आज प्रजातन्त्र दिवस , विभिन्न कार्यक्रम गरि मनाइँदै

prajatantra_diwas
लोकपाटी न्यूज
3 Shares

काठमाडौं। आज फागुन ७ गते, प्रजातन्त्र दिवस। नेपालको ७४ औं प्रजातन्त्र दिवसको उपलक्ष्यमा आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदैछ। फागुन ७ गतेको दिनलाई सर्वसाधारण जनताले स्वतन्त्रता पाएको दिनका रुपमा स्मरण गरिन्छ।

वि.सं २००७ मा राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापना भएर रैतीबाट जनतामा रुपान्तरण भएको दिन हो। सशस्त्र संघर्षबाट १०४ वर्ष लामो राणा शासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिनको सम्मानमा यो दिवस मनाउने गरिएको छ।

भूमिगत प्रजापरिषद् नामक राजनीतिक दल स्थापना गरी प्रजातन्त्रका खातिर जनतामा जागरण ल्याएको अभियोगमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठलाई विसं १९९७ साल माघमा मृत्युदण्ड दिइएको थियो।

नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनमा राजसंस्थाले पनि साथ दिएपछि २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना हुन सम्भव भएको थियो।

यही प्रजातन्त्र आएकै बलमा देशले लोकतन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था पाएको छ । प्रजातन्त्र दिवस भव्य रुपले मनाउन सरकारले आज सार्वजनिक बिदा दिएको छ।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्