एनआरएनएको निर्वाचन रद्द गर्न माग गर्दै निवेदन

NRN
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को सम्पूर्ण निर्वाचन प्रक्रिया रद्द गरी पुनः चुनाव गराउन माग गर्दै प्रमुख निर्वाचन अधिकृत समक्ष निवेदन दिइएको छ। अध्यक्षका उम्मेदवारहरु आरके शर्मा र महेश श्रेष्ठले शुक्रवार प्रमुख निर्वाचन अधिकृत यादव प्रसाद ढुंगानासमक्ष निवेदन दिएका हुन्।

विद्युतीय प्रणालीबाट भएको निर्वाचनमा गम्भीर त्रुटि हुनुका साथै मतदाताको मत जस्ताको तस्तै प्रतिविम्बित नभै वाह्य हस्तक्षेपबाट मतदाताको अभिमत मत फरक पारिएको पाइएकोले गैरकानुनी निर्वाचन प्रक्रियालाई रद्द गरेर पुनः निर्वाचन गर्न माग गरिएको छ।

यसको बोधार्थ संघको सचिवालय र परराष्ट्र मन्त्रालयसमेतलाई दिइएको छ। एनआरएनएको गएराति सार्वजनिक नतिजाअनुसार अध्यक्षमा बद्री केसी निर्वाचित भएको घोषणा गरिए पनि दुई उम्मेदवारले धाँधलीको आरोप लगाउँदै मत परिणाम अस्वीकार गरेका हुन्।

महासचिवका उम्मेदवार रहेका बुद्धि सुवेदीले निर्वाचन अपेक्षा गरेअनुसारको नभएको र भेरो भोटिङ अनलाइन कम्पनी रसियन कम्पनी भएको र अस्टे«लियामा दर्ता रहेको तर यो कम्पनीले ह्याक गरेर नतिजा निकाल्ने भएकाले विश्वास नलागेको बताए।

अमेरिकामा पनि यस्तो नतिजा आएकाले धेरै विवाद नगरेपनि अहिले प्रमाणित भएको बताए। महासचिवका उम्मेदवार सुवेदीले यस नतिजाले ८० लाख गैर आवासीय नेपाली भएको संस्थाले विश्वास गुमाएको बताए।

उनले उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेलको मत नेपालबाट खसेको शुन्य मत रहेकाले पनि प्रमाण स्वतः सिद्ध हुने बताए। उनले साइबर क्राइममा समेत यस विषयमा निवेदन हालेको बताए। उनले परराष्ट्र मन्त्रालयले पछिल्लो आफ्नो जानकारीअनुसार निर्वाचन प्रक्रियालाई स्थगत गर्नु र मान्यता नदिनु भन्ने परिपत्र गरेको उल्लेख गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्