मलेसियामा गैरकानुनी रूपमा बसेका नेपाली श्रमिकले जरिमाना तिरेर नेपाल फर्कन सक्ने

maleshiya
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। मलेसियामा गैरकानुनी रूपमा बसेका नेपाली श्रमिकले निश्चित रकम जरिमाना तिरेर नेपाल फर्कन सक्ने भएका छन्। एक वर्ष वा सोभन्दा माथि गैरकानुनी रूपमा बसेका नेपालीले ३१ सय रिंगेट (८७ हजार रुपैयाँ) तिरेर नेपाल फर्कन सक्ने त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ।

मलेसियन इमिग्रेसनमा आफैँ उपस्थित भई सरकारले तोकेको जरिमाना तिरेर सजिलै नेपाल फर्कने सकिने दूतावासले जनाएको छ। दूतावासका अनुसार इमिग्रेसनमा जरिमाना तिरी चेक आउट मेमो लिएर आफंैले टिकटकको व्यवस्था गरेर नेपाल फर्किनुपर्ने छ।

मलेसियामा कम्पनी छाडेर अन्यत्र कम्पनीमा गैरकानुनी रूपमा काम गर्ने क्रम बढेपछि दूतावासले कम्पनी छाडेर नभाग्न अनुरोध गरेको छ। मलेसियाको कानुनअनुसार एउटा कम्पनीका लागि नेपालबाट श्रम स्वीकृति लिएर गएको कामदारले भागेर अर्को कम्पनीमा गए त्यस्ता कामदारको भिषा नलाग्ने नियम रहेको दूतावासका द्वितीय सचिव प्रेमबहादुर बुढाथापाले बताए।

पछिल्लो समय मलेसिया गैरकानुनी कामदारमाथि धडपकड तीव्र पारेको भन्दै सचिव बुढथापाले गैरकानुनी रूपमा नबस्न अपिल गरेका छन्। दूतावासको तथ्यांकअनुसार कोभिड–१९ पश्चात् अहिलेसम्म मलेसिया आएका नयाँ नेपाली कामदारको संख्या १ लाख ७५ हजारको हाराहारीमा रहेको छ।

मलेसिया आउने नेपालीको संख्या बढेसँगै गैरकानुनी रूपमा काम गर्नेको संख्या पनि उच्च रहेको भन्दै गैरकानुनी नबन्न र कम्पनी छोडेर नभाग्न दूतावासले अनुरोध गरेको छ। गैरकानुनी रूपमा बसेकाले बिरामी परेमा अस्पतालले भर्ना लिन नमान्ने, सामाजिक सुरक्षा कोष (सोक्सो)ले सहयोग नगर्ने तथा इमिग्रेसनले पक्राउ गरेको अवस्थामा करिब तीन महिनासम्म जेल कैद सजाय हुने र जेल सजायपछि डिपोर्ट गरिदिने व्यवस्था छ। यो समाचार राजधानी दैनिकमा छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्