सहकारी सम्बन्धी समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

Prachanda
लोकपाटी न्यूज
10 Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी सम्बन्धी समस्या तत्काल समाधान गर्न सम्बन्धित मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन्। बालुवाटारमा बुधबार बिहान भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले उक्त निर्देशन दिएका हुन्।

उनले सहकारीलाई समाजवादको भ्रूण खडा गर्ने, सामूहिकता र तल्लो वर्गको हितमा केन्द्रित गर्नेगरी ऐनमा नै व्यवस्था हुनुपर्ने बताउँदै दीर्घकालीन र तत्कालिन उपाय अपनाएर सहकारीहरूलाई व्यवस्थित बनाउनुपर्ने बताए। उनले सहकारीको समस्या समाधानका सम्बन्धमा तत्कालिन र दीर्घकालीनढंगले आवश्यक गृहकार्य गर्न सरोकार मन्त्रालय र निकायलाई निर्देशनसमेत दिए।

प्रधानमन्त्री प्रचण्डले सहकारीको अनुगमनका लागि प्रभावकारी नियामक निकाय बनाउनुपर्ने विषयमा आफ्नो ध्यान गएको भन्दै सहकारी सम्बन्धी हाल कार्यरत नियामक संस्थाहरूलाई राम्रा, संकटमा रहेका र डुबेका सहकारीहरूको वर्गीकरण गरी प्रतिवेदन पेश गर्न निर्देशन दिए। उनले सहकारीमा बचतकर्ताले राखेको रकमको सुरक्षामा ध्यान दिन आग्रह गर्दै यसमा तिन वटै तहका सरकारको समन्वयमा प्रभावकारी कदम चाल्नुपर्ने औँल्याए।

सहकारी सम्बन्धी छलफलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ, नेपाल सरकारका मुख्य सचिव बैकुण्ठ अर्यालसहित सम्बन्धित मन्त्रालय, विभाग र निकायका अधिकारीहरू उपस्थित हुन्।