भव्यताका साथ मनाइयाे ६६ औं प्रहरी दिवस

लोकपाटी न्यूज
0 Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार आयोजित विशेष समारोहबीच ६६ औं प्रहरी दिवस २०७८ सम्पन्न भएको छ । प्रहरी दिवसको अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री देउवाले प्रहरी प्रधान कार्यालयस्थित अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरे।

विशेष समारोहमा प्रधानमन्त्री देउवाले प्रथम महिला प्रहरी सेवा निवृत्त प्रहरी सहायक निरीक्षक चैतमाया डंगोललाई ‘लाईफ टाइम अचिभमेण्ट अवार्ड’ प्रदान गरे। साथै उनले कर्तव्य पालनाको क्रममा वीरगति प्राप्त गर्ने यस वर्ष घोषित ३३ जना अमर प्रहरीमध्ये ७ जना अमर प्रहरीका परिवारहरुलाई कदरपत्र प्रदान गरेका छन्। साथै उनले “प्रहरी दर्पण २०७८” को लोकार्पण समेत गरे।

समारोहमा प्रधानमन्त्री देउवाले नुवाकोट विदुर नगरपालिका -२ का अमर प्रहरी प्रहरी जवान मनोज कुमार हमालका छोरा हार्दिक हमाल र दोलखा लामिडाँडा -८ का अमर प्रहरी प्रहरी सहायक निरीक्षक राम बहादुर खड्काकी छोरी सन्जीवनी खड्कालाई अच्युत-मिना अमर प्रहरी परिवार पुरस्कार तथा वैतडी शिवनाथ -२ का अमर प्रहरी शेर सिंह साउदको छोरा अनिल साउद र सुर्खेत वीरेन्द्रनगर नगरपालिका -९ का अमर प्रहरी प्रहरी जवान राम बहादुर चौधरीकी छोरी नीमृत चौधरीलाई अच्युत-मिना अमर प्रहरी परिवार छात्रवृत्ति प्रदान गरे।

विशेष समारोहलाई सम्बोधनको क्रममा प्रधानमन्त्री देउवाले नेपाल प्रहरी अपराधको संजाल र अवाञ्छित गतिबिधि निस्तेज गर्न दृढ संकल्पित रहेको चर्चा गरे। हालको परिस्थितिको कुनै पनि प्रवाह नगरी संगठनका प्रत्येक सदस्यहरु पेशागत कर्तव्य पालनामा अझ उच्च मनोबलका साथ कार्य सम्पादनमा खटिने अपेक्षा लिएको उनले उल्लेख गरे।

निष्पक्ष अनुसन्धान र कानून कार्यान्वयन कानूनी राज्यका आधार भएको तथा निष्पक्ष अनुसन्धानले पीडितलाई न्याय दिलाउनुका साथै राज्यमा दण्डहिनताको अन्त्य गर्न समेत मद्दत पुग्ने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले भने, “कुनै पनि स्वार्थ तथा शक्तिबाट प्रभावित नभई निष्पक्ष अनुसन्धान कार्यमा नेपाल प्रहरीले सम्झौता गर्दैन भन्ने विश्वास लिएको छु ।” प्रहरी संगठनले थालेका सुधारका रचनात्मक कार्यलाई सफल तुल्याई नेपाल प्रहरीको संस्थागत विकास मार्फत प्रभावकारी ढंगबाट प्रहरी सेवा प्रवाह गर्न उनले विशेष आग्रह गरे। विज्ञान र प्रविधिको तीव्र विकास भइरहेको वर्तमान अवस्थामा संगठित एवं विद्युतीय संजालमा आधारित भएर विश्वभर फैलिरहेको अपराधका नयाँ प्रवृत्ति र शैलिहरुप्रति नेपाल प्रहरी ज्यादै चनाखो र प्रभावकारी हुनु जरुरी रहेको समेत उनले बताए।

समारोहमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी गतिशिल संगठन भएकोले यसको समुचित कार्य बिशिष्टिकरण प्रहरीको ध्येय हुनुपर्ने चर्चा गरे । समाजले प्रहरीबाट धेरै अपेक्षा र विश्वास गरेको बताउँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भने, “हाम्रो कर्मक्षेत्र पनि समाज र नागरिक नै हो । यो कर्तव्यबाट नत हामी विमुख हुन नै सक्छौ न समाजले हाम्रो बिकल्प नै खोज्न सक्छ । यो अनन्त स् र अटुट सम्बन्धलाई प्रगाढ र विश्वसनीय बनाउनु हाम्रो व्यवसायिक धर्म हो ।”

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्