दोषी जोसुकै भएपनि सजायको भागीदार हुनैपर्छ : मन्त्री गुरुङ

Dhanraj_Gurung
लोकपाटी न्यूज
7 Shares

वालिङ। कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भ्रष्टाचारसम्बन्धी छानबिन निष्पक्ष ढंगले हुनुपर्ने बताएका छन्। भ्रष्टाचारलगायतका विभिन्न विषयमा ठूला मान्छे जोडिएपछि छानबिन फितलो हुने गरेको भन्दै उनले यसलाई अझ दरिलो तरिकाले अगाडि बढाउनुपर्नेमा जोड दिएका हुन्।

वालिङमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले छानबिन प्रक्रियाप्रति आफू पूर्णरुपमा सन्तुष्ट नरहेको बताएका हुन्। ‘भ्रष्टाचार, तस्करी, सुनकाण्डलगायतका विषयमा जब छानबिन सुरु हुन्छ तब ठूला मान्छेको नाम जोडिन्छ अनि निष्कर्षमा पुग्न नपाउँदै रोकिन्छ, यो प्रवृत्तिको अन्त्य हुनुपर्छ, दोषी जोसुकै भए पनि सजायको भागीदार हुनै पर्छ,’ उनले भने।

मन्त्री गुरुङले गठबन्धनमा रहेका पार्टीको स्वीकृतिमा प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनः गठन गर्न सक्ने बताए। मन्त्रीहरूको कामको मूल्यांकन, पार्टीको स्वीकृतिमार्फत मन्त्रिपरिषद् पुनः गठन हुनसक्ने उनको भनाइ थियो।

‘प्रधानमन्त्रीको सोचअनुसार काम गर्न सक्ने मन्त्रिमण्डलमा अटाउनु हुन्छ,’ उनले भने, ‘सोअनुसार काम गर्न नसक्ने बिदा हुनुहुन्छ।’ मन्त्रिमण्डल पुनः गठन गर्दा गठबन्धनमा सहभागी भएका राजनीतिक दलहरूको सहमतिबाटै हुने उनको भनाइ थियो।