आगामी चुनावका लागि म्यादी प्रहरीको तालिम सुरु

लोकपाटी न्यूज
10 Shares

महोत्तरी। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा खटिने म्यादी प्रहरीका लागि १० दिने तालिम मंगलबारबाट सुरु भएको छ। जिल्लाको सदरमुकाम जलेश्वर, गौशाला तथा बर्दिबासमा एकैसाथ १० दिने म्यादी प्रहरीका लागि तालिम दिन शुरु गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

स्थानिय तह निर्वाचनको सुरक्षा प्रयोजनार्थ महोत्तरीमा ४९८ महिला तथा १९७६ पुरुष गरी २४७४ जना छनौट गरिएको जानकारी दिँदै उनले पेशागत तालिमको उदघाटन प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालबाट गरिएको जानकारी दिए।

सो अवसरमा तालिम उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी दाहालले म्यादी प्रहरीले निर्वाचनको समयमा गर्नुपर्ने कार्य र गर्नुपर्ने सुरक्षाबारे तालिममा सिकाइने बताए। स्थानीय तह निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन सबैको भूमिका अपरिहार्य रहेको उनले बताए।

सदरमुकाम जलेश्वरको रंगशालामा आयोजना गरिएको उदघाटन कार्यक्रममा उनले देशभरि एकै चरणमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने भएकाले म्यादी प्रहरीको संख्या बढेको बताउँदै छनौट भई तालिम प्राप्त गरेका म्यादीलाई छिमेकी जिल्लामा खटाइने जानकारी दिए।

कार्यक्रममा प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीसहित जिल्ला सुरक्षा समितिका पदाधिकारी, प्रहरीका अधिकृत तथा जवानको उपस्थिति छ। निर्वाचनमा नियमित जनशक्तिबाट मात्र सुरक्षा प्रदान गर्न पर्याप्त नहुने भएकाले म्यादी प्रहरी भर्ना गरिएको र उनीहरुलाई नियुक्ति दिएको दिनदेखि ५० दिनसम्म काममा लगाइने जनाइएको छ।

प्रहरी नायव उपरीक्षक विष्टले छनौट भएका म्यादी प्रहरीलाई निर्धारित पाठ्यक्रमअनुसार आधारभूत कानूनी प्रक्रियासम्बन्धी ज्ञान, सुरक्षा व्यवहारसम्बन्धी व्यवहारिक सीप, निर्वाचनमा म्यादी प्रहरीले पालना गर्नुपर्ने कर्तव्य तथा आचरणसम्बन्धी तालिम दिइने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्