गैंडाकोटका स्वास्थ्य संस्थालाई मापदण्ड पूरा गरी सञ्चालन गर्न निर्देशन

medical check
लोकपाटी न्यूज
5 Shares

नवलपरासी। गैँडाकोटमा जनस्वास्थ्यसँग जोडिएका कतिपय फार्मेसी, क्लिनिक, मेडिकल एवं ल्याबहरु मापदण्ड पुरा नगरी सञ्चालन गरिएको पाइएको छ। गैँडाकोट नगरपालिकाले नगर क्षेत्रमा सञ्चालन गरिएका स्वास्थ्य संस्थाहरुको मंगलबार अनुगमन गरेको थियो। गैँडाकोट नगर उपप्रमुख एवं अनुगमन समिति संयोजक शान्ति कोइरालाले अनुगमनका क्रममा त्रुटि भेटिएका स्वास्थ्य संस्थालाई सचेत गराउदै मापदण्ड पूरा गरी सञ्चालन गर्न समेत सुझाव दिए।

अनुगमनका क्रममा बलेवा मेडिकल हल गैँडाकोट २ कालिगण्डकी चोकमा दर्ता नगरी सञ्चालन गरेको पाइएको छ। मापदण्ड विपरित सञ्चालनमा रहेको मेडिकललाई एक हप्ताको अल्टिमेटम दिएको छ। ७ दिनभित्र दर्ता गरेर मात्र मेडिकल सञ्चालन गर्न अनुगमन टोलीले निर्देशन दिएको हो। प्रयाप्त सरसफाइ नगरेको, स्वस्थ सेवा दिदा पालना गर्नु पर्ने मापदण्डहरु समेत पालना नगरेको भेटिएको थियो। मूल्य सूची राख्न एवं मापदण्ड पुरा गरी सञ्चालन गर्न समेत अनुगमन टोलीले सचेत गराएको छ।

त्यस्तै गैँडाकोट १ मा मौलाकालिका मेडिकल हल दर्ता नगरी सञ्चालन गरेको र मेडिकल हल सञ्चालन गर्दा आवश्यक पर्ने कागजात समेत नभएकोले तत्कालको लागि मेडिकल हल बन्द गरिएको छ। टोलीले आज मंगलबार गैँडाकोट नगरपालिका वार्ड १ र २ मा रहेका १० वाटा स्वास्थ्य संस्थाहरुको अनुगमन गरेको थियो। अनुगमनका क्रममा २ वाट मेडिकल बाहेक अरुमा भने खासै त्रुटी भेटिएको थिएन।

अनुगमनमा गैँडाकोट नगर उपप्रमुख एवं अनुगमन समिति संयोजक शान्ति कोइरा, गैँडाकोट नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेल, हेल्थ असिस्टेन्ट माधव आचार्य, आर्थिक बिकास शाखा प्रमुख देविन्द्र गौतम, प्रशासकीय अधिकृत एवं सूचना अधिकारी लिलाधर शर्मा, नेपाल स्वास्थ्य व्यवसायी संघ गैँडाकोट नगर ईकाइका अध्यक्ष इश्वरी प्रसाद घिमिरे लगायतको टोलीले अनुगमन गरेको थियो।

अनुगमनका क्रममा गैँडाकोट नगरपालिका वार्ड १ का वार्ड अध्यक्ष सुरेन्द्र प्रसाद रेग्मी र गैँडाकोट नगरपालिका वार्ड २ का वार्ड अध्यक्ष प्रकाश सापकोटाको उपस्थिति रहेको थियो। नगरपालिकामा हाल नीजि क्षेत्रबाट सञ्चालित ४ दर्जन बढी मेडिकल तथा स्वास्थ्य संस्था रहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्