हाम्रै असक्षमताको कारण जनतामा निराशा बढेको त हैन, सूक्ष्म विश्लेषण गरौं : डा. कोइराला

Shekhar_Koirala
लोकपाटी न्यूज
9 Shares

काठमाडौं। नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बसिरहेको छ। फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको तयारीका सन्दर्भमा आयोजित उक्त बैठकमा आफ्नो धारणा राख्दै डा. शेखर कोइरालाले- ‘आफ्नो इतिहासको गुणगान मात्र गाउनु र यथास्थितिमै रमाउने बानी परिवर्तन गरौं। सबै समस्यालाई मार्गचित्र सहित भरोसायुक्त समाधान दिने काम गरौं। कतै हाम्रो असक्षमताका कारणले त निराशा बढिरहेको छैन ? यसबारे सूक्ष्म विश्लेषण गर्दै सक्षमताको खोजी गरौं।’

महासमिति जस्तो महत्त्वपूर्ण कार्यक्रममा नेपाली काँग्रेसका २९ वटा संसदीय निर्वाचन क्षेत्र र केही भातृ तथा शुभेच्छुक संस्थाको प्रतिनिधित्व नहुने अवस्थालाई उनले गम्भीर विषय भएको र यसलाई तुरुन्त टुङ्ग्याउन जोड कोइरालाले जोड दिए। प्रस्तुत प्रतिवेदन र दस्ताबेजहरूको सम्बन्धमा उनले भने, ‘यसमा कता-कता गठबन्धनको छाया परेको हो कि जस्तो देखियो महासमिति बैठकमा प्रस्तुत हुने प्रस्तावहरू काँग्रेस पार्टीको मौलिकतामा आधारित हुनुपर्थ्यो, त्यो देखिएन।’

उनले विधान लोकतान्त्रिक पार्टीको मेरुदण्ड भएको बताए। काँग्रेस पार्टीको विधानमा धेरै त्रुटिहरू रहेकाले सांगठनिक गतिविधिमा बाधा आइरहेको उनको भनाई छ। यो महासमितिको बैठकले ‘विधान संशोधन मस्यौदा समिति’ बनाएर विधानलाई समयानुकूल परिमार्जन गर्न जरुरी भएको उनले औँल्याए। प्रस्तावमा धेरै राम्रा कुराहरू समेटिएका भए पनि यतिले मात्र युवामा आशा जगाउन सकिँदैन भन्दै उनले रोजगारी सिर्जना, सुशासन कायम गर्ने, उद्योगी, व्यवसायीका मागहरू संशोधन हुनेगरी थप स्पष्ट हुनुपर्ने बताए।

उनले कृषि क्षेत्रमा मलखाद, सिचाई, बजार लगायतका कुराको संशोधन गर्ने गरी थुप्रै रोजगारीका अवसर सिर्जना गर्न सकिने बताए। सूचना, प्रविधि क्षेत्रमा सफ्टवेयर निर्यात, डिजिटल नोम्याड लाई राम्रो वातावरण बनाएर र हाम्रो उर्जा र पर्यटन क्षेत्रलाई लगानीको माहौल सिर्जना गरेर दिगो रुपमा रोजगारी सिर्जना गर्न सकिने कुरा उठाए।

रेमिट्यान्सको व्यवहारिक विकल्प के-के हुन सक्छन् ? रोजगारीका लागि मात्र नेपालीहरू विदेश जाँदैनन्। रोजगारीसँग नजोडिने सम्पन्नहरू पनि यहाँको वातावरण र निराशा देखेर पढ्न लगायत विभिन्न बहानामा बाहिरिने गर्दछन्। यस विषयमा दस्ताबेजमा उचित समाधान नदेखिएको बताए। सामाजिक नीतितर्फ बोल्दै उनले सामुदायिक विद्यालयको उत्थान, विश्वविद्यालयलाई राजनीति मुक्त र कक्षा सञ्चालनमा भन्दा अनुसन्धानमा प्राथमिकता, प्रभावकारी स्वास्थ्य बिमा, वृद्ध भत्तामा पुनरावलोकन, यातायातलाई राज्यको दायित्वमा लिनुपर्ने विषयमा काँग्रेस स्पष्ट हुन जरुरी रहेको छ भने।

‘देशमा व्याप्त भ्रष्टाचार र आर्थिक अनुशासनहिनताले सुशासनलाई सुनिश्चित गर्न सकेको छैन। तसर्थ राज्यको विभिन्न अंगमा फैलिएको भ्रष्टाचारलाई कडाइकासाथ नियन्त्रण गर्नु पर्दछ,’ उनले भने ‘मन्त्रीपरिषद्ले गर्ने सबै निर्णय नीतिगत नभई विषयगत र प्राविधिक पनि हुन सक्छन्। अनुसन्धान गर्ने निकाय, अदालत र कानुनका बिचमा तालमेल नहुने हो र मन्त्रीपरिषद्का सबै निर्णयलाई नीतिगत मानेर भ्रष्टाचार छल्ने आधार बनाइन्छ भने लोकतान्त्रिक संविधान र लोकतन्त्र जनआक्रोशले संकटमा पुर्‍याउन सक्छ।’

उनले कानुनको नजरमा सबै बराबर हुन भन्ने मान्यता स्थापित गरिनुपर्छ यसमा काँग्रेसले बेलैमा विचार गर्न जरुरी भएको बताए। डा. कोइराला नेपाली काँग्रेसको गठबन्धन प्रति सन्तुष्ट छैनन्। सभापति शेरबहादुरको कार्यशैलीविरुद्ध खुलेआम लागेका कोइरालाले केशी प्रदेश निर्वाचनमा एमालेसँग मिलेर मुख्यमन्त्री पदमा काँग्रेसलाई दिलाउन सफल भएका थिए भने हालसालै भएको राष्ट्रिय सभा निर्वाचनमा क्रस मतदान गरेर गठबन्धन सरकारको उम्मेदवार हराउने काममा सक्रिय र सफल रहेका थिए।

विगत केही समयदेखि शेखरले पनि पार्टीभित्र आफ्नो पकड मजबुत बनाउँदै लगेका छन्। आउँदो महासमिति निर्वाचनमा शेरबहादुर देउवालाई आच्छु-आच्छु पार्न सक्ने राजनीतिका विश्लेषकहरूको भनाइ पनि रहेको छ।