टिकटकबाट ‘पैसा’ कसरी आउँछ ?

tiktok
लोकपाटी न्यूज
13 Shares

पछिल्लो समय निकै लोकप्रिय बनेको भिडियो एप हो ‘टिकटक’। चिनियाँ कम्पनीले निर्माण गरेको ‘टिकटक’लाई कलाकारिताको ‘मिनी थिएटर’ पनि भन्ने गरिएको छ। यो एक सोसल मिडिया एप्लिकेसन हो। जसका माध्यमबाट स्मार्टफोन प्रयोगकर्ताले छोटा छोटा भिडियो बनाएर शेयर गर्न सक्दछन्।

इन्टरनेट प्रयोग गर्ने हरेक उमेरका मानिसहरू अहिले टिकटकमा झुम्मिइरहेका हुन्छन्। कतै घुम्नजादाँ ह्या यतिकै जान्छु भनेर कुनै तयारी नगरी घरबाट बाहिर निस्कनेहरू पनि टिकटक बनाउनको लागि धेरै मिहेनत र खर्च गर्ने गरेका पछिल्लो समयका युवा पुस्ताले। टिकटकमा गरेको अभिनयबाट धेरै व्यक्ति चर्चितसमेत भएका छन्। अब चर्चा र प्रसिद्धिका लागि कुनै ठूला सञ्चारगृहको साथको जरुरी छैन भन्ने उदाहरण पनि हो, टिकटक।

अहिले ठूलो पर्दामा गनिएका र राम्रो चलेका कलाकार पनि टिकटकमा अभिनय गर्न रुचाउँछन्। टिकटकमा चर्चित चेहरा अहिले म्युजिक भिडियो र फिल्ममासमेत देखिन थालेका छन्। कुनै गीत हिट भयो या भएन भन्ने संकेत पनि टिकटकले दिन थालेको छ। जुन गीतको टिकटकमा बढी भिडियो बन्यो त्यो गीत त्यति नै लोकप्रिय मानिने गरेको छ। पहिला नचलेका गीतहरू पनि टिकटकको कारण पछि चर्चामा आएका छन्।

युवा-युवतीसँगै सबै उमेर समूहमा समय बिताउने सिर्जनात्मक मेसो बनेको छ। खासगरी गाउँ र स-साना सहरका लागि यो मानिसहरूको प्रतिभा देखाउने राम्रो माध्यम बनेको छ। टिकटकको साथमा तपाईंको जीवन अझै रोमाञ्चक हुन्छ। तपाईं जिन्दगीका हरेक पल जिउनुहुन्छ र हरेक समय केही नयाँ खोजी गरिरहनु भएको हुन्छ। पछिल्लो समय टिकटक मनोरञ्जनको लागि मात्र नभई पैसा कमाउन सकिने माध्यम पनि बनेको छ।

कमाउन सकिन्छ त टिकटकबाट ?

टिकटकबाट पैसा कमाउन सकिन्छ यसको लागि तपाईंले यसको केही नियमहरू पालना गर्नुपर्छ। टिकटकबाट आम्दानी गर्न सामान्यतया तीन विकल्प रहेको छ।

१. फलोअर बढाउने र बेच्ने : टिकटकबाट पैसा कमाउने पहिलो माध्यम भनेको आफ्नो टिकटक अकाउन्टलाई बढाएर त्यसलाई बेच्नु हो। तर यो सबै किसिमका टिकटकरका लागि सम्भव छैन। आफ्नो अकाउन्ट तिनै टिकटकरले मात्र बेच्न सक्छन्, जसको फ्यान फलोअर धेरै छन्।

विदेशतिर एक लाख फल्लोअर भएका टिकटक अकाउन्टको मूल्य हजारदेखि दुई हजार डलरसम्ममा बेच्ने गरेको पाइन्छ। तपाईंको अकाउन्ट तपाईंको ट्रेड मार्क जस्तै हो। यसमा जति धेरै फलोअर हुन्छन्, मूल्य त्यति नै धेरै हुन्छ। अकाउन्ट बेच्ने परम्परा पश्चिमा मुलुकहरूमा धेरै छ। तर नेपालतिर यसको अभ्यास त्यति देख्न पाइन्न। टिकटक अकाउन्ट बेच्नलाई विभिन्न किसिमका प्लेटफर्महरू छन्। जसमा फेम स्वाप डटकम एक हो।

२. ब्रान्डको प्रचारबाट : यसको विकल्पको लागि तपाईंसँग उल्लेख्य फलोअर्स हुन जरुरी हुन्छ। टिकटकबाट कुनै पनि ब्रान्डको प्रचार गरेर आम्दानी गर्न सकिन्छ। जति धेरै फलोवर्स भयो त्यति नै बढी यसबाट आम्दानी हुनसक्छ।

३. टिकटक मोनेटाइज : टिकटक मोनेटाइज केही देशमा भर्खरै सुरु गरेको छ। यसका लागि टिकटक अकाउन्टमा १० हजार फलोअर हुनुपर्छ। भिडियो क्रिएटर्स १८ वर्ष पूरा भएको तथा टिकटकमा राखिएको भिडियो १ महिनामा १ लाख पटक हेरिएको हुनुपर्छ। यति पूरा गरेपछि मात्र टिकटक मोनेटाइजको लागि एपलाई गर्न मिल्छ। टिकटक मोनेटाइज नेपालबाट भने गर्न मिल्दैन अमेरिका तथा युरोपमा मात्र यो सुविधा रहेको छ। टिकटक मोनेटाइज युरोप र अमेरिकाबाहेक अन्य राष्ट्रमा हालसम्म मिल्दैन।

४. टिकटक लाइभ : टिकटक लाइभ माथिका अन्य विकल्पभन्दा सजिलो तरिका हो। टिकटक लाइभ बस्नका लागि यसको प्रयोगकर्ताको अकाउन्टमा हजार फलोवर्स हुनुपर्ने नियम छ। १ हजार फलोवर्स भएपछि टिकटकमा लाइभ बस्ने मिल्ने सुविधा उपलब्ध हुनेछ। यसमा लाइभ नै टिकटकबाट आम्दानी गर्ने एक सजिलो उपाय हो।

लाइभमा कसरी कमाइ हुन्छ ?

टिकटक लाइभमा कमाइ हुने भनेको लाइभ बस्दा प्रस्तोतालाई प्रयोगकर्ताले गिफ्ट दिने गर्छन्। गिफ्ट दिँदा प्रस्तोतालाई आउने गिफ्टलाई डलरमा परिवर्तन गरी सो डलर झिक्न सकिन्छ। यो नै मुख्य कमाइ गर्ने माध्यम हो। लाइभ हेर्नेले खुसीले दिएका गिफ्ट नै प्रस्तोताको आम्दानीको एक प्रमुख माध्यम हो। नेपालमा लाइभ बस्नेले गर्ने कमाइ पनि सोहीअन्तर्गत रहेको छ।

कसरी दिने गिफ्ट ?

गिफ्ट दिनको लागि सर्वप्रथम क्वाइनको आवश्यकता पर्छ। क्वाइनको लागि तपाईंले डलरकार्डको माध्यमबाट अकाउन्ट रिचार्ज गर्नुपर्ने हुन्छ। नेपालमा हुनुहुन्छ भने हालसालै मात्र नेपाल राष्ट्र बैंकले डलरकार्डको सुरुवात गरेको छ। हाल नेपालमा वार्षिक पाँच सय डलरसम्म खर्च गर्न सकिन्छ। रिचार्जका १.०९ डलरको ७० क्वाइन पर्छ भने १७ हजार ५ सय क्वाइनको २ सय ४३ डलर रहेको छ। गिफ्ट दिँदा यही क्वाइनको प्रयोग हुन्छ। गिफ्ट दिन लाइभ रहेको अकाउन्टमा गएपछि तल देखिने मेनुमा जानुपर्छ।

किन दिइन्छ गिफ्ट ?

जब प्रस्तोता लाइभमा आएर बोल्न थाल्छन् त्यसपछि गिफ्ट दिनेहरू देखिन्छन्। गिफ्ट दिनेहरूको स्वार्थ भनेको प्रस्तोताले गिफ्ट दिनेको अकाउन्ट अगाडि ल्याएर फलोवर्स बढाउनु हो। टिकटक लाइभमा लाइभ हेर्नेहरूको अकाउन्टलाई अगाडि ल्याउन प्रस्तोताले गिफ्ट दिनेहरूलाई अगाडि ल्याएर गिफ्ट दिनलाई प्रोत्साहित गर्छन्। कतिपय प्रस्तोताले गिफ्ट दिनुहोस् फलोवर्स बढाइदिन्छु भनेर मागेकोसमेत देखिन्छ। गिफ्ट दिनुको मुख्य उद्देश्य फलोवर्स बढाउनु हो। नेपालबाट लाइभ बस्नेहरूलाई प्राय: विदेश बस्ने नेपालीहरूले गिफ्ट दिने गरेको देखिन्छ। गिफ्ट दिनु तपाईंको खुसीको कुरा भएता पनि यसरी आफूले विदेशी भूमिमा रगत पसिना बगाएर कमाएको डलर केही फलोअर्सको लोभमा भर्चुअल गिफ्ट पठाउनु बुद्धिमानी हो या होइन, यो बहसको विषय बन्न सक्ला।

५. कन्सल्टेसन सर्भिस : यदि तपाईं टिकटकमा प्रो हुनुहुन्छ भने टिकटकमा फ्यान फलोविङ बढाउने तिकडमहरू तपाईंलाई राम्रोसँग थाहा होला। मानिसहरूलाई टिकटकबाटै विभिन्न किसिमका परामर्श दिएर पनि तपाईंले भ्युअर बढाएर पैसा कमाउन सक्नुहुन्छ।

टिकटकमा पैसा कमाउने सबैभन्दा उत्तम विधि भनेको केही नयाँ गर्नु नै हो। ताकि तपाईंको अकाउन्ट र भिडियो सामग्रीलाई मानिसहरूले मन पराएर फ्यान फलोअर बढ्न सकोस्। फ्यान फलोविङ बढेपछि तपाईंले माथिका उपायहरू प्रयोग गरेर पैसा सजिलै कमाउन सक्नुहुन्छ।

खतरा पनि : टिकटकमा सबै राम्रो कुरा मात्र छ भन्ने पनि होइन। यसको नकारात्मक पाटो पनि छ।

  • गुगल प्ले स्टोरमा भनिएको छ कि यो एप केवल १३ वर्षमाथिकाले मात्र चलाउन पाउँदछन्। यद्यपि, यो नियम पालना भएको देखिँदैन। बच्चाहरूलाई पनि टिकटकमा भिडियो बनाएर राख्ने गरिएको छ।
  • गोपनीयताको कुरा गर्ने हो भने टिकटक निकै असुरक्षित र खतरनाक छ। किनकि यसमा केवल दुई वटा प्राइभेसी सेटिंग्स गर्न सकिन्छ: पब्लिक र वन्ली। अर्थात् भिडियो देख्नेहरूमा कुनै छनौट गर्न सकिँदैन। या त तपाईंले आफ्नो भिडियो आफैँले मात्र हेर्ने, या त दुनियाँ सबैलाई देखाउने।
  • यदि कोही प्रयोगकर्ता आफ्नो टिकटक अकाउन्ट डिलिट गर्न चाह्यो भने पनि आफ्नो मनलाग्दी गर्न सक्दैन। यसका लागि उसले टिकटकसँग अनुरोध गर्नुपर्दछ।
  • टिकटक पूर्ण रुपमा सार्वजनिक भएको हुँदा कसैले पनि टिकटकमा रहेको जो कसैलाई फलो गर्न सक्दछ, मेसेज गर्न सक्दछ। यस्तोमा कुनै आपराधिक प्रवृत्तिका मानिसले टिकटकमा सानो उमेरका बच्चा बच्ची तथा किशोर किशोरीहरूलाई गुमराहमा राख्ने खतरा हुन्छ।
  • टिकटक अकाउन्ट विभिन्न खाले अश्लील सामाग्रीहरूले भरिएको छ। यसमा कुनै फिल्टर छैन। हरेक टिकटक प्रयोगकर्ताले त्यो देख्न सक्दछ।

विज्ञहरूका अनुसार टिकटकमा कुनै पनि सामाग्रीको बारेमा उजुरी गर्ने माध्यम नभएको हुँदा यो सुरक्षा र गोपनीयताको दृष्टिकोणले निकै खतरनाक हुनसक्छ। यस्तोमा टिकटक इन्टरनेटमा अरूको खिल्ली उडाउने वा दुर्व्यवहार गर्ने अर्थात् साइबर बुलिङ्गको अस्त्र बन्न सक्दछ। यसमा अरूलाई सहजै ट्रोल गर्न सकिन्छ। विज्ञहरूका अनुसार टिकटक जस्ता सोसल मिडियाले हाम्रो पूर्वाग्रह तथा मानसिकताको पर्दाफास गरिरहेका छन्। यसमा मान्छेको मजाक उडाउने चलन निकै बढेर गएको छ।