खाद्यान्नबालीमा आत्मनिर्भर बनाउन सरकार लागिपर्छ : कृषिमन्त्री

Beduram_Bhusal
लोकपाटी न्यूज
8 Shares

मकवानपुर। संघीय कृषि तथा पशुपक्षी विकासमन्त्री डा वेदुराम भुसालले मुलुकमा खाद्यान्नबालीतर्फ धान, मकै, गहुँलाई दिगोरुपमा आत्मनिर्भर बनाउने उद्देश्यले सरकारले गुरुयोजनासहित किसानको घरदैलोमा पुग्ने र उत्पादनलाई आधुनिक प्रविधिमा जोड्ने मूल लक्ष्य लिएको बताएका छन्।

हेटौँडाको ५५औँ नगर स्थापना दिवसको उपलक्ष्यमा हेटौँडा उपमहानगरपालिकाद्वारा आज आयोजित समारोहमा उनले कृषि उत्पादन, पशुपालन र माछाको उत्पादन वृद्धि गर्न सरकारले अब स्थानीय निकायलाई बहुवर्षीय योजना अन्तर्गत स्रोतसाधनसहित जनशक्ति उपलब्ध गराउनेतर्फ गृहकार्य भइरहेको जानकारी गराए।

मुलुकमा खाद्यान्नको अभाव हुने अवस्थाको अन्त्यका लागि संघीय सरकारले तत्कालै ५५ अर्बको खाद्यान्न बाह्य मुलुकबाट आयात गरिने लक्ष्यका साथ स्रोतसाधन परिचालन गरेको उनले बताए। मन्त्री भुसालले प्रदेशका स्थानीय तहले पनि आ-आफ्नो निकायमार्फत स्थानीयस्तरमा खाद्यान्नबाली, मौसमी तरकारी, दूध उत्पादन र माछाको उत्पादनका लागि वार्षिक कार्यक्रम तर्जुमा गरिँदा थप स्रोतसाधन परिचालन गर्नेतर्फ जिम्मेवारी बोध गर्न आह्वान गरे। -रासस