मिथ्या सन्देशले समाज दूषित पार्दै छ, सचेत होऔं : उपाध्यक्ष भुसाल

Pamfa_Bhusal
लोकपाटी न्यूज
9 Shares

ललितपुर। नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले सूचना प्रविधिको दुरुपयोगलाई सरकारले नियमन र नियन्त्रण गरेर समाजलाई दूषित हुनबाट जोगाउनुपर्ने बताएकी छन्। पछिल्लो समय प्रविधिमार्फत प्रवाह गरिने भ्रामक र मिथ्या हुने सन्देशले समाज दूषित बनाइरहेको उनको भनाइ छ।

दिलबहादुर स्मृति प्रतिष्ठानद्वारा प्रकाशित पुस्तक ‘संकल्प र संघर्ष-अनवरत पाइलाहरू’को लोकार्पण कार्यक्रममा उपाध्यक्ष भुसालले भनिन्, ‘जनताको सुसूचित हुने अधिकारमा आँच नआउने गरी प्रविधिको दुरुपयोग रोक्नुपर्छ, भ्रामक र मिथ्या सन्देश प्रवाह हुन दिनु हुँदैन।’ सामाजिक सञ्जालमार्फत भइरहेका अनर्गल प्रचारले समाज विकास र राजनीतिक व्यवस्था सुदृढ नहुने बताउँदै उनले र भर्चुअल माध्यमबाट हुने गरेको अराजक अवस्थालाई नियन्त्रण गर्न सबै राजनीतिक दल एकमत भएको जानकारी दिए।

लामो राजनीतिक संघर्षबाट प्राप्त उपलब्धिलाई अवमूल्यन गरिएकोप्रति असन्तुष्टि व्यक्त गर्दै उपाध्यक्ष भुसालले भनिन्, ‘पटक-पटकको संघर्ष र दशौं हजारले जीवन समर्पण गरेर ल्याएको व्यवस्थालाई समृद्ध तुल्याउने हो, अझ सुदृढ बनाउने हो, दुत्कार्ने होइन।’ उनले महत्त्वपूर्ण पुस्तक बजारमा आउँदा सही इतिहास जनतासमक्ष पुग्ने विश्वास व्यक्त गरिन्।

गोदावरी नगरपालिकाका प्रमुख एवं नेपाली काँग्रेसका नेता गजेन्द्र महर्जनले पछिल्लो समय जनतासँग जोडिएका पार्टी गलत र जनताभन्दा टाढा रहेका पार्टी राम्रो भन्ने भ्रम फैलिँदा अप्ठ्यारो अवस्था सिर्जना भएको बताए। उनले अफवाहहरूलाई नियन्त्रण गर्नका लागि परिवर्तनका लागि योगदान गर्ने राजनीतिक दल एकताबद्ध हुनुपर्नेमा जोड दिए।