संघले प्रदेश सरकारलाई अधिकार दिन आनाकानी गर्‍यो : मुख्यमन्त्री कार्की

Kedar_Karki
लोकपाटी न्यूज
5 Shares

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन र संविधान कार्यान्वयनका लागि पत्रकारको अहम् भूमिका रहेको बताएका छन्।

मुख्यमन्त्री निवासमा नेपाल पत्रकार महासंघ कोशी प्रदेश कार्यसमितिसँग आज भएको भेटघाट एवं छलफलमा उनले प्रदेश सरकारले प्रादेशिक सरकारको दोस्रो कार्यकालमा अहिले आएर प्रदेश सरकारका अधिकारका बारेमा बहस चलेको र यसमा देशका समग्र पत्रकारहरूको भूमिका रहने स्पष्ट गरेका हुन्।

मुख्यमन्त्री कार्कीले यस विषयमा बहस चलाउन नेपाल पत्रकार महासंघसँग आग्रहसमेत गरे। उनले प्रदेशलाई अधिकार सम्पन्न बनाउन कानुन नबनाउने तर प्रदेशप्रति सार्वजनिक अभिव्यक्ति दिएर प्रश्न उठाउने संघीय सांसदमाथि पनि सञ्चारकर्मीले प्रश्न गर्नुपर्ने बताए। संघीय सरकारले प्रदेशलाई अधिकार दिने काममा ढिलाइ गरेको पनि बताए।

उनले भने, ‘संघले प्रदेश सरकारलाई अधिकार दिन आनाकानी गर्नु भनेको प्रदेशका जनतालाई सेवा, सुविधा र उनीहरूले प्राप्त गर्न पाउने लाभबाट वञ्चित गर्न खोज्नु जस्तो हो।’ प्रदेश सरकार सधैँ प्रेस स्वतन्त्रताको सम्मान गर्दै पत्रकार महासंघको भौतिक संरचना विकासमा लाग्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।