रो लागि एउटा मार्गनिर्देशक सिद्धान्त हो। उक्त शिक्षालाई कम्युनिष्ट पार्टीका नेतृत्व, कार्यकर्ता, शुभचिन्तक सबैले अबलम्बन गर्नुपर्दछ। अहिले कम्युनिष्ट पार्टीले सोचेजस्तै काम गर्न नसक्नुका विभिन्न कारणहरू छन्।

पार्टीभित्र अस्थायी, वैचारिक अन्तरविरोधभन्दा पनि स्थायी प्रकारको गुटबन्दीले पार्टीको क्रान्तिकारी स्प्रीटलाई भद्दा बनाएको छ। तसर्थ लेनिनले भन्नुभएको छ “पार्टी गुटबन्दीसित मेल नखाने संकल्प गर्नु भनेको एकताको प्रतीक हो।” तसर्थ पार्टीभित्र फलामे अनुशासनको साथसाथै वैचारिक अन्तरविरोधको द्वन्द्वको निम्ति पनि नेतृत्वले ठाउँ बनाउन सक्नुपर्दछ। तर त्यो निश्चित समयसम्मको लागि मात्र कायम राख्नुपर्दछ। यदि त्यो कार्य अराजक तरिकाले अगाडि बढेमा नेतृत्वको ध्यान ती अवसरवादी तत्वहरूलाई विना शर्त पार्टीबाट निकालेर पार्टी बलियो बनाउन तर्फ केन्द्रित हुनुपर्दछ। त्यस्तै गरी चिनमा महान् सर्वहारा सँस्कृति क्रान्तिका समयमा पनि उत्पादन सम्बन्ध, अर्थात शासक वर्गको विचार, संस्कृति, चालचलनका विरुद्ध तिव्र संघर्ष चलेको थियो। संशोधनवादीहरूको विचार बेग्लै थियो। उनीहरूको व्याख्या अनुसार अब देशमा नयाँ र उन्नत प्रकारको सामाजिक व्यवस्था स्थापित र मजवुत भइसकेको थियो तर उत्पादक शक्तिहरू पिछडिएका थिए।

उनीहरूले पुरानो प्रकारको अवसर, सम्बन्धका पुराना विचार, संस्कृति, चालचलन, बानीवेहोरा आदि विरुद्धको संघर्षलाई गौण बनाएका थिए। त्यसैले उनीहरू सांस्कृतिक क्रान्तिको पनि विरुद्धमा उभिएका थिए। माओले भन्नुभएको थियो “पुँजीपति वर्गका प्रतिनिधिहरू, जो पार्टी, सरकार, सेना र सांस्कृतिक समूहहरूमा घुस्छन् ती प्रतिक्रान्तिकारी संशोधनवादीहरूको एजेन्ट हुन् र ती कुनै खुश्चेभको उत्तराधिकारीको रुपमा तयार पारिएका छन्।”

यसको साथसाथै प्रतिक्रान्तिलाई केवल पार्टी र सरकारमा घुस्न सफल भएका पुँजीपति वर्गका प्रतिनिधि वा एजेण्टहरूले मात्र क्षति पुर्‍याएको होइन, बरु नेतृत्वमा रहेका कतिपय कम्युनिष्ट हुँ भन्नेहरूले सिद्धान्त द्वन्द्वात्मक तथा ऐतिहासिक, भौतिकवादलाई स्वीकार गर्नाको वावजुद व्यवहारमा उनीहरूको अतिभुतवाद वा आदर्शवादी दृष्टिकोण अपनाउ गर्नाले पनि हो। साथै कतिपय नेतृत्वले आफूलाई ऐतिहासिक भौतिकवादका पण्डित भन्नेहरूले जब उनीहरूको अगाडि विशेष घटना, व्यक्ति वा विचारबारे दृष्टिकोण चिश्चित गर्ने प्रश्न आउँदथ्यो। उनीहरू ऐतिहासिक धारका विरुद्धमा सोचाई अपनाउन पुग्दथे वा कुनै प्रतिक्रियावादी विचारहरूका पछाडि लाग्नसम्म पुग्दथे।

कतिपय परिस्थितिमा सामन्ती मान्यता र पुँजीवादी आदर्शहरूलाई सहयोग पुर्‍याउँथे। तसर्थ जब कुनै मार्क्सवादी लेनिनवादी पार्टीका नेतृत्वहरूमा यस प्रकारको सोचाईहरू देखा पर्दछन् भने तिनीहरूले बाह्य रुपमा मार्क्सवादी लेनिनवादी सिद्धान्तको कुरा गरे पनि यथार्थमा उनीहरूको कार्यदिशा र चरित्र गैरक्रान्तिकारी बन्दै गइरहेको हुन्छ। यस्ता प्रकारका नेतृत्वहरूको ठाउँमा क्रान्तिकारी नेतृत्व स्थापित गराउने र उत्तराधिकारी तयार पार्दै जानु पनि अहिलेको विश्व कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउँदै आएका पार्टी र नेतृत्वले बुझ्नु जरुरी छ।

साथै आन्तरिक, बाह्य र अन्तर्राष्ट्रिय परिस्थितिलाई राम्रोसँग बुझेको सबै प्रकारका सैद्धान्तिक, व्यवहारिक र सांगठानिक नेतृत्व गर्न सक्ने नेतृत्वले पार्टीभित्र रहेका यस प्रकारका लालनोकरशाहहरू जो पार्टी नेतृत्वको वरिपरि रहन्छन्, लालफितावादी जो आफूलाई कम्यनिष्ट भन्ठान्छन्, कुलिन नेतृत्वहरू जो पुरानो नेतृत्व हुँ भन्ठान्छन् र बकम्फुसेहरू जो आफूलाई जिम्मेवार नेतृत्व तथा कार्यकर्ता भन्ठान्छन्, तिनीहरूको पहिचान गर्न ढिलाई गर्नुहुँदैन।

साथै सुधारवादी, अवसरवादी देखिएका नेतृत्वलाई पनि पार्टीका विभिन्न मोर्चा, समितिका नेतृत्वबाट हटाउँदै अगाडि बढ्नुपर्दछ। तिनीहरूको ठाउँमा पनि सच्चा, इमान्दार, कर्मठ, क्षमतावान, नैतिकवान, त्यागी, क्रान्तिकारी स्प्रीट भएको नेतृत्वहरू स्थापित गर्न सकेमात्र त्यस प्रकारको पार्टीले कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाई क्रान्ति सम्पन्न गरी समाजवादी व्यवस्था स्थापित गरी त्यसलाई टिकाइराख्न सक्छ।

(कम्युनिस्ट नेतृत्वबारे माओत्सेतुङको दृष्टिकोणमा आधारित आलेख।)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्