काँग्रेस महासमिति बैठक : आजदेखि बन्दसत्र

Congress_Mahasamiti
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। नेपाली काँग्रेसको महासमिति बैठकको बन्दसत्र आजदेखि सुरु हुँदैछ। सोमबार उद्घाटन सत्रसँगै सकिएको महासमितिको बैठक आज बिहान ९ बजेदेखि बन्दसत्र सुरु गर्न लागिएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा छलफलका लागि पाँच वटा प्रतिवेदन पेस हुन लागेका छन्।

मुख्यसचिव पौडेलका अनुसार बैठकमा पार्टीका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काद्वारा प्रस्तुत नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाद्वारा प्रस्तुत सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत समसामयिक राजनीतिक प्रस्ताव पेस हुन लागेको छ।

यस्तै पार्टीका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतद्वारा प्रस्तुत आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रस्ताव र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्ताव पेस गर्न लागेको पार्टीका सूचना, सञ्चार तथा प्रचार विभागका संयोजक मीनबहादुर विश्वकर्माले जानकारी दिए।

बैठकमा पेस भएका प्रस्तावबारे महासमितिको बैठकमा छलफल गरी पास हुनेछन्। ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सोमबारदेखि सुरु भएको महासमिति बैठक फागुन १० गतेसम्म चल्नेछ। काँग्रेसको महासमिति बैठकमा भाग लिनका लागि देशैभरका महासमिति सदस्य र विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि काठमाडौं आइपुगेका छन्। बैठकमा दुई हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ।

बसको व्यवस्था

महासमितिको बैठकमा भाग लिन आएका सदस्यलाई आवतजावतका लागि २० बसको व्यवस्था गरेको छ। काँग्रेसको सोमदेखि सुरु भएको महासमिति बैठकमा भाग लिन संघीय राजधानी काठमाडौं आएका प्रतिनिधिलाई ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रसम्म आवतजावत गर्नका लागि बसको व्यवस्था गरेको हो।

काँग्रेसले महासमिति बैठकलाई व्यवस्थितरूपमा सम्पन्न गर्न निर्माण गरेको यातायात व्यवस्थापन उपसमितिमार्फत काठमाडौंबाट बैठकस्थल गोदावरीसम्म जान दैनिक २० बसको व्यवस्था गरेको हो। काठमाडौंबाट गोदावरी जान विभिन्न चार रुटबाट बस छुट्ने व्यवस्था मिलाइएको यातायात व्यवस्थापन उपसमितिका सदस्य सुवन गिरीले जानकारी दिए। -रासस