एकीकृत समाजवादीको सचिवालय बैठक जारी

ekikrit_samajbadi_sachibalaya
लोकपाटी न्यूज
10 Shares

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक बसिरहेको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकमा सरकारमा सहभागी हुने विषयमा छलफल भइरहेको बुझिएको छ।

बैठकले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको विषयमा छलफल र आवश्यक निर्णय गर्ने बताइएको छ। समाजवादीले केन्द्रमा कम्तीमा ३ वटा मन्त्रालयसहित प्रदेशको कुरा पनि प्याकेजमै टुंग्याउनु पर्ने बताएको छ। एकीकृत समाजवादी पार्टीले तीन मन्त्रालयसहित उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा प्रकाश ज्वाला र भानुभक्त जोशीलाई मन्त्री पठाउने तयारी गरेको छ।

आजको बैठकले सोही विषयलाई औपचारिकता दिने सम्भावना छ। यद्यपि भुसालको नेतृत्वमा सरकारमा जाने कि राजेन्द्र पाण्डेको नेतृत्वमा जानेबारे पार्टीभित्र बहस चलिरहेको एसका एक पदाधिकारीले जानकारी दिए। आजै बिहान पार्टी अध्यक्ष माधव कुमार नेपालसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेको थियो। नेपालसहित सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र नेता प्रकाश ज्वालाले मन्त्रालयको विषयमा प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका थिए। मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल गर्न आज बेलुका ४ बजे सत्ता गठबन्धनको बैठक बस्दैछ।