कोशी प्रदेशमा मध्यावधि निर्वाचनको सम्भावना छैन : मुख्यमन्त्री कार्की

Kedar_Karki
लोकपाटी न्यूज
8 Shares

मकवानपुर। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशमा मध्यावधि निर्वाचनको सम्भावना टरेको बताएका छन्। कोशी प्रदेशमा वर्तमान सर्वदलीय सरकार नै निरन्तर चल्ने र आवश्यक विकास तथा सेवा प्रवाहको काम अघि बढ्ने उनले बताए।

हेटौँडामा आज पत्रकार सम्मेलनमा मुख्यमन्त्री कार्कीले चाँडै नै प्रदेशमा रहेका दलको सहमतिमा कोशी प्रदेश सरकारले पूर्णता पाउने जानकारी गराए। केही समयअघि जारी भएको बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा दलले दिएको समर्थनले प्रदेशमा क्रियाशील सबै दलको सहमतिमा पुष्टि गरेको उनको भनाइ छ।

संघीयता कार्यान्वयनको सवालमा कोशी प्रदेश सरकारले अगुवाइ गर्ने उनले बताए। संघीयता कार्यान्वयनका सवालमा कोशी प्रदेशले सशक्त भूमिका निर्वाह गरिरहेको र प्रदेशको संवैधानिक अधिकारका विषयमा आफू मुख्यमन्त्री बन्दा भएका घटनाक्रमले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ छ। संघीय सरकार र सांसद लोकप्रियताका लागि जिम्मेवारीभन्दा बाहिरका काममा केन्द्रित भइरहेको उनले आरोप लगाए।

संघीयताले आम नागरिकको आर्थिक सामाजिक रूपान्तरणमा खेलेको भूमिकालाई संघीय सांसदले संसद्बाट अनुमोदन गर्नुपर्ने भए पनि त्यसो हुन नसक्दा वर्तमान व्यवस्थामाथि नै धावा बोल्नेको भीड बढ्न थालेको उनले बताए। संघीय सरकार र प्रतिनिधिसभालाई दबाब दिएर प्रदेश सरकारले संविधानले व्यवस्था गरेको अधिकार खोसेर लिनुपर्नेमा मुख्यमन्त्री कार्कीले जोड दिए। यसका लागि हेटौँडामा छलफल भइरहेको र छलफलले संघीय सरकार र संसद्लाई दबाबमूलक सन्देश प्रवाह हुने उनको भनाइ छ।

संघीयता कार्यान्वयनका सवालमा प्रदेश सरकारले एकजुट भएर फरक शैलीबाट अघि बढ्ने उनले बताए। ‘कोशी प्रदेशले केही हदसम्म त्यसलाई दबाब दिने र अधिकार लिने काम भएको छ। हेटौँडामा भइरहेको तहगत अधिकारको विस्तृतीकरणले फरक शैलीबाट अघि बढ्ने निर्णय गर्ने उहाँको विश्वास छ। जसले संघीय सरकार र प्रतिनिधिसभालाई दबाब दिएर अधिकार विकेन्द्रीकरणका लागि घच्घच्याउने काम गर्नेछ,’ उनले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्