कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनुपर्छ : मन्त्री बस्नेत

Mohan_Bahadur_Basnet
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनुपर्ने बताएका छन्। काठमाडौंमा शुक्रबार आयोजित जनसंख्या र विकास सम्बन्धी सम्मेलनमा उनले शिक्षा र स्वास्थ्य आधारभुत आवश्यकता भएकोले कक्षा १२ सम्मको शिक्षाको जिम्मेवारी राज्यले लिनुपर्ने बताएका हुन्।

‘शिक्षा र स्वास्थ्य आधारभुत आवश्यकता हो जनताको। यसको विकास बिना, यसको प्रगति बिना, यसको व्यवस्थापन बिना विकास सम्भव छैन व्यक्तिदेखि राष्ट्रसम्मको। अहिले म कक्षा १२ सम्म निःशुल्क पढाइ हुनुपर्छ। राज्यले जिम्मा लिनुपर्छ कक्षा १२ सम्मको पढाइ भनेर मैले धेरै वर्ष अगाडीदेखि सुरु गरेको छु,’ उनले भने।

सिन्धुपाल्चोकको ३ वटा पालिकाहरूबाट १२ कक्षासम्म निःशुल्क पढ्न पाउने व्यवस्था गरिएको उदाहरण दिँदै मन्त्री बस्नेतले देशभरका विद्यार्थीले निःशुल्क पढ्न पाउनुपर्नेमा जोड दिए। निःशुल्क शिक्षाको पक्षमा आफू निरन्तर वकालत गरिरहने पनि उनले बताए। उनले भने, ‘म संसदमा पनि बोलेको छु। मन्त्रिपरिषद्मा पनि कुरा राखेको छु। हामी शिक्षा र स्वास्थ्य संवेदनशील क्षेत्रमा काम गरिरहेका छौं।’

उनले आफूले मन्त्रीको जिम्मेवारी सम्हालेपछि १६ वर्षदेखि मन्त्रालयमा अल्झिएर बसेका विभिन्न रणनीतिहरू पास गरेको पनि बताए। मन्त्री बस्नेतले भने, ‘म आउनुभन्दा अगाडी १६ वर्षदेखि अल्झिएर बसेका विभिन्न रणनीतिहरू पास भएका थिएनन्, अब हामीले विभिन्न कार्ययोजना, रणनीति बनाएर अगाडी बढ्नका लागि मन्त्रिपरिषद्ले हामीलाई सहज बनाइदिएको छ। म आएपछि सबै खालका रणनीतिहरू पनि पास गरिसकेको अवस्था हो। अब पुरातनशैली भन्दापनि नयाँ रणनीति बनाएर अगाडी बढ्नुपर्छ।’