कांग्रेस महासमिति बैठकमा नीति प्रस्ताव प्रस्तुत

Purna_bahadur_khadka
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। नेपाली कांग्रेसको महासमिति बैठक मंगलबार पनि जारी छ। ललितपुरको गोदावरीमा हिजो पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको महासमितिको आज बन्दसत्र चलिरहेको छ। आजको बन्दसत्रको सुरुमा उपसभापति पूर्णबहादुर खड्काले ६५ पृष्ठको नीति प्रस्ताव पेस गरेका छन्। खड्काले प्रस्तुत गरेको नीति प्रतिवेदनमा केही नयाँ तथा राजसंस्थावादी दलहरुले जनतामा निराशा बेचेर काल्पनिक सपना बाँडिरहेको आरोप लगाइएको छ।

यस्तै, लोकरिझ्याइँ, अधिनायकवाद र पुनरुत्थानको कुचेष्टा बढेको भन्दै दृष्टिकोणबिनाको लोकप्रियताका निम्ति जे पनि बोल्न उचित नहुने उल्लेख गरिएको छ। प्रतिवेदनमा लोकरिझ्याइँमा रम्ने पार्टीको भविष्य नभएको जनाउँदै नयाँ दल र राजसंस्था पुनस्र्थापनाको एजेन्डा बोक्ने दलहरूलाई अधिनायकवादीको संज्ञा दिइएको छ। प्रतिवेदनमा भनिएको छ, ‘समस्या र अप्ठ्यारालाई पन्छाएर सही दिशा प्रदान गर्न आर्थिक तथा भौतिक विकास गर्दै सामाजिक रूपान्तरणको बाटोमा अगाडि बढ्नुपर्नेमा त्यसको ठीक विपरीत नागरिकमा थप निराशा बढाउँदै त्यही निराशाको व्यापार गर्न खोजिँदै छ।’

यस्तै, युवा लक्षित बजेट तथा कार्यक्रमलाई एकद्वार निति अबलम्बन गर्दै युवा सहभागिताका लागि बाधक देखिएका विषय तत्काल संसोधन गर्न प्रस्ताव गरिएको छ।  यसपछि महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेस गर्नेछन् भने पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रस्ताव र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्ताव पेस गर्नेछन्। बैठकमा पेस भएका प्रस्तावबारे महासमितिको बैठकमा छलफल गरी पास हुनेछन्। महासमिति बैठक बिहीबारसम्म चल्नेछ।