राज्यको लगानीको पर्खाइमा किम्निछडा झर्ना

लोकपाटी न्यूज
10 Shares
  • राजेन्द्र बिक

बाजुरा। बाजुराको त्रिवेणी नगरपालिका- ५ स्थित किम्नीछडा झर्ना संरक्षणको अभावमा ओझेलमा परेको छ। जिल्लाकै अग्लो झर्नाका रुपमा रहेको किम्निछडा झर्नाको संरक्षणसँगै प्रचार-प्रसार हुन नसकेपछि ओझेलमा परेको हो।

‘देशमा व्यवस्था फेरियो, दल फेरिए नेतृत्व फेरियो, तर किम्नी गाउँ र किम्नीछडा झर्ना राज्यको नजरमा कहिल्यै परेन,’ स्थानीय दीपक बुढाले गुनासो पोखे। कयौं स-साना सम्पदाहरूमा राज्यले करोडौं रकम खर्च गरेको उल्लेख गर्दै उनले बाजुराकै सबैभन्दा अग्लो रहेको किम्नीछडा झर्नाको विकासमा राज्यको ध्यान पुग्न नसकेको बताए।

भौगोलिक दृष्टिले बिकट रहेको किम्नी गाउँ र किम्निछडा झर्नामा राज्यबाट लगानी हुँदा स्थानीयको जीवनशैलीमा सकारात्मक प्रभाव पर्ने देखिन्छ। राज्यले पर्याप्त ध्यान नदिँदा पर्यटकीय क्षेत्रको बिस्तार र यस झर्नाको महत्त्व फैलाउन कठिन भएको स्थानीयको बुझाइ छ।

सदरमुकाम मार्तडीबाट दक्षिणी भेगमा पर्ने यो झर्ना समुन्द्र सतहबाट करिब ७ हजार फिट उचाइमा रहेको छ। निकै आकर्षक रुपमा झर्ने किम्नीछडा झर्ना करिब ३ सय मिटर दुरीमा झर्ने गर्दछ। किम्नि गाउँ र किम्नि झर्नाको विकास र विस्तारमा तीन वटै तहका सरकारले लगानी नगरेको अर्का स्थानीय गोरख बुढाले दुखेसो पोखे।

राज्य पक्षबाट यस झर्नाको पहिचान गरी संरक्षण गर्ने हो भने आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन सकिने र किम्निछडासँगै किम्नी गाउँको सांस्कृतिक महत्त्वलाई प्रचार गर्न सकिने स्थानीयको भनाई छ। पहिचान भई संरक्षण हुन सके एकैनासले झरिरहने मनमोहक किम्नीछडा झर्नालाले पर्यटन प्रवर्द्धनमा निकै ठूलो योगदान गर्ने विश्वास स्थानीयको छ।

यस किम्नीछडा झर्नाको संरक्षणको लागि झर्नाको वारिपारि फलामे रेलिङ र पर्यटकलाई आराम गर्न तथा घाम पानी छेक्नको लागि ठाउँठाउँमा गोलघर निर्माण हुँदा यस क्षेत्रको प्रवर्द्धन हुने देखिन्छ। साथै पर्यटकलाई वारिपारिको दृश्य अवलोकन गर्नको लागि झर्नाको बीचमा झुलुङे पुल निर्माण र पर्यटकलाई हिँडडुल गर्न सहजताको लागि रेलिङ सहितको पदमार्ग निर्माण हुन सके यस क्षेत्रका स्थानीयको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्ने अपेक्षा गरिएको छ।

किम्निछडा नजिक रहेको किम्नी गाउँ पनि राज्यको नजरमा पर्न नसकेको स्थानीयको गुनासो छ। हाल किम्नी गाउँ सडक सञ्जालसँग जोडिएको छैन। यो क्षेत्रमा आवश्यक आधारभूत विकाश पूर्वाधार निर्माण गर्नसमेत बाकी छ।