मुलुकका पर्यटकीय स्थलको विश्वबजारमा प्रवर्द्धन गर्नुपर्छ : राष्ट्रपति

Ramchandra_Paudel
लोकपाटी न्यूज
7 Shares

गलकोट। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने भएकाले त्यसमा लगानी गर्न उद्यमी-व्यवसायीहरुलाई आग्रह गरेका छन्। उनले भने, ‘विश्व पर्यटन बजारमा नेपालका पर्यटकीय स्थलको प्रवर्द्धन गरी यस क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारका रूपमा स्थापित गर्न सकिन्छ।’

बागलुङ उद्योग वाणिज्य संघले आज यहाँ आयोजना गरेको सातौँ बागलुङ महोत्सवको उद्घाटन समारोहमा राष्ट्रपति पौडेलले पर्याप्त भौतिक पूर्वाधार निर्माण गरी पर्यटक भित्र्याएर आयआर्जन गर्न सकिने प्रशस्त सम्भावना रहेको बताए।

राष्ट्रपति पौडेलले मध्यपहाडी लोकमार्गको काम द्रुत गतिमा अघि बढाउन आह्वान गर्दै झोलुङ्गे पुल र बुट्टेनलीको जिल्लाका रुपमा रहेको बागलुङका पहिचानलाई व्यापक प्रचारप्रसार गरेर आम्दानी बढाउनुपर्नेमा जोड दिए। उनले भने, ‘राजनीतिको उर्भरभूमिका रुपमा रहेको बागलुङ आउँदा आफूलाई आफ्नै घर आएजस्तो भयो, २०४६ सालमा आन्दोलनका क्रममा चार महिना यहाँ जेलजीवन बिताएको ताजा भयो।

उनले जेलमा बसेका बागलुङका राजनीतिक व्यक्तिहरूलाई स्मरण गरेका थिए। राजनीतिक चेतनाको उर्वरभूमि मात्र होइन धौलागिरि हिमशृङ्खलासहितका प्राकृतिक छटाले सुसज्जित बागलुङ वरपरका क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटकीय विकासका लागि महोत्सव आयोजना गरिएकामा राष्ट्रपतिले त्यसको सराहना गरे। सबैभन्दा धेरै विप्रेषण भित्र्याउने जिल्लाका रुपमा बागलुङले परिचय बनाएको तथा निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व जन्माएको यो जिल्लाप्रति गर्व लागेको बताए।

बागलुङको भौगोलिक विविधता र विकटतालाई पृथक र नवीन पर्यटकीय थलोका रुपमा विकास गरी नयाँ पुस्तालाई यस क्षेत्रको भ्रमणको लागि प्रेरित गर्नु आजको आवश्यकता भएको राष्ट्रपति पौडेलले बताए। उनले ढोरपाटन पर्यटन र शिकारका लागि प्रख्यात क्षेत्र भए पनि धेरै पर्यटक आकर्षित गर्न नसकेको भन्दै यसको प्रचारप्रसारमा विशेष ध्यान दिन सुझाए।

बागलुङका कृषि उपज र जडीबुटीलाई प्रदेश सरकारले प्रवर्द्धन गर्नुपर्नेमा जोड दिँदै यिनको विकासमा उद्योगी- व्यवसायीलाई उत्प्रेरित गर्नुपर्ने राष्ट्रपतिले बताए। महोत्सवका माध्यमबाट जडीबुटीको प्रवर्द्धनमा योगदान पुगेको विश्वास उनले व्यक्त गरे।