विवाहको निर्णय लिनुअघि के-के कुरामा ध्यान दिने ?

Married_Couple
लोकपाटी न्यूज
11 Shares

काठमाडौं। नेपाली समाजमा अझै पनि विना सोचविचार हतारमा विवाह गर्ने र कम उमेरमा विवाह गर्ने प्रचलन छ। यसो गदौ दाम्पत्य जीवनमा कैयौं समस्याको सामना गर्नुपर्ने हुन्छ। जीवनको लयलाई नै अर्कै बनाउने विवाहजस्तो महत्वपूर्ण निर्णय लिन किन हामी हतार गर्छौं ? कम उमेरमा विवाह गर्दा यसको अनुभूति नै कमजोर हुन्छ । जसले जीवनलाई नै तीतो अनुभव गराउँछ।

विवाह भनेको आपसमा माया गर्ने दुई व्यक्तिको मिलन मात्र होइन, यसले दुई जना मानिसलाई यस्तो बन्धनमा बाँध्छ जसको पालनपोषण, व्यक्तित्व, भावना, शिक्षा र कहिलेकाहीं भाषा पनि फरक हुन्छ। विवाहको माध्यमबाट दुई फरक संस्कृतिको संयोजन पनि हुन्छ।

वैवाहिक जीवन सुरु गर्नुअघि एकअर्काको रुचि, मन नपर्ने कुरा, जीवनको लक्ष्य, परिवारका बारेमा जान्न बढी समय दिनु बुद्धिमानी हुन्छ। धैर्यका साथ आफ्नो भावी पार्टनरलाई राम्ररी चिन्नु राम्रो हुन्छ । युनिभर्सिटी अफ टेक्सासका प्रोफेसर टेड हस्टनका अनुसार विवाह बन्धनमा बाँधिनुअघि आफ्नो पार्टनरको कमजोरी र राम्रो कुरालाई राम्रोसँग मनन गर्नुपर्छ।

आर्थिक स्थितिको परीक्षण गर्नुहोस् : विवाह गर्नुअघि आफ्नो र आफ्नो पार्टनरको आर्थिक स्थितिको बारेमा पनि परीक्षण गर्नुहोस्। यदि तपाईंहरु दुवै जनाले घर खर्च बहन गर्न नसक्ने भएमा विवाहभन्दा पहिले त्यसको स्रोत खोजी गर्नुपर्छ।

स्पष्ट भएर मात्रै विवाहको निर्णय लिनुहोस् : विवाहको प्रस्ताव स्वीकार्नुअघि तपाईं किन यो सम्बन्ध स्वीकार्न चाहनुहुन्छ ? यसबारे स्पष्ट हुनुहोस् । परिवारका सदस्यको दबाब, उमेर बित्दै गएकाले वा साथीभाइले बिहे गरेकाले ? के कारणले तपाईं पार्टनरसँग विवाह गर्दै हुनुहुन्छ ? त्यसबारे स्पष्ट हुनुहोस्।

एकअर्काको मायाको मूल्यांकन गर्नुहोस् : तपाईंहरु एकअर्कालाई भेट्नुहुन्छ वा कुरा गर्नुहुन्छ त्यतिबेला जाँच्न नभुल्नुहोस् कि तपाईंको भावी श्रीमान् वा श्रीमतीको प्रेम तपाईंको लागि साँचो छ कि छैन ? के उसले तपाईंको भावनाको कदर गर्छ ? उसले तपाईंको खुसीको लागि कदम चाल्छ ? के उसले तपाईंलाई आफ्नो मनको कुरा गर्छ ? यो कुरालाई राम्रोसँग मनन् गर्नुपर्छ। एकअर्कामा पर्याप्त माया छैन भने विवाहको लागि अघि बढ्नु घातक हुनसक्छ।

एकअर्काको स्वभावबारे जानकारी राख्नुहोस् : प्रायः युवतीहरु आफ्नो सुनौलो सपना पूरा गर्न आफ्नो प्रेमी वा पार्टनरको स्वभाव र उसको प्रकृतिको बारेमा जाँच गर्न उनीहरुसँग बढी नजिकिन्छन्। धेरैले बिहेपछि श्रीमानको व्यवहार परिवर्तन गर्न सकिन्छ भन्ने सोच्छन्। स्वभाव परिवर्तन नहुँदा कतिपयले उनीहरुको सम्बन्ध अझै बलियो नभएको ठान्छन्।

बिहेपछि कसैले कसैको स्वभाव बदल्न सक्दैन भन्ने कुरा पक्का छ। जस्तो छ त्यसलाई स्वीकार गर्नैपर्छ। यदि तपाईंको प्रेमी वा पार्टनर रिसाएको छ भने विवाहपछि तपाईं अक्सर उनको रिसको निशाना बन्नैपर्छ, यो पति होस् वा पत्नी दुवैमा लागु हुन्छ। त्यसैले आफ्नो क्रोध नियन्त्रण नगर्ने व्यक्तिसँग विवाह गर्नुअघि सोचविचार गर्नुहोस्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्