अधिकारका लागि आवाज उठाएको आरोपमा आठ सय महिला जेलमा

Jail
लोकपाटी न्यूज
8 Shares

एजेन्सी। अफगानिस्तानमा तालिबानद्वारा महिलाहरूमाथि विभिन्न प्रकारका हिंसा तथा अत्याचार, आधारभूत अधिकारको दमनसहित कम्तीमा ८०० महिलालाई अफगानी कारागारमा राखेको टोलो न्युजले जनाएको छ।

कारागार प्रशासन कार्यालयका उपप्रमुखका अनुसार अफगानिस्तानका कारागारहरूमा हाल आठ सय महिलासहित करिब १९ हजार कैदी छन्। फरक-फरक सजाय भोगिरहेका कैदीमध्ये धेरैमाथि अनुसन्धान भइरहेको छ।

अफगानिस्तानको केन्द्रीय कारागार प्रशासनका उपप्रमुख हबिबुल्लाह बदरले अफगानिस्तानमा अनधिकृत कारागारहरू नभएको राष्ट्रिय टिभी नेटवर्क आरटीएसँगको अन्तर्वार्तामा बताए। उनले जेलमा कैदीहरूलाई ‘यातना’ दिइने आरोपको खण्डन गरेका छन्। टोलो न्युजका अनुसार त्यहाँ कुनै यातना वा अन्य प्रकारका दुर्व्यवहार नभएको दाबी गरे।

केही सैन्य र राजनीतिक विज्ञहरूले तालिबानलाई यस बिचमा बन्दीहरूलाई शैक्षिक निर्देशनहरू उपलब्ध गराउन सुरु गर्न आह्वान गरेका छन्। राजनीतिक विश्लेषक जाहोरोल्लाह जाहिरले बन्दीहरूका लागि शिक्षा धेरै महत्त्वपूर्ण भएको बताउँदै उनीहरूलाई विभिन्न सीप पनि उपलब्ध गराउनुपर्ने बताएको टोलो न्युजले उल्लेख गरेको छ।

तालिबानले सन् २०२१ को अगस्टमा सत्ता कब्जा गरेपछि महिला अधिकारको हनन नगरिने प्रतिबद्धताको बाबजुद, उच्च शिक्षामा प्रतिबन्ध लगाउनु र समाजमा महिलाको भूमिका सीमित गर्न तालिबान प्रशासनले लिएको गैर-जिम्मेवारीपूर्ण कदम हो। अगस्ट २०२१ पछि तालिबान प्रशासनले छ कक्षाभन्दा माथिका छात्राहरूलाई विद्यालयमा जान प्रतिबन्ध लगाई महिलाहरूलाई पुरुष संरक्षकसँग मात्र यात्रा गर्नुपर्ने कडा नियम लगाएको छ।

तालिबानहरूले सौन्दर्य सैलुनहरू बन्द गरे र महिलाहरूलाई घरेलु र अन्तर्राष्ट्रिय गैर-सरकारी सहायता समूहहरूसँग काम गर्नबाट रोक लगाए। पछिल्लो समय यस विषयमा अन्तर्राष्ट्रिय समुदायको असन्तुष्टि उत्पन्न भएको छ। -रासस/एएनआई

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्