प्रतिनिधिसभामा सांसद शर्माको जोड- ‘गुठी पीडितको माग तत्काल संवोधन गर्नुपर्छ’

narayani-sharma
लोकपाटी न्यूज
2 Shares

काठमाडौं। नेकपा (माओवादी केन्द्र) की केन्द्रीय सदस्य एवं दाङबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य नारायणी शर्मा ‘प्रतीक्षा’ ले गुठी पीडित किसानहरूको माग तत्काल सम्बोधन गर्न माग गरेकी छन्।  प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै शर्मा अहिले दाङमा गुठी पीडित किसानहरूले सङ्घर्ष गरिरहेको उल्लेख गर्दै राज्यले तत्काल त्यसतर्फ ध्यान दिनुपर्ने धारणा व्यक्त गरिन्।

उनले प्रतिनिधि सभाबाट गुठी विधेयक वन विधेयक र भूमि व्यवस्थापन विधेयक यथासक्दो चाँडै पारित गर्नुपर्ने आवश्यकता औल्याइन्। किसानहरुले अहिले आफ्नो अधिकारका लागि धर्ना तथा आन्दोलनका विभिन्न कार्यक्रमहरु गरिरहेको उल्लेख गर्दै शर्माले त्यसतर्फ सरकारले समयमै ध्यान दिनुपर्ने धारणा व्यक्त गरिन्।

अर्को प्रसङ्गमा शर्माले शान्ति प्रक्रियाको कामलाई तत्काल पुरा गर्नका लागि टीआरसी विधेयक पारित गर्न ढिलाई गर्न नहुने स्पष्ट पारिन्। शान्ति प्रक्रियाको काम ढिलो हुँदा अन्तर्राष्ट्रिय रूपमै नेपालको छवि राम्रो हुन नसकेको उल्लेख गर्दै शर्माले सबै राजनीतिक दलले यसमा सहमति जनाउनुपर्ने विचार व्यक्त गरिन्। शान्ति प्रक्रिया मुलुकको साझा एजेन्डा भएकाले यसमा राजनीतिक दाउपेज गर्न नहुने उनको भनाइ छ।

लघुवित्त पीडितहरूको समस्या समाधानका लागि राज्यले कानुन निर्माणतर्फ विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै शर्माले जनतालाई अधिकार दिने सवालमा सबै एक हुनुपर्ने बताइन्। अहिले केही तत्वहरू यो व्यवस्थाप्रति नै औंला ठड्याउने काम गरिरहेको उल्लेख गर्दै उनले यसतर्फ सबै राजनीतिक शक्तिहरू सचेत हुनुपर्ने बताइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्