प्रधानमन्त्री अमेरिका र चीन जाँदै, के होलान् त मसला ?

PM_Prachanda
लोकपाटी न्यूज
11 Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि (भाद्र ३०)मा संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्क हुँदै पछि चीन भ्रमणमा जाँदैछन्। न्यूयोर्क प्रस्थान गर्नुअघि आज संसदमा प्रधानमन्त्री प्रचण्डले आफ्नो भ्रमण कार्य-तालिका र संयुक्त राष्ट्र संघको ७८ औँ महासभामा उठाउने विषयबारे जानकारी गराएका छन्।

अल्पविकसित राष्ट्र समूहको अध्यक्षको हैसियतमा प्रधानमन्त्रीले ४७ वटा मुलुकको प्रतिनिधित्व गर्दै महासभामा सम्बोधन गर्नेछन्। महासभामा आफूले नेपाली मौलिकताको लोकतन्त्र, समावेशी शासन प्रणालीको अभ्यास र समुन्नत नेपालको निर्माणमा हाम्रो प्रयासका विषयलाई विश्व समुदाय माझ उजागर गर्ने अवसर प्राप्त भएको जानकारी गराए।

प्रधानमन्त्रीले ‘दिगो विकास, जलवायु परिवर्तन, विश्वव्यापी महामारीका कारण सिर्जित स्वास्थ्य चुनौतीहरू, दिगो विकासका लक्ष्य हासिल गर्न वित्तीय प्रबन्ध लगायतका संयुक्त राष्ट्रसंघका सदस्य मुलुकहरूका साझा चासो एवं सरोकारका विषयहरूमा गहन रूपमा छलफल हुने गरी त्यहाँ सञ्चालन हुने विभिन्न उच्चस्तरीय बैठकहरूमा अल्पविकसित मुलुकहरूको समस्या गम्भीर रुपमा उठाउने’ बताए।

प्रधानमन्त्रीले ‘यस वर्ष १८ देखि २६ सेप्टेम्बरसम्म चल्ने संयुक्त राष्ट्रसंघको यस ७८ औँ महासभाको उच्चस्तरीय सत्रमा हुने  General Debatesf को विषय “Rebuilding Trust and Reigniting Global Solidarity: Accelerating Action on the 2030 Agenda and its Sustainable Development Goals towards Peace, Prosperity, Progress and Sustainability for All” रहेको छ र असोज ४ मा महासभालाई नेपालको तर्फबाट आफूले सम्बोधन गर्ने तय भएको जानकारी गराए।

नेपालले हासिल गरेका राजनीतिक उपलब्धिहरू बारे अवगत गराउने, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने नेपालको प्रयासमा अन्तर्राष्ट्रिय समुदायको सद्भाव लिने, अतिकम विकसित मुलुकबाट दिगो र स्थायी रूपमा स्तरोन्नति हुन आइपरेका चुनौतीहरू बारे विश्व समुदायको ध्यानाकर्षण गर्ने उनले बताए। अल्पविकसित समूहका सदस्य राष्ट्रहरूले झेल्दै आएका विशिष्ट चुनौतीहरू बारे आवाज उठाउने, जलवायु परिवर्तनबाट नेपाल जस्तो पर्वतीय मुलुकमा परेको गहिरो र दूरगामी प्रभावहरू लगायत नेपालका लागि चासोका विषय र प्राथमिकताहरू प्रति विश्व समुदायको ध्यानाकर्षण गराउने प्रधानमन्त्री प्रचण्डको तयारी छ।

साथै महासभाका दौरान महासचिवले आयोजना गर्नु हुने Climate Action Summit मा समेत सहभागी भई नेपालको व्यवहारिक धारण समेत राख्ने तयारी भएको उनले जानकारी गराए। ‘यस ७८ औँ महासभाको Sidelines मा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस (H E Antonio Guterres) लगायत विभिन्न मित्र राष्ट्रका राष्ट्रप्रमुख एवं सरकार प्रमुखहरूसँग द्विपक्षीय र बहुपक्षीय भेटवार्ता गर्ने गरी तयारी भइरहेको र भेटवार्ताहरूमा नेपालको राष्ट्रिय हित, पारस्परिक सहयोग र दिगो विकासका मुद्दाहरूलाई केन्द्रमा राखेर छलफल गर्ने योजना छ,’ प्रधानमन्त्रीले भने।

असोज ५ चीन औपचारिक भ्रमण

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघ ७८औँ महासभाको उच्चस्तरीय सत्र सम्बोधन गरे पश्चात् असोज ५ गते छिमेकी मुलुक जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि हाङ्गजाउ जाने कार्यक्रम छ। संयुक्त राष्ट्रसंघमा गर्ने सम्बोधन र चीन भ्रमणको तालिकाबीच अत्यन्त छोटो समय रहेका कारण न्यूयोर्कबाट सिधै छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा जानुपर्ने परिस्थिति तयार हुन गएको पनि प्रधानमन्त्रीले संसदमा स्पष्ट परे।

‘नेपाल र चीनबीच सदियौंदेखि सौहार्दपूर्ण एवं अति घनिष्ठ सम्बन्ध रहिआएको छ र हालैका वर्षहरूमा यो सम्बन्ध बहुआयामिक क्षेत्रमा अझ व्यापक र थप घनिष्ठ बन्दै गएको जनाउँदै प्रधानमन्त्रीले ‘चीन लामो समयदेखि नेपालको विकास साझेदार रहेको र नेपालको सर्वाङ्गीण विकासको प्रयासमा सहयोग गर्दै आएको छ,’ उनले भने।

नेपालको प्रधानमन्त्रीको हैसियतमा यो आफ्नो तेस्रो चीन भ्रमण हुने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यस भ्रमणले नेपाल-चीन बीच विद्यमान द्विपक्षीय  सम्बन्ध थप-उच्च र प्रगाढ हुने धारण राखे। साथै यस भ्रमणलाई नेपाल र नेपाली जनताको हित एवं नेपाल-चीन सम्बन्धलाई थप मजबुत तुल्याउन सदुपयोग गर्ने सक्दो प्रयास गरिने उनले बताए।

चीनमा के छ त कार्यक्रम ?

प्रधानमन्त्री प्रचण्डले हाङ्गजाउमा नै चिनियाँ राष्ट्रपति महामहिम सी चीनफिङ (Xi Jinping) सँग भेटघाटको कार्यक्रम छ। सोही दिन प्रधानमन्त्री प्रचण्डले १९ औँ एसियन गेमको समुद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम छ। २५ सेप्टेम्बरमा बेइजिङमा समकक्षी महामहिम ली छियाङ् (Li Qiang) सँग उनको भेटघाट तथा द्विपक्षीय वार्ताको कार्यक्रम तय भएको छ।

प्रधानमन्त्रीले कृषि तथा प्रविधिको क्षेत्रमा छोटो समय मै उच्च सफलता हासिल गरेको चीनको छोङछिङ्ग (Chongqing) महानगरपालिकामा रहेको छोङछिङ्ग एकेडेमी अफ एग्रीकल्चरल साइन्स Chongqing Academy of Agricultural Sciences लगायत विज्ञान तथा प्रविधि विकासका क्षेत्रहरूको अवलोकन गर्ने कार्यक्रम रहेको छ। छोङछिङ्गको भ्रमण पश्चात् नेपालसँग सीमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जाने र त्यहाँका उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता गरी नेपाल फर्कने कार्यक्रम रहेको भनी प्रधानमन्त्री प्रचण्डले सदनलाई जानकारी गराए।

भ्रमणका क्रममा ‘कोभिड महामारीपछि प्रधानमन्त्रीको स्तरमा हुने पहिलो उच्चस्तरीय भ्रमणले नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउनका साथै नेपालको पूर्वाधार विकास, कृषि, उर्जा, पर्यटन, स्वास्थ्य, शिक्षा लगायत विविध क्षेत्रमा छिमेकी मित्रराष्ट्र चीनबाट प्राप्त सहयोग बारे छलफल हुने कुरा जनाइएको छ। कोभिडको कारण नियमित हुन नसकेका द्विपक्षीय व्यापार नाका र परम्परागत सीमा नाकाहरू खोल्ने विषयमा समेत कुराकानी हुनेछ बताइएको छ।

संघीयता लागु भएपछिको दोस्रो आमनिर्वाचन पश्चात् बनेको सरकार प्रमुखको हैसियतमा भएको यो भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने, नेपालको चासोका विषयहरू अन्तर्राष्ट्रिय समुदाय समक्ष राख्ने एवं शान्ति, दीगो विकास, जलवायु परिवर्तन जस्ता क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग र सद्भाव हासिल गर्न सहयोगी हुने विश्वास प्रधानमन्त्रीको छ।