नयाँ ऋण जारी हुने क्रम बढेसँगै सुस्त दरमा सुधार

nepal-rastra-bank
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। चालु आर्थिक वर्ष २०८०/८१ को दुई महिना भित्र मात्रै ३ हजार ८ सय ८७ वटा नयाँ ऋण जारी भएको राष्ट्र बैकले जनाएको छ। वैकका अनुसार– अघिल्लो चार वर्षको वार्षिक औसत एक लाख ३२ हजार नयाँ ऋण जारी भएकोमा गत आर्थिक वर्ष २०७९/८० मा मात्रै १६ हजार एक सय ६९ नयाँ ऋण जारी भएको थियो।

यस वर्ष २३ हजार एक सय ४२ हराहारी मात्रै नयाँ ऋण थपिने अनुमान छ राष्ट्र बैंकको छ। केही वर्षयता वार्षिक एक लाख वटा नयाँ ऋण जारी भइरहेकोमा गत वर्षदेखि यो क्रम सुस्त देखियो। चालु आर्थिक वर्ष २०८०/८१ ले भने गत वर्षको सुस्त दरलाई गतितर्फ लैजाने सकेत देखाएको छ।राष्ट्र बैंकले सार्वजनिक गरेको दुई महिनाको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को दुई महिना (साउन र भदौ)मा ३ हजार ८ सय ८७ नयाँ ऋण थपिएर ऋणी खाता संख्या १८ लाख ४९ हजार ७० पुगेको छ। ऋण जारी हुँदा हरेक ऋण अनुसार ऋण खाता पनि खोलिएको हुन्छ।

data

यसअघिका वर्षहरूमा जसरी उच्च दरमा ऋण जारी नभए पनि गत वर्षभन्दा ऋण विस्तार धेरै हुने राष्ट्र बैंकको प्रक्षेपण छ। राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा यस वर्ष ११.५ प्रतिशतले कर्जा विस्तार हुने प्रक्षेपण गरेको छ। ’पहिले जसरी नै कर्जा विस्तार यसपटक नहोला तर कर्जा विस्तारमा सुधार भइरहेको छ,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठले भने, ’ऋण खाता खोल्ने बन्द हुने भइरहन्छ, त्यसैले यो संख्याले भन्दा पनि कर्जा लगानी रकमलाई आधार मानेर हेर्नुपर्ने वताए।

चालु आर्थिक वर्षको दुई महिनामा कर्जा लगानी भने ३४ अर्ब रूपैयाँले बढेको छ। गत आर्थिक वर्ष ४८ खर्ब ७७ अर्ब रूपैयाँ बराबरको कर्जा भएकोमा चालु आर्थिक वर्षको दुई महिनामा ४९ खर्ब ११ अर्ब रूपैयाँ पुगेको छ। दुई महिनामा कर्जा ०.६९ प्रतिशतले मात्रै बढेको हो। चालु आर्थिक वर्षको पहिलो महिना साउनमै कर्जा लगानी गत आर्थिक वर्षको अन्त्यको तुलनामा १६ अर्ब ५५ करोड रूपैयाँले घटेको थियो। दोस्रो महिना भदौमा भने साउनको तुलनामा कर्जा लगानी ५० अर्ब ६८ करोड रूपैयाँले विस्तार भएको छ।

हुनतः असोजमा पनि कर्जा लगानी लगभग ४० अर्ब रूपैयाँले विस्तार भएको देखिएको छ। असोज २३ गतेसम्म राष्ट्र बैंकको वेबसाइटमा राखिएको विवरण अनुसार भदौको तुलनामा कर्जा लगानी ४० अर्बले बढेर ४९ खर्ब ५१ अर्ब रूपैयाँ पुगेको छ। आगामी दिनमा यही दरमा कर्जा विस्तार भएमा भने यो वर्ष करिब ५ खर्ब हाराहारी कर्जा लगानी विस्तार हुनसक्छ। पछिल्लो समय उच्च दरमा पुगेको कर्जाको ब्याजदरमा पनि सुधार भइरहेको छ। भदौमा कर्जाको औषत ब्याजदर १२.२३ प्रतिशत छ। गत माघ, फागुनमा कर्जाको औसत ब्याजदर १३.०३ प्रतिशतसम्म पुगेको थियो।

बैंकहरूले कात्तिकमा निक्षेपको ब्याजदर घटाएका छन्। यसले आगामी दिनमा कर्जाको ब्याजदर थप घट्न सक्ने सम्भावना रहन्छ। कात्तिकमै पनि कतिपय बैंकले कर्जा जारी गर्दा लिने ब्याजदरमा लाग्ने प्रिमियम केही कम गरेका छन्। आधारदरमा ६ प्रतिशतसम्म प्रिमियम लिन थालेको बैंकहरूले पछिल्लो दुई महिना यता अधिकतम ५ प्रतिशत लिइरहेका छन्। धेरै वाणिज्य बैंकले भने अधिकतम प्रिमियम दर समेत ४ प्रतिशतमा सीमित पारेका छन्।

पछिल्लो समय बैंकहरूले एक आपसमा लिने अन्तर बैंक सापटीको ब्याजदर १.९९ प्रतिशत हाराहारी आएको छ। बैंकहरूको कर्जा निक्षेप अनुपात पनि घटेर ८१.८१ प्रतिशत पुगेको र अहिले बैंकहरूसँग करिब पाँच खर्ब हाराहारी कर्जा लगानी योग्य रकम भएको उल्लेख छ। केही बैंकलाई भने तरलता समस्याको कारण कर्जा लगानी योग्य रकम भएपनि समस्या रहेको बैंकहरूले बताउँदै आएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्