बिस करोडका योजनामा नेपालको पनि निर्णय र साझेदारी रहन्छ : प्रधानमन्त्री

prachanda
लोकपाटी न्यूज
9 Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले राष्ट्रियहित प्रतिकूलका कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रतिनिधि सभा, राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उनले राष्ट्रियहित अनुकूलका सम्झौता मात्रै सरकारले गर्ने बताएका हुन्।

छलफलका क्रममा सांसदहरूले बिहीबार प्रधानमन्त्रीसँग भारतीय विदेशमन्त्री एस जयशंकरको भेट र नेपालले गरेका सम्झौताबारे जिज्ञासा राखेपछि त्यसबारे स्पष्ट गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन्। उनले भने, ‘हिजो भारतीय विदेशमन्त्रीसँग मेरो ‘वान टु वान’ र नेपाली प्रतिनिधिमण्डलसहितको भेट भएको थियो, भेटमा मैले नेपालको राष्ट्रियहित र विद्युत् व्यापार सम्झौताबारे नै कुरा गरेको छु, विद्युत् व्यापार सम्झौता नेपालको राष्ट्रियहितमा छ, नेपालले १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने सम्झौता भएको छ।’

बिस करोडसम्मका परियोजनामा भारत एक्लैले निर्णय नगर्ने भन्दै प्रधानमन्त्री प्रचण्डले यसमा नेपालको पनि निर्णय र साझेदारी रहने स्पष्ट पारे। उनले भने, ‘मुख्य कुरा जसले उत्पादन गरेको भए पनि १० वर्षमा १० हजार मेगावाट विद्युत् भारतले किन्ने सम्झौता भएको छ, अरू कुनै भ्रम राख्न जरुरी छैन, सम्झौताको कार्यान्वयन पनि नेपालको राष्ट्रिय हितअनुरूप नै हुन्छ।’

भारतीय विदेशमन्त्रीले चिनियाँ प्रतिनिधिको नेपाल भ्रमणबारे चासो राखेका रहेछन् नि भन्ने सांसदहरूको प्रश्नलाई जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यसबारे उहाँले ‘वान टु वान’ र संयुक्त भेटमा पनि एक शब्द उच्चारण गर्नुभएन, त्यो बाहिर आएको भ्रम र प्रचार मात्र हो, त्यसमा कुनै सत्यता छैन।’

प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमा सकेसम्म सर्वसम्मतिमा जोड दिइएको उल्लेख गर्दै संवैधानिक नियुक्तिमा विगतमा देखिएका बेथिति र समस्या निवारण गर्न संशोधन विधेयक ल्याइएको बताए।