सहमति र घेराबन्दीको दोहोरो चरित्र चल्दैन : विप्लव

Biplab
लोकपाटी न्यूज
11 Shares

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफू र आफ्नो दलप्रति राज्यले देखाएको व्यवहारमा असन्तुष्टि व्यक्त गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान बसेको समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले राज्यको दोहोरो चरित्र सह्य नहुने चेतावनी दिए।

महासचिव विप्लवले सरकारले सहमति र घेराबन्दी गर्ने चित्र देखाएको आरोप लगाए। उनले सरकारसँगको सहमति र अदालतको पक्राउ पुर्जीबारे समाजवादी मोर्चामा ध्यानाकर्षण गराइएको बताए। उनका अनुसार आजै साँझ ६ बजे फेरि अर्को बैठक पनि बस्ने छ। सो बैठकले यो विषयमा थप छलफल गर्ने उनले बताए।

उनले भने, ‘सरकारले सहमति पनि गर्ने घेराबन्दी पनि गर्ने चित्रहरू देखिएका छन्। यो चाहिँ चल्दैन। यो विषयमा साँझ छलफल हुन्छ। आजै साँझ ६ बजे फेरि बैठक बस्छ।’ जिल्ला अदालत काठमाडौंले महासचिव विप्लवसहितका नेताहरूमाथि राज्यविरुद्धको कसुरमा पक्राउ पूर्जी जारी गरेको छ। अदालतले जारी गरेको सूचनामा राज्यविरुद्धको कसुरमा उनीहरूलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ।

उनले सरकारसँगको सहमति र अदालतको पक्राउ पुर्जीबारे समाजवादी मोर्चामा ध्यानाकर्षण गराइएको बताए। मोर्चाको बैठकमा देशको परिस्थिति, समाजवादी मोर्चा, आगामी कामको बारेमा छलफल भएको उनले जानकारी दिए। बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष, माधव नेपाल, महासचिव घनश्याम भुसाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, जसपाका अध्यक्ष उपेन्द्र यादव, माओवादी केन्द्रका महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल लगायतका नेता सहभागी भएका थिए।