एमालेको सचिवालय बैठक आज

uml-sachiwalaya pic
लोकपाटी न्यूज
10 Shares

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो बैठक बस्न लागेको हो।

बैठकमा राष्ट्रियसभा निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ। आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ मा उम्मेदवारी दर्ता समय तोकिएको छ। निर्वाचनको मिति नजिकिएसँगै दलहरूले राष्ट्रियसभाका उम्मेदवार तय गर्न छलफललाई तीव्रता दिएका छन्।

एमालेका पाँच प्रदेश कमिटीले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरी केन्द्रमा पठाइसकेको छ। मधेस र बागमती प्रदेशले उम्मेदवार सिफारिस टुंग्याउन बाँकी रहेको छ। बागमती प्रदेश कमिटीले पनि आजै उम्मेदवार सिफारिस गर्ने तयारी रहेको बुझिएको छ।

तहगत कमिटीबाट सिफारिस भएर आएका नामहरूको टुंगो लगाउने विषयमा आजको बैठकमा छलफल गरिने एमालेले जनाएको छ। त्यस्तै, बैठकमा झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्राको समीक्षा र केन्द्रीय कमिटी बैठक बोलाउनेबारे छलफल हुने सचिवालयले जनाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहीबार अपराह्न प्रदेश कमिटी पदाधिकारीहरूसँग राष्ट्रियसभा उम्मेदवार चयनबारे छलफल गरेका थिए।