‘फिस्टेल स्पोर्टस् फेस्ट’का लागि ६ विद्यालय छनोट

लोकपाटी न्यूज
3 Shares

पोखरा। ‘फिस्टेल स्पोर्टस् फेस्ट’मा ६ विद्यालय छनोट भएका छन्। फिस्टेल एकेडेमी माध्यमिक विद्यालयले आयोजना गर्न लागेको ‘फिस्टेल स्पोर्टस् फेस्ट’को लागि मंगलबारसम्म सञ्चालन गरिएको छनोट खेलहरुबाट ६ विद्यालय छनोट भएका हुन्। ‘फिस्टेल स्पोर्टस् फेस्ट’को उद्घाटनपूर्व नै दुई दिन प्रथम चरणका खेलहरू सञ्चालन गरिने विद्यालयले जनाएको छ।

विद्यालय स्थापनाको २९ औँ वार्षिकोत्सवको अवसरमा पुस पाँचदेखि सात गतेसम्म ‘फिस्टेल स्पोर्टस् फेस्ट’ आयोजना गरिदैछ। विभिन्न विद्यालयहरूलाई समेटेर खेलकुद कार्यक्रम ‘फिस्टेल स्पोर्टस् फेस्ट’ सञ्चालन गरिएको फिस्टेल एकेडेमीले जनाएको छ। मंगलबार भएका खेलहरूमा अक्सफोर्ड र शान्तिनिकुञ्ज स्कुलबिच भएको खेलमा टाई ब्रेकरमा ३/२ गोलसहित शान्तिनिकुञ्ज स्कुलले जित हासिल गरेको छ।

यसैगरी दोस्रो खेलमा बालकल्याण र युनिभर्स स्कुलबिच भएको खेलमा २/० गोलसहित बालकल्याण स्कुल अगाडि बढ्दा विन्ध्येश्वरीलाई शून्यका विरुद्ध चार गोल गरी कालिकाले आफ्नो यात्रा सुरक्षित राखेको छ। शिशुकल्याण र बालोदयबिच भएको खेलमा बराबरी ४/४ गोल भएपछि टाई ब्रेकरबाट ३/२ गोलसहित शिशुकल्याणले स्थान सुरक्षित गर्‍यो।

यसैगरी १४ वर्षमुनिको लन टेनिसतर्फ भएका पहिलो चरणका खेलमा गण्डकी बोर्डिङ स्कुलका प्रफुल श्रेष्ठले फिस्टेल एकेडेमीका प्रसिद्ध पराजुलीलाई ६-०, ६-१ को सोझो सेटले पराजित गरी आफ्नो यात्रा सुरक्षित राखे। यस्तै १२ वर्षमुनिको दोस्रो खेलमा फिस्टेल एकेडेमीका सुवान केसीले फिस्टेल एकेडेमीकै जेनिश ढकाललाई ६-१, ६-१ को सोझो सेटमा पराजित गरे। यसैगरी १६ वर्षमुनिको तेस्रो खेलमा फिस्टेल एकेडेमीका सृजन भट्टराईले गण्डकी बोर्डिङ स्कुलका प्रफुल श्रेष्ठलाई ६-०, ६-० को सोझो सेटमा पराजित गरे।

हेम्जा बोर्डिङ स्कुल र पोखरा स्पाइरलबिचको खेलमा हेमजा बोर्डिङ स्कुलले उपस्थिति नजनाएपछि पोखरा स्पाइरल अगाडि बढेको छ भने भद्रकाली र छोरेपाटन स्कुलको खेलमा पनि भद्रकाली स्कुल सहभागी नभएपछि छोरेपाटन मावि स्वतः अर्को चरणमा छनोट भएको छ। बुधबार पनि फुटबलका छ खेलहरू, बास्केटबल छात्रछात्रा र लन टेनिसका विभिन्न खेलहरू सञ्चालन हुने कुरा विद्यालयका सहप्राचार्य कमल लामिछानेले जानकारी गराए।

खेलकुद कार्यक्रममा फुटबलतर्फ २८ स्कुल सहभागी रहेका छन् भने छात्रछात्रा बास्केटबल र लन टेनिसका खेलहरू पनि रहेका छन् । फुटबल तथा बास्केटबल खेलमा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः ७५ हजार, ३५ हजार र २० हजार नगद पुरस्कारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने कुरा विद्यालयका संस्थापक अध्यक्ष चिनु रानाभाटले जानकारी दिए।