सहरी क्षेत्र र तराई-मधेशमा विशेष अभियान चलाउने माओवादीको निर्णय

लोकपाटी न्यूज
14 Shares

काठमाडौं। नेकपा (माओवादी केन्द्र)ले सहरी क्षेत्र र तराई-मधेशमा विशेष अभियान सञ्चालन गर्ने भएको छ। सांगठनिक संरचना कमजोर भएको भन्दै माओवादी केन्द्रले उक्त अभियान सञ्चालन गर्न लागेको हो।

आइतबारदेखि जारी पार्टीको केन्द्रीय समितिको बैठकले विशेष गरी तराई-मधेशका जिल्लामा जनपरिचालन, संगठन निर्माण एवं विस्तारलाई केन्द्रमा राखेर अभियान सञ्चालन गर्ने निर्णय गरेको माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। सहरी क्षेत्रमा समेत पार्टीलाई थप विस्तार गर्ने उद्देश्य राखेर अभियान सञ्चालन गरिनेछ।

माओवादी केन्द्रले मंगलबारदेखि विधान अधिवेशनको आयोजना गरेको छ। अधिवेशन सकिएपछि तराई-मधेश र सहरी क्षेत्रमा विशेष अभियान सञ्चालन गरिने छ। यस्तै माओवादी केन्द्रले उत्तर दक्षिण र पूर्व-पश्चिम अभियानसमेत सञ्चालन गर्ने निर्णय गरेको छ। केन्द्रीय समितिको बैठकमा धारणा राख्ने नेताहरूले यसअघि सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष अभियान’ले पार्टीलाई थप सबल बनाउन मद्दत पुगेको बताएका थिए।

माओवादी केन्द्रले चार महिने अभियानमा पार्टीको संगठन निर्माण, पुनःनिर्माणका साथै शहीद परिवार, बेपत्ता योद्धाका परिवार र घाइते अपांगता भएका कार्यकर्तासँग भेटघाट गरेको थियो। सरकारमा रहेर गरिएको सुशासन र समृद्धिको अभियानबारे जनतालाई जानकारी गराएको थियो। गत भदौ १६ गतेदेखि सुरु भएको सो अभियान गत पुस १७ गतेसम्म चलेको थियो।

माओवादी केन्द्रको केन्द्रीय समिति चार सय नौ सदस्यीय छ। पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एक सय ९० जना छन्। यस्तै सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेश समितिका पदाधिकारीलाई पनि बैठकमा आमन्त्रण गरिएको छ। माओवादी केन्द्रले आगामी फागुन १, २ र ३ गते राजधानीमा विधान सम्मेलन गर्दैछ। पार्टीका उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो। समितिले प्रस्ताव गरेको विधानमाथि माओवादी केन्द्रको स्थायी समिति बैठकमा छलफल भइसकेको छ।

यसैगरी माओवादी केन्द्रले संघीयता, गणतन्त्र एवं समावेशी, समानुपातिक प्रतिनिधित्वलगायत परिवर्तनका मुद्दालाई थप संस्थागत गर्न अभियान चलाउने भएको छ। त्यसका लागि जनवर्गीय संगठन र मुक्ति मोर्चाको सम्मेलन गर्ने भएको छ। जनवर्गीय संगठन एवं मोर्चाको सम्मेलन गरेर पुनः गठन गर्ने निर्णय भएको प्रवक्ता सापकोटाले जानकारी दिए। यस्तै प्रवासमा रहेका नेपालीका लागि प्रशिक्षण र संगठित गर्ने निर्णय गरिएको छ।