समाज विकासका अवस्था र सामाजिक चिन्तनबारे बृहत्तर अनुसन्धान गर्दै प्रज्ञा-प्रतिष्ठान

pragya-pratisthan pic
फाइल तस्वीर ।
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। नेपाल प्रज्ञा-प्रतिष्ठान सामाजिकशास्त्र विभागले समाज विकासका अवस्था र सामाजिक चिन्तनबारे बृहत्तर अनुसन्धान गरी प्राप्त नतिजाको आधारमा संघ गोष्ठी गर्ने भएको छ। सामाजिक शास्त्र विभागको आज बसेको बैठकले सो निर्णय गरेको हो।

‘सबै भाषा सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान’ भन्ने मूल सन्देशलाई चरितार्थ गर्न प्रज्ञा-प्रतिष्ठानले गर्दै आएको प्राज्ञिक कार्यहरू मध्ये यो गोष्ठी पनि एक भएको विभागका प्रमुख एवं प्राज्ञ डा. कौशिला रिसालले बताइन्। सामाजिक शास्त्र विभागले हाल नियमितरुपमा वर्षको दुई पटक विज्ञ समीक्षित (पियर रिभ्यु) गरिएको ‘समाज अन्वेषण’ नामक जर्नल प्रकाशन पनि गरिरहेको छ। प्रतिष्ठानमा विद्यमान एघार विभागमध्ये सामाजिक शास्त्र विभाग एक हो। यो विभागले नेपाली समाजको बारेमा विविध विषयमा अध्ययन अनुसन्धान, गोष्ठी गर्दै, शोधमूलक ग्रन्थहरू समेत प्रकाशन गरिरहेको छ।

नेपाली समाज बहुभाषिक-बहुसांस्कृतिक तथा भौगोलिक विविधता र बहुलतामा आधारित छ। समयको गतिसँगै भएका राजनैतिक, आर्थिक,सामाजिक परिवर्तन र विकास तथा विकसित मुलुकहरूको प्रभावजस्ता कारण समाजले परिवर्तनको त दिशा भुल्न सक्दैन ? प्रश्न गर्ने ठाउँ छ। पुरानो जड् मान्यता बोकेको नेपाली समाज र आधुनिक प्रविधिसँगै फड्को मार्दै अगाडि बढिरहेको पुस्ताबीच दुरी बढ्दै जाँदा ज्ञानको पुस्तान्तरण र हस्तान्तरणले कतै अपनत्व गुमाएर विकासको नाममा विनाशको बाटो त लिँदैन ? समयमै यसबारे सचेत रहन जरुरी छ।

यसैलाई दृष्टिगत गरी सामाजिक शास्त्रका विभिन्न विधाहरूमा नेपाली समाजका बारेमा भए गरेका विकास प्रक्रिया पद्धति, समाजसँग सम्बद्ध क्षेत्र र विषयमा शोधमूलक कार्यहरूलाई प्रोत्साहन गर्न, शोधकार्यबाट नीति निर्माणमा सहयोग गर्न र समाज विज्ञानका क्षेत्रमा ज्ञान निर्माण गर्नका तथा प्राज्ञिक अनुभवहरू साटासाट गर्ने उद्देश्यका साथ विभागले यस किसिमको गोष्ठी गर्न लागेको बताइन्छ। सामाजिक शास्त्र वार्षिक संगोष्ठी- २०८१ को नामबाट आयोजना गरेको संगोष्ठीको मुख्य विषय भने ‘राजनैतिक परिवर्तन र नेपाली समाज’ भनेर राखेको छ।

गोष्ठीमा प्रस्तुत हुने २५ वटा अनुसन्धान सामग्रीहरूमा निम्न क्षेत्र र शीर्षकमा रहेर गरिएका अनुसन्धानात्मक विषयवस्तुहरू प्रस्तुत गरिनेछ। जसअन्तर्गत: शिक्षामा सामाजिक शास्त्रको पठनपाठन भित्र राष्ट्रिय चिन्तन, इतिहास र समाज, सामाजिक-सांस्कृतिक, सामाजिक-आर्थिक, विकास र समाज, द्वन्द्व र शान्ति निर्माण प्रक्रियामा समाज, सामाजिक विभेद र उत्पीडनले पारेका प्रभावहरू, सामाजिक शास्त्र अध्ययनका विधिका नयाँ आयामहरू, भाषाविज्ञान, भाषा र समाज, सिमान्तीकृत समुदाय र समाजका सवालहरू, योग, प्राकृतिक चिकित्सा, स्वास्थ्य र समाज जस्ता विषय वस्तु समावेश गरिएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्