मोबाइल कभर : फाइदाको सट्टा नोक्सान !

लोकपाटी न्यूज
14 Shares

काठमाडौं। हामी डिजिटल प्रविधिको युगमा छौं। हातमा स्मार्ट फोन अनिवार्य भइसकेको छ। हातमा मोबाइल छैन भन्यो भने अनौठो मान्ने अवस्था बनिसकेको छ। हुनपनि किन नहोस् त- मोबाइलको प्रयोगले मानव जीवनशैलीलाई सहज बनाएको छ। हातमा भएको मोबाइलबाट विश्वका हरेक गतिविधि जान्न, बुझ्न र थाहा पाउन सकिन्छ। मनोरञ्जनका विषयवस्तुदेखि खेलका विभिन्न स्वरूप पनि यहीभित्र भेटिन्छन्। त्यसैले मानव जीवनको त अभिन्न हिस्सा मोबाइल बनेको हो।

तर, अब स्मार्ट फोन हातमा हुनु मात्र ठूलो कुरा रहेन। मोबाइल कति स्टाइलिस छ भन्ने कुरा पनि महत्त्वपूर्ण बनेको छ। मोबाइललाई स्टाइलिस बनाउन मानिसहरूले विशेष ध्यान दिने गर्छन्। मोबाइलको सुरक्षा र स्टाइलिस देखाउन विभिन्न डिजाइनका कभर प्रयोगमा मानिस सचेत हुन थालेका छन्। चाडबाड, विभिन्न विशेष सभा समारोहमा जाँदा मानिसले अनुहारमा शृंगार गरेजस्तै मोबाइलको सौन्दर्यमा पनि ध्यान दिन थालेका छन्। जस्तो साउनमा हरियो रङका कभरको प्रयोग गर्ने प्रचलन बनेको छ।

फोनको कभरले मानिसको व्यक्तित्व समेत प्रतिविम्बित गर्ने धारणा राख्छन्। फोन कभर प्रयोगले व्यावसायिकता झल्काउन सकिने मान्यता बोक्न थालिएको छ। मानिसको व्यक्तित्व बुझ्न सकिने भएकाले मोबाइल कभरको प्रयोग गर्दा पेसा, उमेर, मर्यादाको समेत ख्याल गर्न थालिएको छ। कभर सामान्यतः फोनको सुरक्षाका लागि प्रयोग गर्छन्। धुलोबाट मोबाइललाई बचाउन, मोबाइलको स्क्रिन स्क्याच हुनबाट बचाउन ब्याक कभर बढी प्रयोग गरिन्छ।

तर, के तपाईंले कहिल्यै सोच्नुभएको छ कि मोबाइलमा कभर राख्दा फाइदाको सट्टा नोक्सान गरिरहेको छैन ? प्रत्येक व्यक्तिलाई मोबाइलको कभरका धेरै फाइदाहरू राम्ररी थाहा छ। यसको विपरीत, यदि तपाईंलाई फोन कभरका धेरै बेफाइदाहरू छन् भनेर भनियो भने, सायद तपाईंले पत्याउनुहुने छैन। जसरी मोबाइलमा कभर राख्नुका फाइदाहरू छन्, त्यसैगरी यसका केही बेफाइदाहरू पनि छन्। आउनुहोस् त्यसबारेमा जानौं:

१) सबैभन्दा पहिलो कुरा त मोबाइलको कभरले मोबाइललाई गह्रौं बनाउने गर्छ। यसर्थ कभर नराख्दा मोबाइल हलुका र बोक्न सहज हुन्छ।

२) यदि तपाईँ सस्तो फोन कभर प्रयोग गर्नुहुन्छ, राम्रो गुणस्तरको फोन कभर प्रयोग गर्नुहुन्न भने, ब्याक्टेरिया जम्मा हुने उच्च जोखिम हुन्छ।

३) फोनको कभर लगाउनाले फोन छिट्टै तातो हुन्छ, त्यसैले फोन द्रुत रूपमा ह्याङ्ग हुन थाल्छ र बीच-बीचमा रोकिएर चल्छ।

४) केही रिपोर्टका अनुसार फोनमा कभर भएको कारण फोन तातो हुन थालेपछि फोन छिटो चार्ज हुन सक्दैन। बिस्तारै चार्ज हुन् थाल्छ।

५) यदि तपाईँ चुम्बक प्रयोग गरिएको कभर प्रयोग गर्नुहुन्छ भने यसले GPS र कम्पासमा पनि समस्या निम्त्याउन सक्छ।

६) कम्पनीहरूले अचेल प्रयोगकर्ताको रुचिलाई ध्यानमा राख्दै मोबाइलको फिचर मात्र होइन रङ्ग र डिजाइनमा पनि विशेष ध्यान दिएर बनाउने गर्छन्। कभर प्रयोगले त्यसको डिजाइन र लुक्स छोपिन्छ र मोबाइल सामान्य देखिन्छ।

कभरले पुर्‍याउने क्षतिबाट जोगिनुस्

कभरबाट हुने क्षतिबाट बच्न मोबाइललाई चार्ज गर्दा कभर हटाउनु पर्छ। ध्यान राख्नुहोस्- जब तपाईँ गेम खेल्नुहुन्छ, तपाईँ फोन कभर हटाउनु पर्छ। यदि तपाईंले लामो भिडियो खिच्नु भयो भने त्यसअघि कभर हटाउनु उपयुक्त हुन्छ।

यद्यपि अलि फराकिलो रुपमा हेर्ने हो भने हरेक वर्ष करोडौं मोबाइल कभरहरू बन्ने गर्छन्। तपाईंले पक्कै पनि एउटै कभर लामो समयसम्म राख्नु हुन्न होला। नयाँ ल्याएपछि पुरानो के गर्ने ? अनावश्यक फोहोरको रुपमा यो जम्मा भइरहेको छ। अन्ततः मोबाइल कभर एउटा रहर मात्र हो।

यदि तपाईंलाई मोबाइलको कलरमा चित्त बुझेको छैन र तपाईं आफ्नो फोन थप राम्रो अनि फरक देखियोस् भन्ने चाहनुहुन्छ भने मोबाइल कभरको वैकल्पिक उपाय पनि प्रयोग गर्न सक्नुहुन्छ। मोबाइल कभरको ठाउँमा तपाईंले मोबाइल स्किन, डिकल्स (स्टिकरहरू) अथवा स्क्रिन प्रोटेक्टर प्रयोग गर्न पनि सक्नुहुन्छ।