भरतपुरका ४ वडामा ३ किमी मेसजाली निर्माणको कार्य सुरु

pic-333
लोकपाटी न्यूज
5 Shares

चितवन। वन्यजन्तुको उच्च जोखिम रहेको भरतपुरका ४ वटा वडामा मेसजाली निर्माणको कार्य सुरु भएको छ। निर्माण कार्यको शुक्रबार एक कार्यक्रमकाबीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आयोजनाको शिलान्यास गरेकी हुन्।

भरतपुर वडा नम्बर २३, २४, २७ र २८ मा पर्ने वन्यजन्तु सहज आउन मिल्ने स्थानमा सुरुवाती चरणमा मेषजाली निर्माण काम हुनेछ। शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले संघ र महानगरको २/२ करोड गरी रु ४ करोडको परियोजना अन्तर्गत पहिलो चरणमा रु २ करोड ७९ लाखको काम सुरु भएको बताइन्। ‘घटिघटावबाट अब रु १ करोड ८० लाख रुपैयाँ छ,उनले भनिन्,‘छुटेको स्थानमा तत्काल सर्भे गरी नयाँ टेण्डर खुल्छ। मेषजाली निर्माणले वन्यजन्तुको जोखम अन्त्य हुने विश्वास लिएका छौं।’

प्रमुख दाहालले भरतपुरका वडा नम्बर ११, १२, ८, १३, २२, २३ हुँदै २८ सम्म वन्यजन्तुको जोखिम रहेको बताइन्। यी वडा मध्ये सबैभन्दा उच्च जोखिम रहेको वडाबाट कामको थालनी गरिएको प्रष्ट पारे। वन क्षेत्र नजिक भएका वडामा वन्यजन्तुसँगै बाढीको पनि उतिकै जोखिम रहेको भएपनि नारायणी र राप्तीको तटबन्धन निर्माण भएसँगै यहाँको प्रमुख समस्याहरु समधान भएर जाने उल्लेख गरिन्।

प्रमुख दाहालले पश्चिम चितवनवासीको माग अनुसार मेघौली विमानस्थलको स्तरोन्तीको कार्य पनि सुरु भइसकेको र विमानस्थलको क्रमिक रुपमा व्यवस्थापनको कार्य अगाडि बढाइने बताइन्। मेसजाली निर्माणको कार्यका लागि ४ वटा वडाको दक्षिणतर्फ जंगलको सिमानामा २ करोड ७९ लाख २ हजार सरचालिस रुपैयाँमा ठेक्का सम्झौता भएको महानगरका वरिष्ठ ईन्जिनियर सन्तोष आचार्यले जानकारी दिए।

मानव वन्यजन्तु द्धन्द्ध न्यूनीकरण गर्न चितवन राष्ट्रिय निकुञ्ज र राप्ती नदीसँग जोडिएको खुला क्षेत्रमा पहिलो चरणमा करिब ३ किलोमिटर मेषजाली निर्माण गरिने ईन्जिनियर आचार्यले जानकारी दिए। गोले सनसाईन जेभि सुकेधारा काठमाडौंले २०८१ असार १५ गतेभित्र निर्माण सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको छ। पश्चिम चितवनका तटिय क्षेत्रसँग जोडिएको वस्तीमा हात्ती, गैँडा, बदेललगायतका जनवारले वर्षेनी ठुलो जनधनको क्षति पुर्‍‍ याउदै आएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्