मुम्बई विमानस्थलबाट दुई महिलासहित ८ नेपाली पक्राउ

mummai airport
लोकपाटी न्यूज
2 Shares

मुम्बई। भारतमा दुई महिलासहित आठ जना नेपाली नागरिक पक्राउ परेका छन्। नक्कली श्रम स्वीकृति बोकेको पाइएपछि उनीहरूलाई मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो।

मुम्बई हुँदै कुवेत र यूएई जान लागेका उनीहरूको साथमा रहेको श्रम स्वीकृति नक्कली रहेको अध्यागमनका कर्मचारीहरूले पत्ता लगाएका थिए। पक्राउ पर्ने दुई महिलामा २२ वर्षीया माइली बोमजन र ३२ वर्षीया भगवती डांगी रहेका छन्। उनीहरूलाई शनिबार पक्राउ गरिएको भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाले जनाएको छ।

अध्यागमनका अधिकारीहरूलाई शङ्का लागेर उनीहरूको दस्ताबेज जाँच गरिएको थियो। उनीहरूको साथमा रहेको दस्ताबेजबारे नेपालको श्रम मन्त्रालयसँग बुझ्दा त्यो नक्कली रहेको पुष्टि भएको साहर प्रहरी थानाका एक अधिकारीले बताएका छन्। ती अधिकारीका अनुसार मन्त्रालयले ईमेलमार्फत ती दस्ताबेज नक्कली रहेको जवाफ पठाएको थियो।

पक्राउ पर्नेमा ३० वर्षीय राजकुमार तामाङ, १९ वर्षीय रुपल खड्का, २० वर्षीय अरुण खड्का, १९ वर्षीय करण बोहरा, २० वर्षीय सुजन बोहरा र २८ वर्षीय दीपेश लामिछाने रहेका छन्। उनीहरूको श्रम स्वीकृतिमा नाम र मिति गल्ती पाइएपछि पुनः जाँच गर्दा नक्कली पाइएको प्रहरीको भनाई छ।प्रहरीका अनुसार उनीहरू दलाललाई १५ लाख बुझाएर वैदेशिक रोजगारीका लागि यूएई जान लागेका थिए। प्रहरीका अनुसार आठ जनालाई भारतीय पेनल कोडको फरक–फरक धारामा ठगीको मामिलामा मुद्दा चलाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्