यात्रुसँग बढी भाडा लिन खोज्‍ने ९ जना प्रहरी नियन्त्रणमा

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। उपत्यका बाहिर जाने यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिन खोज्‍ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । विभिन्‍न टिकट काउन्टरमा आबद्ध भई बिना परिचयपत्र बसपार्क आसपास यात्रुलाई टिकट काटिदिने भन्दै मोलमोलाई गर्ने उनीहरुलाइ प्रहरीले पक्राउ गरेकाे हाे।

पक्राउ पर्नेमा भरतपुर चितवनका ३८ वर्षीय समिर श्रेष्ठ, धनकुटाका ३० वर्षीय किरण लिम्बू र सुनसरीका २८ वर्षीय सविन राई रहेकाे ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । त्यस्तै, टिकट काउन्टरको कर्मचारी हुँ भन्दै भाडा बार्गेनिङ गर्ने काठमाडौं बस्ने ४६ वर्षीय राज ठकुरी, दाङ घोराहीका २९ वर्षीय विशाल गुरुङ र कैलालीका २९ वर्षीय रमेश कठायतलाई गोगंबुबाट पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।

उनीहरूलाई आवश्यक कारबाहीका लागि प्रहरी प्रभाग नयाँ बासपार्कमा बुझाइएको उनले बताए ।

त्यसैगरी कलंकीबाट ३९ वर्षीय नवीन केसी र बल्खुबाट शुभयात्री काउन्टरमा काम गर्ने निजगढका अरुण मगर र जाजरकोट घर भई कीर्तिपुर बस्ने नारायणी काउन्टरका ३७ वर्षीय विनोद रानालाई समेत पक्राउ गरी कारबाहीको लागि प्रहरी वृत्त कालीमाटीमा बुझाइएको महाशाखाले जनाएको छ ।

यात्रुलाई परेको समस्या समधान गर्न महाशाखाले उपत्यकाको विभिन्‍न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । चाडपर्वको समयमा उपत्यका बाहिरिने यात्रुहरुको चाप अत्याधिक हुँदा भिडभाडको मौका छोपी यात्रुहरुलाई ठगी गर्ने, बढी भाडा लिने, डबल टिकट काट्ने समूहलाई नियन्त्रण गर्न र सहज र सुरक्षित यात्राको व्यवस्था गर्न ट्राफिक प्रहरीले विशेष निगरानी एवं अनुगमन गर्न टोली परिचालन गरेको छ ।

तोकिएको टिकट काउन्टरमा परिचयपत्र बहाकहरुले मात्र टिकट काट्ने व्यवस्था भएपनि अनाधिकृत व्यक्तिहरूले बिचौलिया बनेर यात्रुसँग मोलमोलाई गरी तोकिएको भन्दाबढी भाडा लिँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको एसएसपी भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्