ऊर्जा, पर्यटन र कृषिक्षेत्रमा लगानी गर्नुहोस् : अर्थमन्त्री महत

Prakash-Sharan_Mahat
लोकपाटी न्यूज
3 Shares

काठमाडौं। अर्थमन्त्री डा.प्रकाशशरण महतले भारत र अन्य देशका लगानीकर्तालाई नेपालमा वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनमा सहभागी हुन आमन्त्रण गरेका छन्। साथै उनले ऊर्जा, पर्यटन र कृषिक्षेत्रमा लगानी गर्न उनीहरुलाई आग्रह गरेका छन्।

भारतको गुजरातमा आयोजित भाइब्रेन्ट गुजरात ग्लोबल समिट-२०२४ मा सहभागी विभिन्न देशका राष्ट्रप्रमुख, मन्त्रीहरु र लगानीकर्तालाई सम्बोधन गर्दै मन्त्री महतले उनीहरुलाई सम्मेलनमा आमन्त्रण गरेको अर्थमन्त्रीको निजी सचिवालयले जनाएको छ। सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री महतले भने, ‘नेपालमा वैशाख १६ र १७ गते लगानी सम्मेलन हुँदैछ। यो कार्यक्रमबाट म भारतसँगै अन्य देशका लगानीकर्तालाई पनि निम्तो गर्छु। तपाईहरुको इनोभेटिभ बिजनेस आइडिया र लगानीको निर्णयले नेपालको विकासका लागि नयाँ कोसेढुङ्गा खोल्नेछ भन्ने आशा गर्दछु।’

अर्थमन्त्रीले नेपालमा ऊर्जा, पर्यटन, कृषि व्यवसाय र सूचना प्रविधिमा लगानीको ठूलो अवसर रहेको बताउँदै स्वास्थ्य, शिक्षा, उत्पादन, निर्माण र यातायात, खानी, बैंकिङ र वित्तीय सेवाजस्ता लगानीका अन्य सम्भावित क्षेत्र पनि रहेको जानकारी दिए। दिगो र समावेशी वृद्धिलाई प्रवद्र्धन गर्नका लागि व्यावसायिक सञ्जाल, ज्ञान आदानप्रदान र रणनीतिक साझेदारीका लागि यो विश्वव्यापी फोरम अब सबैका लागि एउटा फोरम भएको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २००३ मा परिकल्पना गरेको भाइब्रेन्ट गुजरात अवधारणाको प्रशंसा गर्दै उनले भने, ‘राष्ट्रव्यापीरुपमा अनुसरण भइरहेको भाइब्रेन्ट गुजरात विकास नमूना यो समयको आर्थिक, सामाजिक र वातावरणीय चुनौतीलाई सम्बोधन गर्न वित्तीय स्रोत र प्राविधिक ज्ञानको व्यवस्थापन गर्न नेपाललगायत धेरै देशका लागि प्रेरणाको स्रोत भएको छ।’

‘सन् २०१४ मा नेपालको संसदमा मोदीजीले भन्नुभएको कुराको ताजा सम्झना छ,’ मन्त्री डा.महतले भने, ‘विशेष गरी, तपाईले ‘हिट’ मा जोड दिनुभएको थियो, त्यो हो हाइवे, इन्फर्मेसन र ट्रान्समिसन लाइन। हामी यी सबै क्षेत्रमा कनेक्टिभिटी सुधार गर्न, बजार सम्बन्धलाई बलियो बनाउन र लेनदेन लागत घटाउनसँगै काम गरिरहेका छौँ भन्ने कुरा राख्न पाउँदा मलाई खुशी लागेको छ।’

उनले अगाडि भने, ‘हालै नेपाल र भारतबीच १० वर्षको अवधिमा भारतमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने दीर्घकालीन विद्युत खरिद सम्झौतामा हस्ताक्षर भएको छ। यसले नेपालमा जलविद्युतमा लगानीको ठूलो अवसर खोल्ने छ। यसले नेपालमा मात्र नभई भारतमा पनि हरित ऊर्जा सङ्क्रमण लक्ष्य हाँसिल गर्न मद्दत गर्नेछ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्