सुशासनको अभियानलाई तुहाउन खोज्नेहरू परास्त हुन्छन् : गृहमन्त्री श्रेष्ठ

Narayankaji_Shreth
लोकपाटी न्यूज
8 Shares

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले अघि बढाएको सुन तस्करीमा छानबिन प्रक्रियालाई आम जनताको ठूलो समर्थन रहेको बताएका छन्। गृहमन्त्री श्रेष्ठले अहिले भ्रष्टाचारी, तस्कर र अपराधीविरुद्ध अभियान चलाउँदा तिनी या तीनका संरक्षकहरू सरकार, सम्बन्धित मन्त्रालय र मन्त्रीविरुद्ध आक्रमण ढंगले प्रस्तुत गरिरहे पनि जनताको ठूलो समर्थन प्राप्त भएको भन्दै सुशासनको अभियानलाई तुहाउन खोज्ने षड्यन्त्रलाई परास्त पारिने उल्लेख गरे।

देशमा भइरहेको सुन तस्करी प्रकरणमा सीआईबीले गरेको छानबिन एक हदसम्म सफल भएको उनले बताए। गृहमन्त्री श्रेष्ठले तस्करीका घटनालाई अन्त्य गर्नको लागि सहमतिअनुसार आयोगको समेत घोषणा भइसकेको बताए।

हेटौंडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘देशमा भइरहेको सुन तस्करीको घटनामा सीआईबीले छानबिन गरेर एउटा हदसम्म सफल बनाएर अदालतमा पुर्‍याइसकेको छ। बाँकी अनुसन्धानलाई पनि खुला राखेर छानबिन भइरहेको छ। यस्ता खालका तस्करीका घटना पटक पटक किन दोहोरिइराख्या छ भन्नको निम्ति सहमतिअनुसार नीति निर्माण, संरचनाबारे, यसअघिका भएका छानबिनमाथि पनि अध्ययन गरेर थप अनुसन्धानको आवश्यकता भए कारबाहीको सिफारिस गर्न आयोग पनि घोषणा गरिसकिएको छ।’

गृहमन्त्री श्रेष्ठले सरकारले नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरणका दोषीलाई पनि कारबाहीको प्रक्रिया अघि बढाएको जानकारी दिए।