महिला विश्वकप क्रिकेट प्रतियोगिता भरतपुरमा खेलाउने इच्छा छ : प्रमुख दाहाल

Renu_Dahal
लोकपाटी न्यूज
7 Shares

चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सन् २०२७ को यू-१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता भरतपुरको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेलाउने इच्छा रहेको बताएकी छन्।

लोकतान्त्रिक खेलकुद संघले भरतपुरमा शुक्रबार आयोजना गरेको मैयाँदेवी स्मृति यू-१९ प्रदेश स्तरीय क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख दाहालले नेपाल क्रिकेट संघ क्यानलाई यसका लागि आवश्यक वातावरण मिलाउन अनुरोध गरिन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले सन् २०२७ मा हुने यू-१९ महिला विश्वकपमा नेपाललाई सहआयोजक बनाएको छ। जसअनुसार सन् २०२७ को यू-१९ महिला विश्वकप नेपाल र बंगलादेशमा हुने छ। त्यसअघि सन् २०२५ को प्रतियोगिता भने मलेसिया र थाइल्याण्डले आयोजना गर्ने छन्।

प्रमुख दाहालले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी निर्माण कार्यका लागि माघ महिनाभित्रै ठेक्का आह्वान हुने स्पष्ट पारिन्। यसका लागि बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले केही दिनमा बजेट विनियोजन गर्ने पनि उल्लेख गरिन्।

बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाको साझेदारीमा १ अर्ब लगानीमा बाँकी निर्माण कार्य अगाडि बढाउने सम्झौता भएको छ। यस्तै गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासहित नेपालका ३ रंगशालाले राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको छ।

प्रमुख दाहालले भरतपुर महानगरपालिकाले खेलकुद क्षेत्रमा ठुलो लगानी गरेकाले खेल विधामा नेपालको ७५३ पालिका मध्ये प्रथम स्थान हासिल गरी पुरस्कृत भएको स्मरण गराइन्। यही गरिमालाई उच्चो पार्न भरतपुरमा दैनिक रुपमा खेल गतिविधिहरू हुने गरेको प्रमुख दाहालको भनाइ छ।