नेपाल यूएई विरुद्ध ५ विकेटले विजयी

लोकपाटी न्यूज
5 Shares

काठमाडौँ । काठमाडौँमा जारी त्रिकोणात्मक टी-२० शृङ्खलामा नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको छ ।

यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर १९.२ ओभरमा भेटाएको हो ।

नेपालका लागि आशिफ शेखले २ छक्का र ६ चौका मद्दतमा ६२ रनको योगदान गरे । कप्तान रोहित पौडेल ४७ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरी १५ बलमै एक छक्का र ६ चौका प्रहार गर्दै ४० रनमा अविजित रहे ।

आजको खेलमा आशिफ बाहेक पहिलो क्रमका ब्याट्सम्यान भने चलेनन् ।

यूएईका मोहम्मद जवादुल्लाहले २ र अकिफ राजाले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ७ विकेट गुमाएर १६४ रन बनाएको थियो ।

यूएईका लागि वृत्य अरविन्द र बासिल हमीदले समान ४५ /४५ रन बनाए । यस्तै आसिफ खान १८, खालिद शाह १२, अलिशान शराफु ९, अल नासिर ९ र मोहम्मद वासिम ८ रन बनाएर आउट भए । निलान्स केश्वानी ८ र अकिफ राजा ५ रनमा अविजित रहे ।

नेपालका सोमपाल कामी र अविनाश बोहोराले २/२ विकेट लिए भने करण केसी र गुल्शन झाले एक/एक विकेट लिए ।

नेपालले यसअघि भएको पहिलो खेलमा युएईलाई सात विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो । त्यस्तै नेपालले तेस्रो खेलमा हङकङलाई ७९ रनले पराजित गरेको थियो ।

अब नेपालले यूएई र हङकङमध्ये एकसँग फाइनल खेल्नेछ ।