नेपाल मलेसियासँग पराजित

nepali-women-cricket-team pic
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। एसिसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपाल घरेलु टोली मलेसियासँग चार विकेटले पराजित भएको छ। जितका लागि एक सय १६ रनको लक्ष्य पछ्याएको मलेसियाले १९ दशमलव पाँच ओभरमा छ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो।

मलेसियाको जितमा एल्सा हन्टरले सर्वाधिक ६९ रनको योगदान दिइन्। उनले ५३ बल खेल्ने क्रममा छ चौका प्रहार गरिन्। साथै मास एलिसाले १३, महिराह इजातीले १६ र वान जुलियाले ११ रन बनाए। नेपालका लागि सीता रानामगर र कविता जोशीले दुई/दुई विकेट लिए भने रुविना क्षेत्री र कविता कुँवरले एक/एक विकेट लिए।

त्यसअघि बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा एक सय १५ रन मात्रै बनाउन सक्यो। नेपालका लागि कप्तान इन्दु बर्मा सर्वाधिक २९ रन बनाइन। उनले ३७ बल खेल्ने क्रममा दुई चौका प्रहार गरिन्।

त्यसैगरी डली भट्टले १४ बलमा एक चौका र दुई छक्काको सहयोगमा २५, सीता रानामगरले छ, कविता कुँवरले ३१ बलमा दुई चौकाको सहयोगमा २३ र रुविना क्षेत्रीले १८ बलमा दुई चौकाको सहयोगमा २० रन बनाइन। मलेसियाकी महिराह इजाती इस्मालीले दुई विकेट लिइन भने विनिफ्रेड दुराई सिंघमले एक विकेट लिइन।