१५ वर्षअघिको हत्या घटनामा ६ जनाको नाममा पक्राउ पुर्जी जारी

Law
लोकपाटी न्यूज
3 Shares

काठमाडौं। अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहसहित ६ जनाको नाममा पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत सुर्खेतबाट गत शुक्रबार पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला अदालत सुर्खेतका सूचना अधिकारी उज्वलदेव रावलले जानकारी दिए।

१५ वर्षअघि एक युवकको हत्या अभियोगमा उनीहरूलाई पक्राउ गर्न जिल्ला अदालत सुर्खेतले अनुमति दिएको हो। २०६५ फागुन २६ गते साँझ कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको खुकुरी हानेर हत्या गरिएको थियो। सुर्खेत वीरेन्द्रनगरस्थित जनमाविमा मल्लको हत्या भएको थियो।

हत्याको अभियोगमा प्रहरी कार्यालयमा ६ जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको थियो। हत्यालगत्तै मृतकका काका नवराजले पदमबहादुर रावत ‘टाइगर’ विरुद्ध किटानी जाहेरी दिएकोमा बुबाले १४ वर्षपछि २०७९ साउन ३ गते पूरक जाहेरी दिएका थिए। किटानी दर्ता भएका ६ जनालाई पक्राउ गर्न अदालतले शुक्रबार अनुमति दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले जानकारी दिए।

उनका अनुसार अहिले घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। बुबाको किटानी जाहेरीअनुसार महावै गाउँपालिकाकी सिंहसहित, पदमबहादुर रावत, ‘गुराँस’ नाम गरेका बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालिकोटकै खाडाचक्र नगरपालिकाका ‘सुभाष’ भनिने वीरबहादुर मल्ल र ‘अशोक’ भनिने अलि कार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्