सुदूरपश्चिममा गठबन्धन छैन र हुँदैन : नेता बलायर

Bir_bahadur_balayar
लोकपाटी न्यूज
0 Shares

डोटी। नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले सुदूरपश्चिम प्रदेशमा चुनावी गठबन्धन नहुने प्रष्ट पारेका छन्। डोटीमा सोमवार आयोजित ‘घर घर जाऔं,काँग्रेस जिताऔं’ अभियानको सुरुआत गर्दै नेता बलायरले सुदूरपश्चिममा हालसम्म गठबन्धन नभएको र अबका दिनमा पनि नहुने दाबी गरे।

उनले भने, ‘माओवादी र एकीकृत समाजवादीले एकातर्फ चुनावमा गठबन्धन गर्नुपर्छ भन्छन् अर्कोतिर काँग्रेसलाई पेल्न छाड्दैनन्। एकातिर गठबन्धन भन्ने, अर्कोतिर हामीलाई पेल्ने ? यो कस्तो गठबन्धन हो ? त्यसैले यहाँ गठबन्धन छैन र हुँदैन।’

काँग्रेस नेता कार्यकर्ताले कुनै हालतका आफ्नो चुनाव चिन्ह ‘रुख’बाहेक अन्त भोट हाल्न नसक्ने पनि बलायरले बताए। ‘सुदूरपश्चिममा गठबन्धन छैन र हुँदैन। काँग्रेसका हातले रुख चुनाव चिन्हबाहेक अन्त भोट हाल्दैन,’ उनले भने। बलायरले निर्वाचनमा काँग्रेसबाहेक अरू कसैलाई भोट हाल्नु नपर्ने बताउँदै आफूहरू बहुमतले विजयी हुनेमा विश्वस्त रहन नेता कार्यकर्तालाई आग्रह गरे।

सुदूरपश्चिममा काँग्रेस एक्लै बहुमतसहित विजयी हुने बताउँदै सभापति बलायरले अघिल्लो निर्वाचनमा बढी मत बदर भएकाले हार व्यहोर्नु परेको जिकिर गरे। उनले आगामी निर्वाचनमा मतदाता शिक्षालाई प्रभावकारी बनाउन नेता कार्यकर्तालाई सुझाए।