आर्थिक रूपान्तरणको बलियो खम्बा कृषि हो : अर्थमन्त्री डा महत

Prakash_Sharan_Mahat
लोकपाटी न्यूज
4 Shares

काठमाडौं। अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक रूपान्तरणको बलियो खम्बा कृषि रहेको बताएका छन्। बिपी चिन्तन प्रतिष्ठान केन्द्रीय समितिद्वारा आज यहाँ आयोजित ‘नेपालमा आर्थिक रूपान्तरणका आधारहरू सुशासन, ऊर्जा, कृषि, पर्यटन र श्रम तथा रोजगार’ विषयक बिचार गोष्ठीमा मन्त्री डा महतले मुलुकको आर्थिक विकासलाई नेतृत्व गर्ने बलियो आधार कृषि रहेको उल्लेख गरे।

‘मुलुकमा लोकतन्त्र स्थापना अगाडि राजनीति केन्द्रित बहस हुने गरेको थियो। तर संविधान निर्माणपछि आर्थिक क्षेत्रमा पनि बहस हुन थालेको छ,’ उनले भने, ‘आर्थिक रूपान्तरणको सुदृढ पक्ष कृषि हो। कृषिमा रूपान्तरणकारी परिवर्तन ल्याउन लगानीअनुरूपका प्रतिफल ल्याउने खोजी हुनुपर्छ। कृषिमा आत्मनिर्भर हुन जरुरी छ।’

मन्त्री डा महतले आधुनिक प्रविधिअनुरूप व्यावसायिक खेती गरी उत्पादकत्व बढाउन आवश्यक रहेको उल्लेख गर्दै भौगोलिकताका आधारमा कृषियोग्य जमिनको पहिचान गरी कृषि क्षेत्रको औचित्य पुष्टि गर्न आवश्यक रहेको बताए। ऊर्जा, पर्यटन, कृषि, प्रविधि मुलुकको आर्थिक रूपान्तरणको बलियो आधार खम्बा रहेको बताउँदै मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउन यी चार खम्बाको महत्त्वपूर्ण भूमिका रहने मन्त्री डा महतको भनाइ थियो।

प्रजातान्त्रिक समाजवादमा निजी क्षेत्रलाई उत्पादनको नेतृत्व प्रदान गरी न्यायोचित वितरणका लागि सरकारले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उनले निजी क्षेत्रलाई सुदृढीकरण गर्न सरकारले सहजीकरण, सबलीकरण गर्ने बताए।