प्रदेश सरकार र उद्योग वाणिज्य महासङ्घबिच लगानीसम्बन्धी सम्झौताः सुदूरपश्चिम

लोकपाटी न्यूज
4 Shares

काठमाडौँ। सुदूरपश्चिम प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घबिच लगानी प्रवर्द्धन र विकासका गतिविधि सञ्चालनका लागि सहकार्य गर्ने विषयमा समझदारी भएको छ । आज महासङ्घमा आयोजित एक कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

समझदारीअनुसार प्रदेश सरकार र महासङ्घले सुदूरपश्चिम प्रदेशमा लगानी प्रवर्द्धन गर्न र प्रदेशको आर्थिक विकास एवम् समृद्धिमा योगदान पु¥याउन सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ । सोही अनुसार प्रदेश सरकार र महासङ्घको संयुक्त आयोजनामा आगामी २०८० साल फागुन २३ र २४ गते सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन आयोजना गरिनेछ । उक्त सम्मेलन सफल पार्न महासङ्घको सम्पूर्ण संयन्त्रले काम गर्ने महासङ्घ अध्यक्ष ढकालले प्रतिबद्धता जनाएका छन्।

अध्यक्ष ढकालले भारत र चीनमा ‘बिजनेस समिट’ आयोजना गरेको र त्यहाँबाट सोधपुछ हुन थालेको अवस्थामा प्रदेशमा पनि लगानी सम्मेलन आयोजना गर्न लागिएको बताए । महासङ्घको तेस्रो कार्यकारिणी समिति बैठकले सबै प्रदेशमा लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको थियो । सोही सन्दर्भमा सुदूरपश्चिम प्रदेश सरकारसँग पहिलो सम्झौता भएको हो । यसले प्रदेशमा आर्थिक विकासका लागि सहयोग पुग्ने अध्यक्ष ढकालले बताए।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले महासङ्घसँगको सहकार्यमा निर्धारित लगानी तथा विकास सम्मेलन प्रभावकारी हुने र सुदूरपश्चिममा लगानी आउनेमा विश्वास व्यक्त गरेका छन् । सो अवसरमा उनले प्रदेश सरकार लगानी सहजीकरणका लागि सहयोगी रहने प्रतिबद्धता व्यक्त गरे ।

सुदूरपश्चिम प्रदेश सरकारका अर्थ तथा योजना मन्त्री नरेश शाहीले सुदूरपश्चिममा लगानीको पर्याप्त अवसर भएको तर लगानी आउन नसकेको अवस्थामा प्रदेश सरकारले सहजीकरण गर्ने बताए । आगामी सम्मेलनले पनि यसमा सहयोग पुग्ने उनको भनाइ छ ।

कार्यक्रममा महासङ्घका उपाध्यक्ष द्वय हेमराज ढकाल एवं ज्योत्स्ना श्रेष्ठ र महासङ्घ लगानी तथा विदेश मामिला फोरमका सभापति मनोज पौडेलले सहकार्य र सम्झौताको औचित्यमाथि धारणा राखेका थिए । महासङ्घले लगानी सम्मेलनका लागि अन्य प्रदेश सरकारसँग पनि छलफल गरिरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्